प्रधानमन्त्रीज्यू
जेन-जी आन्दोलनपछि हामी अहिले इतिहासको संवेदनशील, सिर्जनशील, विस्पोटक साथै संयमित हुनुपर्ने मोडमा उभिएका छौँ ।
हामीले खुला हृदयले संयमित ढंगले हाम्रो राजनीतिक , सामाजिक , सांस्कृतिक, आर्थिक अवस्थाको समीक्षा गर्ने बेला आएको छ । राज्य व्यवस्था , सुशासन, तथा वितरण प्रणाली न्यायोचित थियो थिएन ? राज्य भएको महसुस सर्वसाधारण, आवाज विहीन जनतालाई भएको थियो कि थिएन ? विवेकपूर्वक समीक्षा गरी व्यवहारमा सुधार गर्ने बेला आएको छ ।
जेन-जी आन्दोलनका क्रममा चौहत्तर भन्दा बढी युवाको ज्यान गयो । अनगिन्ती आर्थिक क्षति भयो । मूल सवाल किन सरकार आफ्नै नागरिकको ज्यान लिन उद्धत भयो ? आन्दालनमा घुस पैठ भएको थियो कि थिएन ?
घुसपैठ भएकै भए यत्रो क्षति गर्न उक्साउने को को थिए ? किन संसद् भवन , प्रशासन केन्द्र सिंहदरबार, सर्वोच्च अदालत, प्रहरी कार्यालयहरू, नगरपालिकाका कार्यालयहरू जले ? यसका सँगै नेता निवास तथा निजी व्यवसायिक भवन जले ? किन यस्तो क्षति हुँदा पनि रोक्न खोज्नेको आवाज तथा प्रयत्नले काम गर्न सकेन ? यसको मनोवैज्ञानिक कारण क्षति भएका ज्यान र सम्पत्तिप्रति प्रेम नहुनु, आवश्यकता बोध नहुनु, यसबारे राम्रोसँग सिकाउन बुझाउन नसक्नु आदि हुनसक्छन् ।
देशका प्रतीक, धरोहर र सुरक्षा केन्द्रहरू जल्दा सचेत र संवेदनशील नागरिकहरू शोकमा डुबे । धेरै मानिसमा असुरक्षा महसुस, अनिद्रा, कौतुहल र छट्पटी भइरहेको छ । जेन-जी सहिद र सपना , घाइते, देशको बारेमा चिन्ता बढिरहेको छ । यसैबीच यहाँको नेतृत्वमा मन्त्रिपरिषद् गठन भएपछि प्रतिनिधि सभाको चुनाव घोषणा भएको छ । चुनाव हुन्छ वा हुँदैन ? देशमा स्थायी सरकार बन्छ कि बन्दैन भन्ने संशय पनि बढ्दो छ । यसको उत्तर यस मन्त्रिपरिषद्ले चुनावको वातावरण तयार गर्दै गए प्राप्त हुँदैजानेछ ।
अर्कोतर्फ क्रान्ति, प्रतिक्रान्ति र आन्तरिक द्वन्द्वको खतरा पनि त्यत्तिकै छ । तर, हाम्रो देशभित्रको विशिष्ठ अवस्था, आन्तरिक सम्बन्ध, अति जटिल विषम परिस्थितिमा अनुपम एकता गरेर अगाडि बढ्न सक्ने खुबी पनि छ ।
विगतमा पौराणिक काललेखि हाम्रो धर्तीमा युद्ध पनि भए र शान्तिपूर्ण समाधान पनि भए । अतः हामीले सजग हुन आवश्यक छ तर निराशामा जान उपयुक्त हुँदैन । अहिले पनि अरू देशमा युद्ध चलिरहेको छ र समाधानको खास उत्तर फेला परिरहेको छैन । उनीहरु निराशाको भुमरीमा छन् । हामी यस दृष्टिमा केही हदसम्म सुरक्षित छौँ ।
यस्ता असुरक्षा, निराशा, शंका र द्वन्द्वलाई बेलैमा रोकथाम गर्न सरकारको तत्काल सम्बोधन, नीति, कार्यक्रम र पारदर्शी व्यवहारले विशेष भूमिका खेल्छ । यसैले हामी जनता यहाँको सम्बोधन र क्रियाकलापलाई नजिकबाट नियाली रहेका छौँ ।
प्रधानमन्त्रीज्यू , यहाँको मन्त्रिपरिषद्ले जेन-जीका कारणले ध्वस्त भौतिक सम्पत्तिको पुनःनिर्माण गर्ने निर्णय गरेको छ । केही हदसम्म यो सही कदम पनि होला ।
के यो स्थायी समाधान हो ? अवश्य होइन ।
पुनर्निर्माण कार्यक्रमको बजेटलाई विस्तार गरी सर्वप्रथम आशा, सकारात्मक सोच, उद्यमशीलतासँगै व्यावसायिक सम्भावनाको ज्ञान दिऊँ । यसका लागि सडक मानव हुनुपर्ने बाध्यता, आत्महत्या, आर्थिक अपराध र बेरोजगारीप्रति शून्य सहनशीलतामा अपनाऊँ । हरेक दिन पत्रपत्रिकामा आउने घर जग्गा लिलामी सूचना, सम्बन्ध विच्छेद, झैझगडाका समाचारलाई विशेष कार्यक्रम सञ्चालन गरी विस्तृत आर्थिक–व्यवसायिक, सम्बन्ध तथा द्वन्द्व व्यवस्थापन, मनोवैज्ञानिक, आध्यात्मिक परामर्श सेवा दिई रूपान्तरण गर्न सकौँ । यसले गर्दा ऋण सहयोगले व्यावसायिक लाभ हुन सकेका यथेष्ट प्रमाण पेस गर्न सकौँ । पारिवारिक सम्बन्ध स्थायी बनाऊँ जसले हरेक बालबालिका बुबाआमाको न्यानो माया, हेरचाह र संभावनामा हुर्कन सकुन् । झैझगडा गर्नेलाई सहयात्रा गर्ने उपाय सीप दिन सकौँ । यसो गरेमा नेपालमा केही हुन सक्दैन भन्ने नकारात्मक भाष्यलाई सिर्जनामा परिवर्तन गर्न सकिन्छ ।
जब व्यक्तिभित्र आफू, परिवार, समाज, राष्ट्र र ब्रम्हाण्डको माया लाग्न थाल्छ अनि त तोडफोड गर्ने कुरै आउँदैन ।
प्रधानमन्त्रीज्यू,
यहाँलाई भलीभाँती थाहा होला, अभाव, पीडा, असहयोग, अविश्वास, धोका , निराशा र विध्वंसमा हुर्केको मानसिकताले दुःख पायो कि तोडफोड, विध्वंस नै गर्न मन लाग्छ । यो राजनीतिक परिवर्तनको तीतो यथार्थ हो । यसको विस्तृत र गहिरो उपचार नगरी भौतिक पुनर्निर्माणमात्र गर्दा फेरि पनि आगजनी, तोडफोड हुँदैन भन्ने के निश्चित छ र ?
अतः भौतिक पुनर्निर्माणपूर्व उपयुक्त मानसिक, आध्यात्मिक, सामाजिक वातावरण निर्माणमा ध्यान पुगोस् !