काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीविरुद्ध मानहानिको मुद्दा दायर गरेका छन् । ट्रम्पले ६ जनवरी २०२१ को आफ्नो भाषणमा भएको एडिट (सम्पादन)को विषयलाई लिएर मुद्दा दायर गरेका हुन् । सो सम्पादन ‘पानोरामा’ नामक वृत्तचित्रमा गरिएको थियो, जुन बेलायतमा २०२४ को अमेरिकी चुनावअघि प्रसारण गरिएको थियो ।
फ्लोरिडाको अदालतका अनुसार, ट्रम्पले बीबीसीसँग अर्बौं डलरको क्षतिपूर्ति माग गरेका छन् ।
बीबीसीले नोभेम्बरमा ट्रम्पसँग माफी मागे पनि क्षतिपूर्ति नदिने भनेको थियो ।
यता, बीबीसीले भने मानहानिको दाबीको कुनै आधार नभएको बताएको छ ।
ट्रम्पको कानुनी टोलीले बीबीसीले उनको भाषणमा जानाजान, दुर्भावनापूर्ण र भ्रामक तरिकाले छेडछाड गरी उनको छविमा क्षति पु¥याएको आरोप लगाएको छ । मुद्दा दायर भएपछि बीबीसीले हालसम्म कुनै प्रतिक्रिया दिएको छैन ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार ट्रम्पले बीबीसीमाथि मानहानिको आरोप र फ्लोरिडाको ट्रेड प्राक्टिसेस कानुन उल्लंघनसम्बन्धी अर्को आरोपमा पनि मुद्दा दायर गरेका छन् ।
ट्रम्पले गत महिना नै जनवरी ६ को आफ्नो भाषणलाई पानोरामा वृत्तचित्रको अंशका रूपमा जसरी सम्पादन गरिएको विषयलाई लिएर बीबीसीमाथि मुद्दा हाल्ने योजना बनाएको बताएका थिए ।
‘पानोरामा एडिट’ विवाद के हो ?
ट्रम्पले भाषणमा वासिंटनका समर्थकहरूलाई भनेका थिए, “हामी क्यापिटलसम्म हिँडेर जानेछौं, हामी हाम्रा बहादुर सिनेटर, कांग्रेसमेन र महिलाहरूको समर्थन गर्नेछौँ ।”
भाषणमा ५० मिनेटपछि उनले भनेका थिए, “...र हामी लड्नेछौं । पूरै तागतका साथ लड्नेछौँ ।”
बीबीसीको पानोरामा कार्यक्रममा एउटा क्लिपमा ट्रम्पलाई ‘हामी क्यापिटलसम्म हिँडेर जानेछौं... र म तपाईंसँग त्यहाँ हुनेछु । ...र, हामी लड्नेछौं । हामी, पूरै तागतका साथ लड्नेछौँ’ भन्दै देखाइएको थियो ।
बीबीसीको यो सम्पादनाले ‘हिंसात्मकक कारबाहीका लागि मानिसलाई सिधा अपिल गरेको’ भन्ने ‘गलत धारणा’ सिर्जना गरेको बताएको थियो । यस मामिलामा बीबीसीका डाइरेक्टर जनरल टिम डेभी र समाचार प्रमुख डेबोरा टर्नेसले गत महिना राजीनामा दिएका थिए । बीबीसीबाट