काठमाडौं । नेपाल जेनजी फ्रन्ट (रक्षा बम) समूहले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्रमा आइतबार (मंसिर २८) जागरणसभा गर्यो । २०७९ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा ५२ हजार ३१९ मतसहित ओली झापा क्षेत्र नम्बर–५ बाट निर्वाचित भएका थिए । त्यही क्षेत्रमा फ्रन्टले जागरणसभा गरेको हो ।
गएको भदौ २३ र २४ गतेको ‘जेनजी’ प्रदर्शनका क्रममा ओलीले प्रधानमन्त्रीका रूपमा अभिभावकीय भूमिका निर्वाह गर्न नसकेको र युवालाई ताकेरै गोली प्रहार गरेको फ्रन्टले आरोप लगाएको छ ।
जेनजी फ्रन्टको सूचना तथा प्रविधि शाखाका अगुवा एवं झापा निर्वाचन क्षेत्र नम्बर–५ का स्थानीय यतिष ओझाले अब यहाँबाट विद्रोह गर्नुपर्ने भन्दै जागरणसभा गरिएको बताए ।
“सरकार र जेनजी आन्दोलनकारीबीच भएको सम्झौतापछि नयाँ चरणको अभियान हो, यो । विगतका चुनावमा केपी ओलीलाई एउटा सांसदको रूपमा मात्रै होइन, प्रधानमन्त्रीलाई जिताएर पठाउँदै छौँ भनेर सबै जनता एकजुट हुन्थ्यौँ,” उनले बाह्रखरीसित भने, “तर, ठीक उल्टो उहाँविरुद्ध उत्रिनुपर्ने दिन आएको छ ।”
संयोजक बम, सदस्य ओझा, काउन्सिल अफ जेनजीका कोसी प्रदेश संयोजक उपार्जुन चाम्लिङसहित स्थानीय जेनजीको तत्परतामा फ्रन्टले झापामा ‘जनतासँग भेटघाट’ गरेको हो ।
“भदौ २३ गते तत्कालीन प्रधानमन्त्री ओलीले युवाहरूलाई गोली हान्न लगाए,” ओझाले भने, “भ्रष्टाचार, चरम कुशासनमा मुछिएका असफल प्रधानमन्त्री साबित भइसकेपछि यो कुरा यहाँका जनताहरूले बुझ्न जरुरत थियो । त्यसैले फ्रन्टले झापाबाटै जागरणसभाको सुरुआत गरेको हो ।”
कात्तिक १४ गते बमको संयोजकत्वमा नेपाल जेनजी फ्रन्ट नामक मोर्चा घोषणा भएको थियो । फ्रन्टको मुख्य उद्देश्य जेनजी आन्दोलनलाई संस्थागत गर्ने छ । जेनजी समूहलाई संस्थागत गर्ने पनि फ्रन्टको उद्देश्य छ ।
फ्रन्टमा युजन राजभण्डारी, मनीष खनाल, आदित्य कर्ण, ऋतु खड्का, संविधान प्रसाईं, नजिर आलम, आसन अन्सारी, पूजा मेहतालगायत सदस्य छन् । संयोजक बमले भदौ २३ को आन्दोलनको औचित्यबारे ओलीलाई जिताएर पठाउने मतदातालाई बुझाउन उनकै निर्वाचन क्षेत्रमा गएको बताइन् ।
“जेनजी आन्दोलन एउटा विद्रोह थियो । त्यो विद्रोह केका लागि र किन भएको थियो, त्यसको औचित्य के थियो भनेर बाहिर अफवाह फैलाउने काम भएको छ,” उनले भनिन्, “त्यही कुरा बुझाउन हामी आएका हौँ ।”
उनले ओलीले भदौ २३ र २४ को घटनाको जिम्मा लिएर माफी माग्नुको साटो जेनजी समूहमाथि नै प्रहार गरिरहेको बताइन् । “भदौ २३ र २४ गतेको घटनाको गल्ती स्वीकार्दै माफी नमागेर उल्टै जेनजी समूहमाथि आक्रमण गर्ने काम भइरहेको छ । त्यसैले जनताहरूलाई आवाज दिन आएका हौँ,” उनले भनिन् ।
