काठमाडौं । नेकपा (एमाले)को ११औँ महाधिवेशनमा अध्यक्ष पदका उमेदवार ईश्वर पोखरेल समूहले राति मतदान नगराउन आग्रह गरेको छ । पार्टी निर्वाचन आयोगसमक्ष समूहले राति चुनाव नगर्न माग गरेको हो ।
तर, आजै (पुस १) अपराह्न मतदान सुरु गर्ने आयोगको तयारी छ । बुधबार (पुस १) बिहानसम्म मतदान सकाउने गरी तयारी थालिएको आयोगले जनाएको छ ।
“हामी आज मतदान जसरी पनि सुरु गर्छौं, भोलि बिहानसम्म सक्ने भन्ने छ,” एमाले निर्वाचन आयोगका उपाध्यक्ष सानुराजा पोखरेलले बाह्रखरीसित भने, “राति नै मतदान हुन्छ, कन्टिन्यु हुन्छ ।”
छिटोमा अपराह्न ४ बजेदेखि मतदान थालिने उनले बताए । प्राविधिक कारणले केही ढिलाइ हुन सक्ने उनले स्पष्ट पारे ।
“हामीले ४ बजेदेखि सुरु गर्ने भनेको हो,” उनले भने, “छिटोमा ४ नभए ५ देखि ६ बजेको बीचमा मात्रै काम सुरु हुन्छ जस्तो देखिन्छ ।”
पोखरेल समूहले राति मतदान नगराउन आग्रह गरे पनि बाध्यात्मक अवस्था रहेको उनले बताए । “हामीलाई पनि त्यो रहर होइन । तर, कुरो के हो भने यो हल भोलि अर्को पार्टीले बुक गरिसकेको छ,” उनले भने, “त्यो कारणले गर्दा हामीले मतदान रोक्न सक्ने अवस्था देखिँदैन ।”
काठमाडौंको भृकुटीमण्डपमा निर्वाचन प्रक्रिया जारी छ । रामलक्ष्मण भोटिङ मेसिनबाट मतदान गरिने आयोगले जनाएको छ ।
मतदानमा ८० विद्युतीय मेसिन प्रयोग गरिनेछ । १० विद्युतीय भोटिङ मेसिन ‘ब्याकअप’मा राखिने भएको छ ।
भोटिङ मेसिनका निर्माणकर्ता रामप्रसाद रिमालका अनुसार, मतदान गर्न एक महाधिवेशन प्रतिनिधिलाई करिब ३० मिनेट लाग्नेछ । “३०० भन्दा बढी उमेदवार छन् । एकजना मतदाताले भोट हाल्न करिब आधा घण्टा लाग्छ,” रिमालले भनेका छन् ।
महाधिवेशनमा १९ पदाधिकारीका निम्ति ४२ जनाले उमेदवारी दर्ता गराएका छन् । अध्यक्ष पदमा केपी शर्मा ओली र ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुँदै छ । सबै पदमा गरी ३०० बढी उमेदवार छन् ।