काठमाडौं । हरेक वर्ष विश्वभर लगभग २३ लाख नयाँ स्तन क्यान्सरका मामिला दर्ता गरिन्छ । विश्व स्वास्थ्य संगठनका अनुसार, सन् २०२२ मा मात्र यो रोगबाट लगभग ६.७ लाख मानिसको मृत्यु भएको थियो ।
आरडब्ल्यूटीएच आखन युनिभर्सिटी हस्पिटलको डायग्नोस्टिक र इन्टरभेन्सनल रेडियोलोजी विभागकी निर्देशक क्रिस्टियान कूलका अनुसार, म्यामोग्राफी स्क्रिनिङका बाबजुद पनि स्तन क्यान्सर महिलामा क्यान्सरजन्य मृत्युको सबैभन्दा ठूलो कारणका रूपमा स्थापित भएको छ ।
उनका अनुसार, म्यामोग्राफीले धेरै अवस्थामा स्तन क्यान्सर पत्ता लगाउन सक्दैन वा ढिलो मात्र पहिचान गर्छ । खासगरी तीव्र गतिमा बढ्ने र आक्रामक ट्युमर कहिलेकाहीँ म्यामोग्राफीमा देखिँदैनन् । र, यिनैले सबैभन्दा धेरै महिलाको ज्यान लिन्छन् ।
तर, अब एउटा नयाँ प्रविधि आएको छ, जसले स्तन क्यान्सर स्क्रिनिङमा ठूलो परिवर्तन ल्याउन सक्छ । यो एआई मोडेलले केवल म्यामोग्रामका तस्बिर हेरेरै कुनै व्यक्तिमा आउँदो पाँच वर्षमा स्तन क्यान्सर हुने जोखिम कति छ भन्ने सटीक रूपमा अनुमान लगाउन सक्छ ।
एआई मोडेलको सटीकता
एक अध्ययनानुसार, एल्गोरिदमले उच्च जोखिम भनेर वर्गीकरण गरेका महिलामा स्तन क्यान्सर हुने सम्भावना, सामान्य जोखिम भनिएका महिलाको तुलनामा धेरै गुना बढी देखियो ।
कूलले भनिन्, “हाई–रिस्क महिलाहरूमा स्तन क्यान्सर हुने सम्भावना लो–रिस्क महिलाभन्दा लगभग चार गुणा ज्यादा थियो ।”
उनले थपिन्, “यस एआई मोडेलको मद्दतले हामी सामान्य म्यामोग्रामबाटै आउँदो पाँच वर्षमा स्तन क्यान्सर हुने सम्भावनाको सटीक अनुमान लगाउन सक्छौँ ।”
५० वर्षपछि हरेक दुई सालमा म्यामोग्राम
जर्मनीमा ५० देखि ७५ वर्षका सबै महिलालाई हरेक दुई सालमा म्यामोग्राम स्क्रिनिङ गरिन्छ । तर, स्तन क्यान्सरको जोखिम प्रत्येक महिलामा फरक हुने भएकाले एउटै ढाँचाको जाँच सबैका निम्ति पर्याप्त हुँदैन ।
कूलका अनुसार, स्क्रिनिङ महिलाको व्यक्तिगत जोखिमका आधारमा हुनुपर्छ ।
म्यामोग्राफीको सटीकता पनि सबैका निम्ति एउटै हुँदैन । स्तनको तन्तु जति घना हुन्छ, स्तन क्यान्सरको जोखिम त्यति बढी हुन्छ । साथै, म्यामोग्राफीको प्रभावकारिता त्यति नै कम हुन्छ । धेरै महिलालाई यसबारे थाहा नै नहुने कूल बताउँछिन् ।
अमेरिकामा महिलालाई उनीहरूको स्तन तन्तुको घनत्वबारे जानकारी दिनुपर्ने र त्यहाँ क्यान्सर लुकेर बस्न सक्छ भन्ने चेतावनी अनिवार्य छ ।
म्यामोग्राफीभन्दा प्रभावकारी एमआरआई स्क्यान
धेरै वर्षदेखि स्तन तन्तु घना भएका महिलालाई म्यामोग्राफीको सट्टा एमआरआई गर्न सिफारिस गरिँदै आएको छ । एमआरआईले प्रारम्भिक चरणमै क्यान्सर पत्ता लगाउने सम्भावना बढी हुन्छ ।
यो प्रविधिले धेरै विस्तृत र स्पष्ट तस्बिर बनाउँछ र एक्स–रे होइन, बलियो चुम्बकीय क्षेत्र तथा रेडियो तरंग प्रयोग गर्छ । यद्यपि, यो म्यामोग्राफी वा अल्ट्रासाउन्डभन्दा धेरै महँगो हुन्छ ।
कुन महिलालाई एमआरआई आवश्यक पर्छ भन्ने पहिचानका निम्ति क्लेरिटी कन्सोर्टियम (उत्तरी अमेरिका, दक्षिण अमेरिका र जर्मनीका ४६ अनुसन्धान संस्था)ले ‘क्लेरिटी ब्रेस्ट’ नामक एआई मोडेल विकास गरेका छन् ।
एआई मोडेलले कसरी गर्छ काम ?
