site stats
बाह्रखरी :: Baahrakhari
विदेश
सिड्नीमा नरसंहार मच्चाउने बाबुछोरा ‘इस्लामिक स्टेटबाट प्रेरित’ रहेको खुलासा

काठमाडौं  । अस्ट्रेलियाको सिड्नीस्थित बोन्डी बीचमा आइतबार (१४ डिसेम्बर) साँझ भएको सामूहिक गोलीकाण्डमा अहिलेसम्म कम्तीमा १५ जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन् ।

यो हमला यहुदी समुदायको हानुक्का उत्सवका क्रममा भएको थियो । सो उत्सवमा करिब एक हजार मानिस सहभागी रहेका बताइएको छ ।

एकातिर, प्रहरीले यस घटनालाई आतंकवादी घटना भनेको छ भने अर्कातिर, प्रारम्भिक अनुसन्धानले हमलाकारीहरू इस्लामिक स्टेट (आईएस)को विचारधाराबाट प्रेरित रहेको खुलासा भएको छ ।

अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजीले मंगलबार यो हमला इस्लामिक स्टेटको विचारधाराबाट प्रेरित भएको देखिएको बताएका थिए । 

प्रहरीले हमलाकारीको कारबाट दुईवटा इस्लामिक स्टेटका झन्डा र विस्फोटक उपकरण (आईडी) फेला परेको पुष्टि गरेको छ  ।

उक्त घटनामा संलग्नहरू बाबु–छोरा भएको खुलेको छ । ५० वर्षीय साजिद अकरम र उनका २४ वर्षीय छोरा नवीद अकरमले यो हमला गराएका थिए । 

प्रहरीको गोलीबारीमा बुबा साजिद अकरमको घटनास्थलमै मृत्यु भएको छ भने छोरा नविद गम्भीर घाइते छन् । उनी अस्पतालमा प्रहरी नियन्त्रणमा छन् । 

प्रहरीका अनुसार साजिदसँग ६ वटा हतियारका वैध लाइसेन्स थिए । तिनै हतियार हमलामा प्रयोग भएको हुन सक्ने अनुमान गरिएको छ ।

फिलिपिन्सको यात्रा

प्रहरी कमिस्नर माल ल्यान्यनका अनुसार दुवै हमलाकारी गत महिना फिलिपिन्स भ्रमणमा गएका थिए । के कारणले उनीहरू त्यहाँ गएका थिए भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यद्यपि, उनीहरू त्यहाँ सैन्य तालिम लिन गएको हुन सक्ने अनुमान गरिएको छ ।

नवीद अकरम सन् २०१९ मा अस्ट्रेलियाको गुप्तचर एजेन्सी एएसआईओको अनुसन्धानमा परेका थिए । त्यतिबेला उनलाई इस्लामिक स्टेटसँग नजिक एक ‘सेल’सँग सम्बन्ध रहेको आशंका गरिएको थियो । यद्यपि, तत्काल खतरा मानिएको थिएन ।

कसरी भयो हमला ?

हमला साँझ करिब पौने सात बजे सुरु भएको थियो । दुवै हमलाकारीले पुलबाट लामो दूरीका राइफल प्रयोग गरी भीडमाथि गोली चलाउन थालेका थिए । कुल १०३ गोली चलाइएको प्रहरीको प्रारम्भिक आकलन छ ।

हमलामा १० वर्षीया एक बालिकासहित १५ जनाको ज्यान गएको छ । घाइते हुनेमा बालबालिका र प्रहरी अधिकारी पनि समावेश छन् । 

एक यात्रु अहमद अल अहमदले साहस देखाउँदै हमलाकारीलाई निःशस्त्र पारेका थिए । उनैका कारण धेरैको ज्यान जोगिएको बताइएको छ । 

नयाँ साउथ वेल्सका प्रिमियर क्रिस मिन्सले यस घटनालाई यहुदी समुदायमाथि गरिएको बर्बर हमला भएको बताएका छन् । 

अस्ट्रेलियाली मुस्लिम संगठनले हमलाको कडा निन्दा गर्दै यसलाई इस्लामका सिद्धान्तविरुद्ध भएको बताएका छन् । 

अनुसन्धान जारी रहेको र हालसम्म अन्य कसैको संलग्नताको प्रमाण नभेटिएको प्रहरीले जनाएको छ । यद्यपि, घटनासँग सम्बन्धित सबै पक्षमाथि अनुसन्धान भइरहेको बताइएको छ ।
 

प्रकाशित मिति: मंगलबार, पुस १, २०८२  ११:३४
प्रतिक्रिया दिनुहोस्