site stats
बाह्रखरी :: Baahrakhari
ब्लग
विदेशमा  छोराछोरी गुमनाम : स्वदेशमा बाबुआमा हैरान

अस्ट्रेलियामा राम्रालाई अवसर पनि छ । यहीँ बिग्रनेलाई कसुरदार पनि भन्दैनन् कोही ।

अस्ट्रेलियामा गजबको समाज छ । कसैलाई कसैको पछि लाग्ने फुर्सद छैन । गर्नेले दिन दुगुना अनि रात चौगुना प्रगति गरेकै छन् भने बिग्रने झन् झन् बिग्रँदै गएका पनि छन् ।

अस्ट्रेलिया सामान्य नेपालीका लागि उत्कृष्ट गन्तव्य हो । तिनले आफ्नो अध्ययनपछि भविष्यको नयाँ खाका कोर्ने प्रसस्त अवसर पाउँछन् । विदेशिएका युवा पुस्ता जसले पाश्चात्य शैलीको सिको गर्ने नाममा आफूलाई 'गुमनाम' बनाउन थालेका छन् यो तिनैको कथा हो ।  
     
‘कर्म गरे फल पाइन्छ,’ कामलाई धर्म मान्नेले यस देशको विकासको बाटो कोरेका हुन् । चार जनाले चौबाटोमा खेलेको क्यारेमबोर्ड हेर्ने २४ जनाको हुल यहाँ भेटिन्न । काममा विभेद हुँदैन, मजदुरको पोसाकमा ठाँटिएको तन्देरी फेसनदार युवतीको पहिलो रोजाइ हुनेगर्छ ।

अस्ट्रेलियामा टाई सुटभन्दा कट्टु लगाउनेले बढी पैसा कमाउने गर्छन्। उमेरको खासै ख्याल गरिँदैन काम सबै उमेरका लागि आवश्यकता जस्तो हुन्छ ।

अस्ट्रेलियामा काम गरेपछि चाहेको खान र लाउन पुग्छ । महँगो भनेको कोठा भाडा र यातायात हो । खाद्यान्न र लुगा फाटो त खासै फरक होइन । 

कुरा राम्रामात्र होइन नराम्रा पनि छन् ।

'ड्रग्स'मा झुलेका अनि मदिरामा भुलेकाको कमी छैन बजारमा । जताततै बार र डिस्कोहरू छन् । अनि २४ सै घन्टा स्वागतमा तम्तयार रहन्छन् टोलटोलका जुवाका खालहरू ।

यो ठाउँ फेरि हराउनेका लागि दलदल पनि हो र भासिनेको लागि भास पनि । यतिखेर कैयौं युवा कुलतको सिकारमा फसेका पनि छन् । यहाँ प्रतिबन्धित केही छैन । डलर भए, सबै सहजै पाइन्छ । वर्षौं लगाएर कमाएको डलर एक रातमै क्यासिनोमा सकेर ओठ तालु सुकाउनेदेखि साताभरि कमाएको पैसा पोकरमा एकै घन्टामा फाल्ने नेपाली पनि छन् ।

पौरख गरेर नाम कमाउनेदेखि समुन्द्र हेरेर मन भुलाउने अनि भिसा बिगारेर लागुपदार्थमा झुलेका पनि छन् कैयौं नेपाली ।

नेपालबाट उच्च अध्ययनमा हिँडेका कैयौं युवा यस्तै यस्तै घटनामा फसेर गुमनाम भएका खबर आइरहेका छन् ।
अनि कहिलेकाँही त दुर्व्यसनले ज्यानै गुमाएका दुःखद घटना पनि सुन्नुपर्छ ।

अस्ट्रेलियामा 'ड्रिंक्स, ड्रिम्स अनि ड्रग्स' पछिल्लो पुस्ताका नराम्रा कुलतका रूपमा देखिएका छन् । बियर र ह्विस्कीको चुस्कीबाट प्रारम्भ भएको फेसन, सहजै पैसा कमाउने सोचमा जुवाको लत अनि बिस्तारै ड्रग्ससम्म पुगेपछि जीवन नै बर्बाद भएका कैयौं उदाहरण छन् ।

यस्तै जुवाको लतका कारण एक नेपाली चेलीले आत्महत्याको बाटो रोज्नुपरेको दुःखद घटना पनि हामीले सुन्यौ ।

साताको ६ दिन मरेर कमाउने अनि पैसा बैंकमा आएको रातभर आरएसल र ट्याबहरूमा रूलेट अनि ज्याकपटमा सिद्धाउनेको पनि यहाँ कमी छैन ।

