site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
नेकपा एमालेको ११औँ महाधिवेशन कति समावेशी ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्र्सवादी–लेनिनवादी) को ११औँ महाधिवेशनमा १९ पदाधिकारीसहित तीन सय एक जनाको केन्द्रीय कमिटी चयन हुँदैछ ।

अध्यक्ष पदमा हालकै अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल प्यानलसहित प्रतिस्पर्धामा छन् ।

केन्द्रीय निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम नामावली अनुसार, ५ उपाध्यक्षमा ११ जनाको उमेदवारी परेको छ । एक महासचिवमा दुई जना, तीन उपमहासचिवमा सात जना, नौ सचिवका लागि २० जनाको उमेदवारी परेको छ ।

दलित, थारु र मुस्लिम ‘क्लस्टर’मा एमालेले युवालाई समेटेको छैन । क्लस्टर छुट्याउँदा अन्यमा युवाका लागि सिट छुट्याएको छ । तर, यी तीन जातजातिको क्लस्टरमा एमालेले युवा समेट्न नखोजेको भन्दै आलोचना भएको छ ।

जेनजी विद्रोहको मर्मअनुसार युवा सहभागिता अत्यन्तै न्यून देखिन्छ । उमेदवारी दिएका अधिकांश क्लस्टरमा पुरानै अनुहार दोहोरिएका छन् ।

यस्तै विभिन्न क्लस्टरमा गरी ४० वर्षमुनिका ३९ जना युवाले उम्मेदवारी दर्ता गराएका छन् । त्यसमध्ये १२ जना चुनिनेछन् ।

विघटित प्रतिनिधिसभाको दोस्रो ठूलो दल एमालेको नेतृत्व तहमा महिला उपस्थिति न्यून छ । पार्टी राजनीतिमा महिलाले लामो समय योगदान गरेका थिए । तर, पदाधिकारी तहमा अर्थपूर्ण सहभागिता हुन सकेको छैन ।

पदाधिकारीमा उपाध्यक्षका लागि विन्दा पाण्डेलाई पोखरेल प्यानलले समेटेको छ । सचिवमा केपी शर्मा ओलीको प्यानलबाट पद्माकुमारी अर्याल र ईश्वर पोखरेलको प्यानलबाट रचना खड्का समेटिएकी छन् ।

थारुहरू कुल जनसंख्याको चौथो नम्बरमा पर्छन् । तर, एमालेको पार्टी राजनीतिमा लामो समय योगदान गरेका भए पनि नेतृत्वमा आफूलाई उभ्याउन सकेनन् ।

यसरी हेर्दा एमालेको पार्टी राजनीतिमा थारुलाई पनि अर्थपूर्ण सहभागिता देखिँदैन । एमाले पार्टीभित्रै पदाधिकारीका लागि उम्दा र योग्य व्यक्ति भए पनि तिनलाई नेतृत्व पंक्तिले समेट्न नखोजेको देखिएको छ ।

उमेदवारहरू हेर्दा एकै उमेर समूह होइन, विभिन्न पुस्ता र उमेर समूहका नेताहरू प्रतिस्पर्धामा देखिएका छन् । 

एमालेभित्रै पनि वरिष्ठ उमेर समूह (६० वर्षमाथि) मा पार्टीका पुराना नेताहरु नै हाबी भएका छन् । अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, केही उपाध्यक्ष पदमा लामो राजनीतिक अनुभव, आन्दोलन र सरकार चलाएको पृष्ठभूमिबाट आएका केपी शर्मा ओली, ईश्वर पोखरेल पुस्ताका नेताहरू छन् ।

मध्यम उमेर समूह (४५–६० वर्ष) महाधिवेशनमा सबैभन्दा प्रभावशाली र प्रतिस्पर्धी समूह हो । उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव पदमा मुख्य दाबेदारी यही उमेर समूहका व्यक्तिको छ । संगठन र सरकार दुवैमा अनुभव बटुलेका व्यक्तिहरू यो उमेर समूहमा समेटिएका छन् ।

पुस्तान्तरण र नवीकरणको बहस अघि सार्दै आएका (३५–४५ वर्ष) उमेर समूहको संख्या र प्रभाव दुवै हिसाबले बढ्दो अवस्थामा छ । मुख्यतः सचिव, केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका संगठन, विद्यार्थी आन्दोलन र युवा मोर्चाबाट आएका नेताहरू छन् ।


 

प्रकाशित मिति: मंगलबार, पुस १, २०८२  १८:१८
प्रतिक्रिया दिनुहोस्