site stats
बाह्रखरी :: Baahrakhari
विदेश
युरोपेली संघले गर्‍यो रुसको २५० अर्ब डलरबराबरको सम्पत्ति अनिश्चितकाललाई ‘फ्रिज’

काठमाडौं । युरोपेली संघ (ईयू)ले युद्धका कारण युक्रेनमा भएको क्षतिको क्षतिपूर्ति गर्ने सर्त राख्दै रुसको जफत गरिएको २५० अर्ब अमेरिकी डलरबराबरको सम्पत्तिलाई अनिश्चितकालका निम्ति स्थिर (फ्रिज) गरेको छ । अब यो सम्पत्ति यथावत् अवस्थामा रहनेछ ।

युरोपमा रहेको रुसी सम्पत्ति अब आवश्यक नपरेसम्मका निम्ति फ्रिज अर्थात् जफत अवस्थामा राख्न सकिनेछ । यसनिम्ति अब प्रत्येक ६ महिनामा पुनः मतदान गर्नुपर्ने बाध्यता नरहने निर्णय गरिएको छ । हाल ईयूको अध्यक्षता सम्हालिरहेको डेनमार्कले यो निर्णयको घोषणा गरेको हो ।

२७ राष्ट्र सम्मिलित यो समूहको निर्णयलाई रुसका मित्रराष्ट्र हंगेरी र स्लोभाकियाले पनि रोक्न सकेनन् । उनीहरूले उक्त संकल्प प्रस्ताव स्वीकार गर्नुअघि विरोध जनाएका थिए । तर, २५ राष्ट्रले बहुमतका आधारमा यसलाई पारित गरे । 

यसअघि, ईयूको यो प्रयासप्रति रुसी केन्द्रीय बैंकले मस्कोस्थित मध्यस्थता अदालतमा मुद्दा दायर गर्ने चेतावनी दिएको थियो ।
यो निर्णय ईयू सन्धिको धारा १२२ अन्तर्गत लिइएको हो । त्यसमा आपत्कालीन अवस्थामा विशेष कदम चाल्न सकिने व्यवस्था छ ।

युरोपेली आयोग सन् २०२२ मा युक्रेनमाथि आक्रमणपछि जफत गरिएका रुसका करिब २०० अर्ब युरोबराबरको रकम उक्त देशमा सहयोगका निम्ति प्रयोग गर्न सकियोस् भन्ने चाहन्छ ।

ईयूका अनुसार, यो योजनाअन्तर्गत ‘युरोक्लियर’ले उक्त रकम ईयूलाई ऋणका रूपमा उपलब्ध गराउनेछ । ईयूले त्यही रकम युक्रेनलाई सहायता दिनेछ । रुसले युद्धमा भएको क्षतिको क्षतिपूर्ति गरेपछि मात्र युक्रेनले यो रकम फिर्ता गर्नेछ ।

यो समय बेल्जियमस्थित संस्था युरोक्लियरले जफत गरिएका सम्पत्तिको संरक्षण, मर्मतसम्भार र व्यवस्थापनको जिम्मेवारी सम्हालिरहेको छ । बेल्जियमले रुसी सम्पत्तिलाई बन्धक बनाउँदा वा बिक्री गर्दा उत्पन्न हुन सक्ने जोखिमबारे आफ्नो चिन्ता व्यक्त गरिसकेको छ । यस सन्दर्भमा उसले सहयोगी ठूला राष्ट्रसँग सुरक्षाको ग्यारेन्टीको माग पनि गरेको छ ।

हंगेरीले यो निर्णयलाई ‘गलत कानुनी आधारमा लिइएको अभूतपूर्व कदम’ भन्दै आलोचना गरेको छ ।

रुसले आफ्नो सम्पत्तिलाई गैरकानुनी रूपमा हडप्ने षड्यन्त्र रचिएको आरोप लगाएको छ । यो प्रयास नरोकिएन बेल्जियमविरुद्ध अदालतमा मुद्दा दायर गर्ने रुसले चेतावनी पनि दिएको छ । एपीबाट ।

प्रकाशित मिति: शनिबार, मंसिर २७, २०८२  ११:२२
प्रतिक्रिया दिनुहोस्