site stats
बाह्रखरी :: Baahrakhari
विदेश
दक्षिण कोरियाका अपदस्थ राष्ट्रपतिले विपक्षीलाई समाप्त पार्न ‘मार्शल ल’ लगाएको खुलासा

काठमाडौं । दक्षिण कोरियाका अपदस्थ राष्ट्रपति युन सुक योलले विपक्षीलाई समाप्त पार्न ‘मार्शल ल’ लगाएको खुलासा भएको छ । आफ्ना राजनीतिक विरोधीहरूलाई समाप्त पार्न र सत्तामा एकाधिकार जमाउनका लागि एक वर्षभन्दा बढी समयसम्म मार्शल ल (सैन्य शासन) लगाउने षड्यन्त्र रचेको निष्कर्ष तथ्य अनुसन्धान एजेन्सीले सोमबार गरेको छ ।

सन् २०२४ डिसेम्बरमा युनले मार्शल ल लगाएका थिए । यद्यपि, यो केही घण्टाभित्रै फिर्ता भएको थियो । त्यसपछि युन सत्ताच्युत भएका थिए ।

स्वतन्त्र वकील चो युन–सुकले ६ महिनासम्म चलेको अनुसन्धानको नतिजा घोषणा गर्दै योल र उनका सैन्य सहयोगीहरूमाथि उत्तर कोरियाविरुद्ध सैन्य कारबाहीको आदेश दिएको पनि आरोप लगाएका छन् । उनले यो सबै जानाजान तनाव बढाउन र मार्शल ल लगाउने निर्णयलाई न्यायोचित ठहर्‍याउनका लागि गरिएको बताए ।

चोले उत्तर कोरियाबाट कुनै गम्भीर प्रतिक्रिया नआए पनि युनले विपक्षी लिवरल पार्टीको नियन्त्रणमा रहेको संसद्लाई ‘राष्ट्रविरोधी शक्ति’ भन्दै मार्शल ल घोषणा गरेको बताए । 

युनको तर्फबाट यसमा कुनै तत्काल प्रतिक्रिया आएको छैन । उनी हाल जेलमा रहेको र देशद्रोह जस्ता गम्भीर आरोपहरूसँग सम्बन्धित मुद्दाहरूको सामना गरिरहेका छन् । युनले लगातार मुख्य विपक्षी पार्टीले आफ्ना नीतिहरूमा बाधा पुर्‍याएकाले उनीहरूविरुद्ध जनसमर्थन जुटाउन बाध्यतामा मार्शल ल घोषणा गर्नुपरेको बताउँदै आएका छन् ।

यसैबीच, प्रहरीले सोमबार युनिफिकेसन चर्चको मुख्यालयमा छापा मारेको छ । यो कारबाही नेताहरूविरुद्ध घुसखोरीसम्बन्धी अलग–अलग मुद्दाहरूको अनुसन्धानका लागि गरिएको बताइएको छ । युनकी पत्नी र यो चर्चसँग जोडिएको एक अनुसन्धान प्रक्रिया गत एक महिनादेखि जारी छ ।

प्रकाशित मिति: सोमबार, मंसिर २९, २०८२  १८:४८
प्रतिक्रिया दिनुहोस्