काठमाडौं । अस्ट्रेलियाको सिड्नीस्थित बोन्डी बिचमा आइतबार (डिसेम्बर १४) भएको आतंकवादी हमलामा मृत्यु हुनेहरूको संख्या १६ पुगेको छ । करिब ४० जना घाइते अस्पतालमा भर्ना भएका छन् ।
प्रहरीका अनुसार, यो हमला गराउने आतंककारीहरू बाबु–छोरा भएको खुलासा भएको छ । एकातिर विश्वभर यो आतंकवादी हमलाको निन्दा भइरहेको छ, भने अर्कोतिर दुई आतंककारीले निर्दोष मानिसहरूमाथि गोली किन चलाए भन्ने प्रश्न उठिरहेको छ ।
यसैबीच, अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजीले देशमा कडा बन्दुक कानुन बनाउने प्रस्ताव राखेका छन् ।
यी दुई आतंककारी बाबु–छोराको बारेमा हालसम्म १० ठूला खुलासा गरिएका छन् ।
सिड्नी बोन्डी बिचनजिक दुई आतंककारीले हमला गरे । ५० वर्षीय आक्रमणकारीको नाम साजिद अकरम थियो, जसलाई प्रहरीले जवाफी कारबाहीमा घटनास्थलमै मारिदिएको छ । २४ वर्षीय आतंककारी छोरा नवीद अकरमलाई पनि गोली लागेको छ । गम्भीर चोटका कारण उनलाई अस्पताल भर्ना गरिएको छ । यी दुई आक्रमणकारी बाबु–छोरा भएको पुष्टि भएको छ ।
प्रहरीका अनुसार, बाबु साजिद अकरमसँग ६ वटा लाइसेन्सप्राप्त हतियार थिए । बोन्डी बिचमा भएको गोलीबारीमा तिनै हतियारहरू प्रयोग भएको प्रहरीको विश्वास छ ।
अस्ट्रेलियाका गृहमन्त्री टोनी बर्कका अनुसार, आतंककारी छोरा नवीद अकरम अस्ट्रेलियालीमूलका नागरिक हुन् । उनका पिता साजिद अकरम सन् १९९८ मा विद्यार्थी भिसामा अस्ट्रेलिया आएका थिए । उनको अस्ट्रेलियामा एउटा फलफूल पसल थियो । सन् २००१ मा त्यसलाई उनले पार्टनर भिसामा परिणत गरेका थिए । विदेश यात्रापछि उनी तीनपटकदेखि ‘रेसिडेन्ट रिटर्न भिसा’मा अस्ट्रेलियामा बस्दै आएका थिए ।
सिड्नी कुरान कलेजका प्रमुख शेख एडम इस्माइल र नविद अकरमको एउटा पुरानो फोटो अनलाइनमा भाइरल भएको छ । इस्माइलका अनुसार, उनले नविदलाई सन् २०२२ पछि भेटेका छैनन् । एडम इस्माइलले बताएअनुसार अकरमले सन् २०१९ को अन्त्यमा कुरान उद्धरण र अरबी भाषाको कक्षाका लागि सम्पर्क गरेका थिए । उनले भने, “मैले विगत केही वर्षहरूमा हजारौँ विद्यार्थीहरूसँग गरेजस्तै, मैले उनलाई केवल एक वर्षको लागि कुरान पाठ र अरबी मात्र सिकाएको थिएँ । जुन विषयमा म विज्ञ हुँ मैले त्यही विषय उनलाई पढाएँ ।”
प्रधानमन्त्री अल्बानीजीका अनुसार, छोरा नवीद पहिलोपटक अक्टोबर २०१९ मा अस्ट्रेलियाको गुप्तचर एजेन्सीको नजरमा परेका थिए । त्यतिबेला ‘अरूसँगको सम्बन्ध’को आधारमा उनको जाँच गरिएको थियो । प्रधानमन्त्रीले गुप्तचर एजेन्सीले आफ्नो अनुसन्धानमा उनी हिंसामा संलग्न हुने कुनै खतराको संकेत नभएको पत्ता लगाएको थियो र त्यसैले उनको थप अनुसन्धान नगरिएको बताए ।
‘द सन्डे मर्निङ हेराल्ड’को रिपोर्ट अनुसार, हमला गर्नुअघि आतंककारी बाबु–छोराले आफ्ना परिवारलाई आफूहरू दक्षिण तटमा माछा मार्न जान लागेको बताएका थिए ।
अनुसन्धानकर्ताहरूका अनुसार, साजिद अकरमको एउटा फलफूल पसल थियो भने उनको छोरालाई कम्पनी टाटपल्टिएपछि करिब दुई महिनाअघि इँटाको गाह्रो लगाउने मिस्त्रीको कामबाट हटाइएको थियो । प्रहरीले साजिदसँग करिब १० वर्षदेखि बन्दुकको लाइसेन्स रहेको बताएको छ ।
रिपोर्टका अनुसार, नविद अकरमकी आमाले अन्तिम पटक आइतबार बिहान परिवारसँग कुरा गरेका थिए । रिपोर्टका अनुसार, आमाले आफ्नो छोराको बारेमा भनिन्, “उसँग बन्दुक छैन । बाहिर पनि जाँदैन । साथीहरूसँग घुलमिल गर्दैन । रक्सी पिउँदैनथ्यो, उ चुरोट पिउँदैन, नराम्रो ठाउँमा जाँदैनथ्यो, काममा जान्थ्यो, घर आउँथ्यो, कसरत गर्न जान्थ्यो, त्यति नै हो । हरेक व्यक्तिले मेरो छोराजस्तो छोरा पाउन चाहन्थ्यो, उ एउटा असल केटा थियो ।”
यो घटना सन् १९९६ पछिको अस्ट्रेलियामा भएको सबैभन्दा घातक सामूहिक गोलीबारी मानिएको छ । सन् १९९६ मा तस्मानियाको पोर्ट आर्थरमा भएको गोलीबारीमा ३५ जनाको ज्यान गएको थियो, यसपछि देशको हतियार कानुनमा ठूला परिवर्तनहरू गरिएका थिए ।