काठमाडौं । अमेरिकी सेनाले अघिल्लो महिना चीनबाट इरानतर्फ गइरहेको एक मालवाहक जहाजमा छापा मारेको वाल स्ट्रिट जर्नलले खुलासा गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले अपनाएको बढ्दो आक्रामक सामुद्रिक रणनीतिको यो पछिल्लो उदाहरण भएको अलजजिराले जनाएको छ ।
वाल स्ट्रिट जर्नलमा शुक्रबार प्रकाशित रिपोर्टअनुसार, नाम उल्लेख नगर्ने सर्तमा अधिकारीहरूले अमेरिकी सैन्य कर्मचारी श्रीलंकाबाट सयौँ माइल टाढा उक्त जहाजमा प्रवेश गरेका अखबारलाई बताएका थिए । अखबारका अनुसार, चीनबाट इरानतर्फ गइरहेको मालसामानलाई अमेरिकी सेनाले रोकेको धेरै वर्षयताकै यो पहिलो घटना हो ।
यो अपरेसन नोभेम्बरमा गरिएको थियो, जुन अमेरिकी सेनाले यसै हप्ताको सुरुमा भेनेजुएलाको तटबाट एक तेल ट्यांकरलाई प्रतिबन्ध उल्लंघनको आरोपमा कब्जा गर्नुभन्दा केही हप्ताअघिको हो । वासिङटनले यस्ता कारबाही पनि वर्षौंदेखि गरेको थिएन ।
अमेरिकी इन्डो–प्यासिफिक कमान्डले तत्काल यो प्रतिवेदनको पुष्टि गरेको छैन । एक अधिकारीले अखबारलाई बताएअनुसार, उनीहरूले इरानका परम्परागत हतियारका निम्ति सम्भावित रूपमा उपयोगी सामग्री कब्जा गरेका थिए । यद्यपि, ती बरामद वस्तु दोहोरो प्रयोगका थिए । र, तिनको सैन्य तथा नागरिक दुवै प्रयोजन हुन सक्ने उल्लेख गरिएको छ ।
अधिकारीहरूका अनुसार, विशेष अपरेसन फोर्स संलग्न रहेको उक्त अवरोधपछि जहाजलाई आफ्नो यात्रा जारी राख्न अनुमति दिइएको थियो ।
इरानमाथि अमेरिकाले लगाएका कडा प्रतिबन्ध अझै लागु छन् । इरान वा चीनले यो रिपोर्टबारे तत्काल प्रतिक्रिया दिएका छैनन् । तर, तेहरानको प्रमुख व्यापारिक साझेदार बेइजिङले अमेरिकी प्रतिबन्धलाई नियमित रूपमा अवैध भन्दै आएको छ ।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले यसअघि भेनेजुएलाको तटबाट तेल ट्या)कर कब्जा गरिएको घटनाको निन्दा गरेका थिए । उक्त ट्यांकर शुक्रबार टेक्ससको एक बन्दरगाहमा ल्याइएको थियो ।