site stats
बाह्रखरी :: Baahrakhari
विदेश
विश्वको पहिलो धनाढ्य बनेर एलन मस्कले रचे अर्को ‘इतिहास’, कति पुग्यो सम्पत्ति ?

काठमाडौं । पटकपटक विश्वका धनाढ्य व्यक्तिहरूको सूचीमा शीर्षस्थानमा रहँदै आएका अमेरिकी व्यापारी एलन मस्कले यसपटक अर्को ‘कीर्तिमानी’ कायम गरेका छन् ।

उनी विश्वमा ६७७ अर्ब डलर (बिलियन) भन्दा बढी सम्पत्ति हुने पहिलो व्यक्ति बनेर कीर्तिमानी कायम गरेका छन् । फोर्ब्सका अनुसार सोमबार उनको कुल सम्पत्ति ६७७ अर्ब डलर पुगेको छ । 

यसरी उनको सम्पत्तिमा तीव्र वृद्धि आउनुको मुख्य कारण मस्कको अन्तरिक्ष कम्पनी स्पेसएक्स भएको रोयटर्सले जनाएको छ । स्पेसएक्सको मूल्यांकन ८०० अर्ब डलर पुगेको छ । 

मस्कको स्पेसएक्समा करिब ४२ प्रतिशत हिस्सेदारी छ । यो मूल्यांकन वृद्धिबाट मात्रै उनको सम्पत्तिमा १६८ अर्ब डलर थपिएको हो । 

गत अक्टोबरमा मात्रै उनी ५०० अर्ब डलरको आकडा पार गर्ने पहिलो व्यक्ति बनेका थिए । अहिलेको यो नयाँ कीर्तिमान उनका लागि अर्को ठूलो उपलब्धि हो ।

स्पेसएक्सले सन् २०२६ मा आईपीओ ल्याउने योजना बनाइरहेको बताइएको छ ।

मस्कको यो हिस्सेदारीले उनको सम्पत्तिलाई ‘रकेट’जस्तै उचाइमा पुर्‍याइदिएको बताइएको छ । फोर्ब्सका अनुसार सोमबार मध्याह्न १२ बजेसम्म उनको कुल सम्पत्ति ६७७ अर्ब डलर पुगेको थियो ।

यसबाहेक, मस्कको इलेक्ट्रिक कार कम्पनी टेस्लाले पनि उनको सम्पत्ति बढाउन मद्दत गरेको छ । कम्पनीबाट उत्पादित कार बिक्रीमा केही गिरावट आए पनि टेस्लाको सेयर यो वर्ष अहिलेसम्म १३ प्रतिशतले बढेको छ ।

मस्कसँग टेस्लामा करिब १२ प्रतिशत हिस्सा छ । मस्कले कम्पनीले रोबोट्याक्सीको परीक्षण गरिरहेको जानकारी दिएका कारण सोमबार सेयर करिब चार प्रतिशतले बढेको थियो । 

मस्कको आर्टिफिसियल इन्टेलिजेन्स कम्पनी एक्सएआई पनि चर्चामा छ । रिपोर्टअनुसार, यो १५ अर्ब डलरको नयाँ फन्ड जुटाउने तयारीमा छ । यसबाट कम्पनीको मूल्यांकन २३० अर्ब डलर हुनेछ । यसले मस्कको व्यावसायिक साम्राज्यलाई थप विस्तार गर्ने बताइएको छ ।

मस्कको सम्पत्ति अब दोस्रो नम्बरका सबैभन्दा धनी व्यक्तिभन्दा सयौं अर्ब डलर अगाडि छ । उनी विश्वको पहिलो ट्रिलिनियर बन्ने बाटोमा तीव्र गतिमा बढिरहेका छन् ।
 

 

 

प्रकाशित मिति: मंगलबार, पुस १, २०८२  १४:११
प्रतिक्रिया दिनुहोस्