site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
विधान संशोधन गर्ने/नगर्नेमा एमाले बैठकमा तीव्र विवाद

काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठकमा पार्टीको विधान संशोधन गर्ने या नगर्ने भन्ने विषयमा तीव्र विवाद देखिएको छ । विधान संशोधन गरेर पार्टी पदाधिकारी र केन्द्रीय सदस्य बढाइन खोजेपछि विवाद भएको हो ।

पार्टीको महाधिवेशनअन्तर्गत आज बिहान बन्दसत्र सुरु हुने कार्यसूची थियो । तर, विधान संशोधनको तयारीस्वरुप बन्दसत्रको समय दिउँसोका लागि सारिएको छ ।

यद्यपि, बैठकस्रोतका अनुसार ओली आफैँले एजेन्डाका रूपमा विधान संशोधनको प्रस्ताव गरेका छैनन् । तर, फ्लोरबाट उनीनिकटहरूले यो विषय उठाइरहेका छन् । यसरी फ्लोरबाट विधान संशोधनको विषय उठाइएपछि अर्को पक्षले त्यसको प्रतिवाद गरेको छ ।

खासगरी यो महाधिवेशनमा अध्यक्षमा तेहेरिन खोजेका ओलीलाई वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले चुनौती दिने तयारी गरेका छन् । विधान संशोधनको प्रस्तावमा पनि पोखरेल समूहले विरोध जनाएको बैठकस्रोतले जानकारी दियो ।

गत भदौमा सम्पन्न विधान महाधिवेशनले विधान पारित गरेको थियो । तीन महिनामै विधान महाधिवेशनबाट पारित भएको विधान किन संशोधन गर्नुपर्‍यो भन्दै अर्को पक्षले प्रश्न उठाएको छ । जसका कारण बैठकमा तीव्र विवाद देखिएको छ ।

 

प्रकाशित मिति: आइतबार, मंसिर २८, २०८२  १२:०५
प्रतिक्रिया दिनुहोस्