site stats
बाह्रखरी :: Baahrakhari
देश
धापाखेलको निर्माणाधीन कोलोनीमा इन्जिनियरको ‘दर्दनाक हत्या’, हत्यारा भारत भागेको आशंका

काठमाडौं । ललितपुर महानगरपालिका –२४ धापाखेल एक कोलोनी धमाधम बनिरहेको छ । नेपाली तथा भारतीय कामदारहरुले उक्त कोलोनी बनाइरहेका छन् । उक्त कोलोनी सीजीले निर्माण गरिरहेको हो । 

सोही कोलोनीको डिजाइन र निर्माणका लागि भारतबाट आएका सिनियर इन्जिनियर ४६ वर्षीय देव कुमारको ‘दर्दनाक तरिका’ले हत्या भएको छ ।

इन्जिनियरको रुपमा लामो सयमदेखि कार्यरत देवकुमारको हत्या कात्तिक १९ गते निर्माणाधीन कोलोनीको एक भवनको बाथरुमभित्रै हत्या भएको प्रहरीले प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

हत्या भएको एक महिना बित्दा पनि हत्यारा अझै पक्राउ गर्न प्रहरीले सकेको छैन । उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी रमेश बस्नेतले भने हत्याराको पहिचान भइसकेको जानकारी दिए ।

उनले भने,‘‘घटना एक महिनाअघिको हो । हत्याराको पहिचान भइसकेको छ । हामी खोजिरहेका छौँ । हत्यालगत्तै आरोपी भारत भागेको आंशका छ । हामी भारतीय प्रहरीसित समेत समन्वय गरिरहेका छौँ ।’’

प्रहरी अधिकारीका अनुसार इन्जिनियर देवकुमारको हत्यामा कोलोनीकै कामका लागि सर्लाहीबाट ललितपुर आएका युवाको संलग्नता देखिएको छ ।  उनी हत्या लगत्तै भागेर काभ्रेसमेत पुगेको खुलेको छ । काभ्रेबाट फर्किएर कलंकी हुँदै विराटनगर नाकाबाट भारत हानिएको प्रहरीले अनुसन्धानबाट पत्ता लगाएको छ ।

प्रहरीका अनुसार इन्जिनियर देवकुमारको हातखुट्टा तथा मुखसमेत गलबन्दीले बाँधेर टाउकोमा धारिलो हतियार प्रहार गरेर हत्या गरेको पाइएको छ । शव भेटिएलगत्तै जिल्ला प्रहरी परिसर ललितपुर उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले अनुसन्धान थालेको थियो ।

तर, हत्यारा भने हत्यालगत्तै फरार भएका थिए । प्रहरीको अनुसन्धानका क्रममा हत्यामा एक जना भन्दा बढीको संलनता देखिएको छ । अनुसन्धानमा खटिएका एक प्रहरीले भने,‘‘ हत्यामा दुई/तीन जनाको संलनता जस्तो देखिन्छ । एक जनाको भने पहिचान भइसकेको छ । ती आरोपी पक्राउ परेपछि हत्याको कारण खुल्छ ।’’

प्रहरीको अनुसन्धानका क्रममा हाल फरार रहेका आरोपीका श्रीमती र मृतक इन्जिनियरबीच समेत मोबाइलमा सम्पर्क हुने गरेको खुलेको छ ।  तर, हत्याको कारण भने खुलेको छैन् । प्रहरीले आर्थिक कारण भन्दा पनि अन्य रिसइबीका कारण हत्या भएको आशंका गरेको छ ।

उनले सीजी ग्रुपका विभिन्न भवनहरुमा डिजाइन गर्दै आएका थिए । लामो समयदेखि परिवारसहित उनी ललितपुरको हात्तीवनमा बस्दै आएको खुलेको छ । प्रहरीको अनुसन्धानका क्रममा आरोपीलाई कामका लागि मृतक इन्जिनियरले नै ललितपुर ल्याएको खुलेको छ ।


 

प्रकाशित मिति: बुधबार, पुस २, २०८२  ०८:५०
प्रतिक्रिया दिनुहोस्