एआई मोडेललाई युरोप, दक्षिण अमेरिका र उत्तरी अमेरिकाका चार लाखभन्दा बढी म्यामोग्रामद्वारा प्रशिक्षण दिइएको छ । परम्परागत जोखिम मोडेलजस्तो पारिवारिक इतिहास, जीन वा जीवनशैलीका डेटा नचाहिने, केवल म्यामोग्रामकै आधारमा जोखिम मूल्यांकन गर्ने यसको विशेषता हो ।
यो एआईले न केवल स्तन तन्तुको घनत्व, तर तिनीहरूको संरचना र बनावटसमेत विश्लेषण गर्छ, जुन स्तन क्यान्सरको महत्वपूर्ण जोखिम कारक हो ।
कूलले भनिन्, “केवल लगभग १० प्रतिशत महिलामा मात्र अत्यधिक घना ग्रन्थी तन्तु हुन्छ ।” उनका अनुसार, धेरैजसो महिलामा क्यान्सर ढिलो पत्ता लाग्ने कारण तन्तुको अत्यधिक घनत्व होइन, अरू कारक पनि हुन्छन् ।
उनले थपिन्, “यो प्रविधिको सबैभन्दा महत्त्वपूर्ण पक्ष के हो भने कुनै महिलालाई सुरुआती जाँचका निम्ति एमआरआई आवश्यक छ वा छैन भन्ने विषयले एआईले केही सेकेन्डमै निर्धारण गर्न सक्छ ।”
के स्तन क्यान्सरको जाँच अझ पहिले सुरु गर्नुपर्छ ?
अधिकांश देशमा व्यापक स्क्रिनिङ ५० वर्षपछि सुरु हुन्छ, किनभने त्यो उमेरसँगै जोखिम बढ्छ र नियमित जाँचका फाइदा प्रमाणित भइसकेका छन् ।
कूलका अनुसार, यदि यो एआई मोडेलले सही रूपमा काम गरे कम उमेरका महिलाले पनि प्रारम्भिक जाँचको लाभ पाउन सक्छन् ।
कम उमेरमा जोखिम थोरै हुन्छ । तर, क्यान्सर हुने भए ट्युमर सामान्यतया अधिक आक्रामक हुन्छ । कूल भन्छिन्, “कम उमेरका महिलामा स्तन तन्तु घना हुने भएकाले म्यामोग्राफीले प्रारम्भिक चरणमा क्यान्सर चिन्न धेरै कठिन हुन्छ ।”
तर, सामान्य स्क्रिनिङको उमेर घटाउनु नै समाधान होइन । उनी भन्छिन्, “मात्र उमेर घटाएर जाँच सुरु गरियो भने मुख्य समस्या समाधान हुँदैन ।”
उनी दुईस्तरीय स्क्रिनिङ विधि प्रस्ताव गर्छिन्, एक म्यामोग्राम र अर्को एआई विश्लेषण । यदि, एआईले जोखिम उच्च देखाए त्यसपछि एमआरआई गर्नुपर्ने कूल बताउँछिन् । “यस्ता महिलालाई म्यामोग्राफी आवश्यक नपर्न सक्छ,” उनी भन्छिन् ।