काठमाडौं । क्यारेबियन राष्ट्र कुरासाओबाट उडेको जेटब्ल्यूको जहाज शुक्रबार अमेरिकी वायुसेनाको इन्धन भर्ने ट्यांकरसँग ठोक्किनबाट बालबाल बचेको छ । भेनेजुएलाको कुरासाओबाट न्युयोर्क जाँदै गरेको जेटब्ल्यू उडान नम्बर १११२ ठोक्किनबाट जोगिएको थियो ।
ट्यांकरसित ठोक्किनबाट जोगिन उक्त जहाजले उचाइ बढाएको बताइएको छ । पाइलटले सैन्य विमानले आफ्नो उडान मार्ग काटेका कारण यस्तो अवस्था सिर्जना भएको बताएका छन् ।
हवाई ट्राफिक नियन्त्रकसँगको कुराकानीअनुसार जेटब्ल्यूका पाइलटले भनेका छन्, “हामी लगभग आकाशमै ठोक्किन पुगेका थियौँ । तिनीहरू सिधै हाम्रो उडानमार्गमा आए । तिनीहरूको ट्रान्सपोन्डर पनि अन थिएन । यो अपमानजनक हो ।”
अमेरिकी सेनाले क्यारिबियन क्षेत्रमा लागुऔषध ओसारपसारविरुद्धको अभियानलाई तीव्र बनाउँदै भेनेजुएलाको सरकारमाथि दबाब बढाउने प्रयास गरिरहेको छ।
पाइलटले भने, “हाम्रो अगाडिबाट पाँच माइलको दूरीमा एक विमान पास भयो । त्यो अमेरिकी वायुसेनाको हवाई इन्धन भर्ने विमान थियो र त्यो हाम्रो उचाइमै उडिरहेको थियो । हामीले आफ्नो उडानको उचाइ बढाउनुपर्यो ।” पाइलटले वायुसेनाको उक्त विमान त्यसपछि भेनेजुएलाको हवाई क्षेत्रतर्फ गएको बताए ।
हवाई ट्राफिक रेकर्डिङअनुसार नियन्त्रकले पाइलटलाई जवाफ दिँदै भने, “हाम्रो हवाई क्षेत्रभित्र अज्ञात विमान हुनु साँच्चै अपमानजनक कुरा हो ।”
जेटब्ल्यूका प्रवक्ता डेरेक डोम्ब्रोस्कीले आइतबार भनेका छन्, “हामीले यो घटनाको रिपोर्ट संघीय अधिकारीलाई गरेका छौँ । हामी जुनसुकै पनि अनुसन्धानमा सहभागी हुनेछौँ ।”
पेन्टागनले टिप्पणीका लागि एसोसिएटेड प्रेसलाई वायुसेनासँग सम्पर्क गर्न भनेको थियो । वायुसेनाले भने टिप्पणीका लागि गरिएको अनुरोधमा तत्काल जवाफ दिएको छैन ।
संघीय उड्डयन प्रशासनले गत महिना अमेरिकी विमानहरूलाई भेनेजुएलाको हवाई क्षेत्रमा उडान गर्दा सुरक्षा अवस्था बिग्रँदै गएको र भेनेजुएला तथा वरपर सैन्य गतिविधि बढेको भन्दै सावधानी अपनाउन आग्रह गर्दै चेतावनी जारी गरेको थियो ।