नेपालमा बग्रेल्ती खुलेका इन्टिच्युटजस्तै कलेजको डिप्लोमामा दशक बिताउनेको तातीले कलेजले त पैसा कमाएकै होलान् तर नेपालमा बसेर छोराको डिग्रीको आश गर्ने बाबुआमाको आँखा भने टोलाइसकेका छन् ।

अस्ट्रेलियाको नेपाली समाजमा मिहेनत र पसिनाको कमाइ एकै घन्टामा सकेर खुइखुइ गर्दै घर पस्नेको घरबार बिग्रेको अनगिन्ती कथा पनि छन् ।

महँगो पढाइ र पैसा कमाउनुपर्ने दबाबले धेरै विद्यार्थी प्रारम्भमै केही बिचलित हुने गर्छन् । नपढुँ फेल हुने डर, काम नगरौँ युनिभर्सिटीको फी तिर्न सकस ।

काम र पढाइको संयोजन र धैर्यधारण गर्न नसक्दा पनि कैयौं नेपाली विद्यार्थी कुलतको बाटोमा फसेको देखिएको छ । त्यसैले नयाँ पुस्ताले फरक बाटो कोर्ने नाममा गलत फेसन ग्रहण गर्नुअघि धेरै कुरा सोच्नु जरूरी छ ।

कमाइ र क्रेडिट कार्डसमेत जुवामा हारेपछि हरेक दिन (आरएसएल) जुवा घर पुग्ने एक जोडीसँगको जम्काभेटमा उनीहरूले नाम बताउन नचाहे पनि वास्तविकता भन्न पछि परेनन् ।

‘पछिल्लो १५ वर्ष कमाएको पैसा यही जुवामै सकियो, खल्तीमा अलिकती दाम भयो कि हामी आइहाल्छौँ, केही फर्काउन सकिन्छ कि भनेर । तर,……’ उनको बाक्य बीचमै अड्कियो ।

यो जोडी आएदेखि नेपाल गएको छैन । ‘अर्को वर्ष जान्छु भन्दाभन्दै उमेर नै आधी गयो, घर पुग्ने पैसै भएन’, उनीहरूले भने ।

यस्तो पनि छ यहाँको जीवनको अर्को पाटो । चाडै धनी हुने सपना कहिल्यै विपनामा परिणत नभएपछि धेरै युवा गुमनाम रहन्छन् । यतिमात्र हैन पढ्न पठाएका छोराछोरी खोज्न यसै वर्षमात्र तीन अभिभावक अस्ट्रेलिया आइपुगे । यसले पनि गुमनामीको व्यथालाई पुष्टि गर्छ । 

पढाइ र भिसा बिग्रिएपछि कुन मुखले घर जाँऊ भन्दै अस्ट्रेलियामा कुलतमा फसेकाको संख्या बढ्दो छ ।
अस्ट्रेलियाको महंगो डलरका विषयमा लेख्दै गर्दा 'डर्टी, डिफीकल्टी अनि डेन्जर्स'का विषयमा चर्चा गर्न भुल्नु हुन्न । यहाँ आउने विद्यार्थीका लागि फीको जोहो र खान बस्नका लागि यिनै काम नगरी भने हुँदैन ।

हातको औलामा गनिने केही प्रतिशतबाहेक प्रायः प्रवासीको डलरको खेती यस्तै कर्मबाट प्राप्त हुन्छ ।

समयसँगै कुद्ने अस्ट्रेलियामा अलार्ममको घन्टीसँगै जीवनलाई ढाल्नुपर्ने बाध्यता छ । यो सहरमा रेल, समय र अवसरले कसैलाई पनि पर्खँदैन । त्यसैले पनि प्राप्त अवसरलाई खेर जान नदिई पढ्ने, मेहिनतीको लागि भने धुमधाम पनि छ अस्ट्रेलिया । विदेशीको हरियो डलर, डलरले बिगार्‍यो कलर...’, प्रेमराजा महत यही गीत गाइसकेपछि अमेरिका हानिएका हुन् ।

अमेरिकामा हरियो डलर कमाउँदा कलर फेरिएको भेउ उनले कतिको पाए त्यो प्रश्न अनुत्तरित छ । तर, यता अस्ट्रेलियाको पहेँलो डलर कमाउन पनि सहज छैन । पहेँलो डलरको चक्करमा कैयौं युवायुवतीले जीवनलाई घनचक्करमा पारेका प्रशस्तै उदारहण भेटिन्छन् ।

प्रकाशित मिति: शनिबार, कात्तिक ८, २०८२  ११:१४
प्रतिक्रिया दिनुहोस्