काठमाडौं । राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले देश ‘असंवैधानिक’ सरकारको चपेटामा परेको बताएका छन् ।
शनिबार (मंसिर २७) भक्तपुरमा नेकपा (एमाले)को ११औँ महाधिवशेन उद्घाटन समारोहमा पार्टी प्रतिनिधिका रूपमा पुगेका भट्टले सरकारले ‘असंवैधानिक’ रूपमा संसद् विघटन गरेर देशलाई र संविधानलाई संकटमा राखेको बताए ।
“हरेक सरकार बनेपछि पहिलो प्राथमिकता जनजीविकामा हुन्छ । यो सरकार बनेपछि जनजीविकाका सवालमा प्रवेश गरेन, पहिलो निर्णय नै संसद् विघटनबाट सुुरु गर्यो,” उनले भने, “नाम त जेनजी आन्दोलन भनियो, तर दक्षिण मात्र होइन, सात समुद्रपारिको मित्रले पनि हामीलाई तिमीले हामीले भनेको मनेनौ भने तिम्रा निर्वाचित सरकार, निर्वाचित संसद् र सबै अंगहरू ध्वस्त पारिदिन सक्छौँ भन्ने रहेछ ।”
उनले प्रमुख पार्टीले शासकीय कमजोरी कहाँ भयो भनेर समीक्षा गर्न आवश्यक रहेको बताए । एमालेलाई पनि महाधिवेशनबाट समीक्षासहित निस्कन उनले सुझाव दिए ।