जेनजी आन्दोलनताकाका तत्कालीन प्रधानमन्त्री, गृहमन्त्री खुलेआम हिँडेका र घाइते, सहिदले न्याय नपाएको उनले बताइन् । फ्रन्टको टोली न्याय माग्दै झापा पुगेको उनले जिकिर गरिन् ।
“सहिद र घाइतेले अझै न्याय पाएका छैनन् । उल्टै प्रदर्शनकारी भन्दै हाम्रै साथीहरू पक्राउ परिरहेका छन् । त्यसैले न्यायका लागि झापा–५ नै रोजेका हौँ,” उनले भनिन्, “पटक–पटक चुनाव जिताएर पठाएका ‘खराब’ पात्रलाई पुनः नदोहोर्याउनुहोला भनेर आग्रह गरिरहेका छौँ ।”
यस्तै अभियान देशभर चलाउन स्रोत–साधनको अभाव रहेको उनले बताइन् । “ओलीको निर्वाचन क्षेत्रजस्तै देशैभरि अभियान चलाउन हामीसँग स्रोत–साधन छैन,” उनले भनिन्, “शीर्ष नेताहरूको जिल्ला–जिल्लामा गएर यस्तो अभियान चलाउने पनि होइन ।”
बमले थपिन्, “जेनजीलाई प्रश्न गर्नुअघि निहत्था जनतालाई गोली हानेर देश जलिरहेको बेला हेलिकोप्टर चढेर भाग्नेलाई प्रश्न गरियोस् । झापा–५ ले निर्वाचनमा के गर्छ भनेर जेनजी र पूरै देशले हेरिरहेको छ ।”
एमाले महाधिवेशन प्रतिनिधिलाई बमको खुला पत्र
काठमाडौंमा एमालेको महाधिवेशन जारी रहेका बेला बमले खुला पत्र समेत लेखेकी छन् । महाधिवेशन प्रतिनिधिलाई सम्बोधन गर्दै उनले खुला पत्र लेखेकी हुन् ।
ओलीको हात ‘युवा पुस्ताको रगतले रंगिएको’ आरोप लगाउँदै उनले महाधिवेशन प्रतिनिधिलाई त्यसको ‘हिस्सेदार’ नबन्न आग्रह गरेकी छन् । उनले तत्कालीन प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओली नेतृत्वको सरकारले सडकमा उत्रिएका निहत्था विद्यार्थीमाथि गोली बर्साएको र हत्या गरेको आरोप लगाएकी छन् ।
“यतिखेर सबैभन्दा प्रमुख प्रश्न हो, केपी शर्मा ओलीको हात त हाम्रो पुस्ताको रगतले रंगिएको छ, के त्यो रगतको भागीदारिता तपाईँहरू पनि बहन गर्न तयार हुनुहुन्छ ?,” महाधिवेशन प्रतिनिधिलाई उनको प्रश्न छ ।
उनले आफूलाई तानाशाही शासकको गोलीबाट बाँचेको आन्दोलनकारीका रूपमा उल्लेख गरेकी छन् । एमाले महाधिवेशन प्रतिनिधिलाई खुला पत्रमार्फत उनले भनेकी छन्, “सम्भवतः यो एउटा अन्तिम अवसर हो । तपाईंहरूको मन एकातिर मत अर्कातिर नहोस् । यसपटक यस्तो नेतृत्व छनोट गर्नुस्, जसले फेरि भदौ २३ ननिम्त्याओस् ।”
पार्टीलाई सच्याउने, सच्चिने र युगान्तकारी परिवर्तनको संवाहक बन्ने अवसर महाधिवेशन प्रतिनिधिले गुमाउन नहुनेमा उनले जोड दिएकी छन् । यसो नगरिए पार्टी मात्र नभई देशकै भविश्य अन्धकार हुने उनले बताएकी छन् ।
स्थानीय जेनजी अगुवा ओझाले फ्रन्ट आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उमेदवार उठाउने निष्कर्षमा पुगिनसकेको बताए ।
उनले भने, “हामीले एउटा सिम्बोलको रूपमा यहाँ जागरणसभा गरेका हौँ । चुनावमै उमेदवार उठाउने निष्कर्षमा त पुगिसकेका छैनौँ, तर देशैभरिबाट नयाँ र सक्षम उमेदवार आउनुहुनेछ । उहाँलाई फ्रन्टले सघाउँछ ।”
