site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
बहुमत ल्याउने ल्याकत भएको एमाले चुनावबाट भाग्छ भन्ने नसोचे हुन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी निर्वाचनबाट भाग्छ भन्ने कसैले पनि नसोचे हुने बताएका छन् । शनिबार (मंसिर २७) भक्तपुरको सल्लाघारीस्थित तीनकुनेमा पार्टीको ११औँ महाधिवेशन उद्घाटन समारोहमा उनले यस्तो बताएका हुन् ।

डर, दबाब र प्रतिशोधको छायाबाट मुक्त निर्वाचन हुँदा बहुमत ल्याउने ल्याकत भएको एमाले चुनावबाट नभाग्ने उनले उल्लेख गरे । उनले मुलुकमा निर्वाचन गराउने दिशामा सरकार नरहेको जिकिर समेत गरे ।

केपी शर्मा ओलीको भनाइ पढ्नोस्–
हाम्रो स्पष्ट माग छ– प्रतिनिधिसभा तुरुन्त पुनर्स्थापना होस् । देश संविधान र लोकतन्त्रको बाटोमा फर्कियोस् । सरकारलाई फागुन २१ मा चुनाव गराएर सत्ता हस्तान्तरण गर्ने कार्यादेश छ, चुनावको मिति तोकिएको छ, तर के तयारी केही भइरहेको छ देखिँदैन । चुनाव चाहने सरकारले के गर्थ्यो ? सबै दलको विश्वास जित्थ्यो । निर्णयमा पारदर्शिता हुन्थ्यो । सभा, जुलुस गर्न खुला वातावरण बनाउथ्यो । दललाई चुनावमा सहभागी हुन प्रोत्साहित गर्दथ्यो । निर्वाचनको अनिवार्य सर्तका रूपमा रहेको निर्भयताको वातावरण बनाउथ्यो । लुटिएका हतियार फिर्ता ल्याउँथ्यो होला । जेलबाट भागेका कैदीबन्दीलाई फेरि फिर्ता ल्याउँथ्यो होला । तर, अहिले के भइरहेको छ ? संवादको सट्टा निषेध, घृणा, मिडिया ट्रायल, विभिन्न प्रकारका हल्ला, विभिन्न राजनीतिक दलविरुद्धका षड्यन्त्र । प्रतिस्पर्धाको सट्ट धम्की, बहसको सट्टा मुद्दा, दलका नेतामाथि स्थानहद, निषेध । यही हो चुनावको वातावरण बनाएको ? मतदानको स्वतन्त्रता सुरक्षित हुन्छ कि दबाब र आतंक बढ्छ यस्ता कुराले ? जनताले चाहेको कुरा स्पष्ट छ– लोकतन्त्र होस्, लोकतान्त्रिक प्रणाली होस्, लोकतन्त्रमा लोकतान्त्रिक विधिद्वाारा शान्तिपूर्ण वातावरणमा निर्वाचन होस्, साँचो प्रतिस्पर्धा होस्– हाम्रो भनाइ यही हो । डर, दबाब र प्रतिशोधको छायाबाट मुक्त चुनाव हुँदा बहुमत ल्याउने ल्याकत भएको एमाले चुनावबाट भाग्छ भन्ने कसैले नसोचे हुन्छ । तर, अहिले चुनाव हुँदै छ र ? होइन, चुनाव हुँदै छैन । चुनावको कुरा मात्रै भइरहेको छ, देशलाई अलमल्याउनका लागि । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: शनिबार, मंसिर २७, २०८२  १५:३४
प्रतिक्रिया दिनुहोस्