काठमाडौं । अमेरिका बसोबास गर्ने सपना देख्ने धेरै छन् । यही सपना पूरा गर्न राष्ट्रपति डोनाल्ड ट्रम्पले औचारिक रूपमा ‘ट्रम्प गोल्ड कार्ड’ नयाँ भिसा कार्यक्रम सुरु गरेका छन् । यो लगानी भिसा हो । यसैमार्फत इच्छुक व्यक्तिले सिधै अमेरिकी नागरिकता प्राप्त गर्ने बाटो छनोट गर्न सक्छन् ।
राष्ट्रपति ट्रम्पले आफ्नो प्रशासनको नयाँ ‘गोल्ड कार्ड’ भिसालाई अमेरिकामा आप्रवासनको अधिकार चाहने तर १० लाख डलर तिर्न सक्षम र इच्छुक विदेशीका लागि छिटो बाटोका रूपमा प्रचार गरिरहेका छन् ।
भिसा आवेदन गत बुधबार दिउँसोदेखि खुला भएको छ । सरकारी वेबसाइटका अनुसार गोल्ड कार्डकाका लागि प्रक्रिया गर्ने आवेदकले कागजात पेस गरेपछि केही हप्तामै पूरा हुन सक्नेछ ।
ट्रम्पले गत फेब्रुअरीमा ‘गोल्ड कार्ड’ योजना उद्घाटन गरेका थिए । यो योजनालाई धनाढ्य विदेशीका लागि कानुनी बसोबास सुनिश्चित गर्ने छोटो बाटो तथा सरकारी राजस्व बढाउने माध्यमका रूपमा प्रस्तुत गरिएको छ । समाचारअनुसार यो शब्द ‘ग्रीन कार्ड’का आधारमा निर्माण गरिएको हो, जसले गैरनागरिकलाई अमेरिकामा बसोबास र काम गर्ने अधिकार प्रदान गर्छ ।
“सबै रकम अमेरिकी सरकारमै जान्छ, यो ठूलो रकम हुन सक्छ,” ट्रम्पले गोल्ड कार्डबारे भनेका छन्, “यो ग्रिन कार्डजस्तै हो । तर, यसमा ग्रिन कार्डभन्दा पनि ठूलो फाइदा छ ।”
कार्यक्रमअन्तर्गत कम्पनीहरूले आफ्ना कामदारका लागि २० लाख डलर मूल्यको गोल्ड कार्ड प्राप्त गर्न सक्छन् भने ५० लाख डलरको प्लाटिनम कार्डले विदेशीलाई अमेरिकामा २७० दिनसम्म बस्न अनुमति दिन्छ । र गैरअमेरिकी आयमा संघीय कर लाग्दैन ।
स्वतन्त्र नीति अनुसन्धान समूह ‘इकोनोमिक इनोभेसन ग्रुप’का सीईओ जोन लेटियेरी भन्छन्, “यो योजना राजस्वको महत्त्वपूर्ण स्रोत बन्न सक्छ ।”
तर, उनको भनाइमा, लागत महँगो भएकाले गोल्ड कार्ड भिसा ‘विशेष छुट वा लक्षित सेवा’ (निस–प्रोग्राम) हुन सक्छ । यद्यपि, यसले सीपयुक्त कामदार वा उद्यमीलाई अमेरिका तान्न मद्दत गर्छ ।
गोल्ड कार्ड कार्यक्रमले कसरी काम गर्छ ?
मूलतः यो ट्रम्प प्रशासनले छिटो प्रक्रिया प्रदान गरेको ग्रिन कार्ड हो । सरकारी वेबसाइटका अनुसार, सफल आवेदकले ईबी–१ वा ईबी–२ भिसा प्राप्त गर्छन्, जुन रोजगारीमा आधारित ग्रिन कार्ड हुन् । व्यक्तिगत गोल्ड कार्डका लागि आवेदकले अमेरिकाको गृह सुरक्षा विभागलाई १५ हजार डलर (फिर्ता नहुने), अन्तर्वार्तासहितको छानबिन प्रक्रिया पूरा गर्ने र छानबिनपछि अमेरिकी सरकारलाई १० लाख डलर बुझाउने काम गर्नुपर्छ ।
कम्पनीका लागि प्रतिकामदार २० लाख डलर आवश्यक पर्छ । साथै, आवेदकले १५ हजार प्रोसेसिङ शुल्क र एक प्रतिशत वार्षिक मेन्टेनेन्स शुल्क तिर्नुपर्छ । कम्पनीहरूले गोल्ड कार्ड स्थानान्तरण गर्न पाँच प्रतिशत शुल्क तिर्नुपर्ने प्रावधान पनि छ ।
उदाहरणका लागि, गोल्ड कार्डवाहक अमेरिकी नागरिक बनेपछि कार्ड स्थानान्तरण गर्न सकिन्छ ।
ट्रम्प प्रशासनका अनुसार, गोल्ड कार्ड प्रक्रिया केही हप्तामै पूरा हुन्छ । सामान्य ग्रिन कार्ड लिन आठ महिना देखि ३ वर्षसम्म लाग्छ ।
ट्रम्प गोल्ड कार्ड ईबी–५ भिसाबाट कसरी फरक छ ?
गोल्ड कार्डले सन् १९९० मा विदेशी लगानी आकर्षित गर्न बनाइएका ईबी–५ भिसालाई प्रतिस्थापन गर्ने लक्ष्य राखेको बताइएको छ ।
ईबी–५ भिसाअन्तर्गत आवेदकले कम्तीमा १० लाख डलर लगानी गरी कम्तीमा १० जनालाई रोजगारी सिर्जना गर्नुपर्छ । तर, गोल्ड कार्ड भिसाका लागि दुवै आवश्यक पर्दैन ।
ईबी–५ कार्यक्रम जटिलता र ठगी जोखिमका कारण आलोचित छ । केही वर्षअघि बर्मोन्टमा बायोटेक परियोजनाका नाममा सयौँ आवेदकको पैसा दुरुपयोग गरिएको घटना सार्वजनिक भएको थियो । ईबी–५ भिसाको प्रोसेसिङ समय पनि ६ वर्ष जति लामो हुन्छ, जुन अमेरिकी आप्रवासन प्रणालीकै सबैभन्दा लामो प्रतीक्षाको समय हो ।
ट्रम्पले नयाँ कार्यक्रमले एमआईटी र हार्वर्डजस्ता संस्थाबाट स्नातक उपाधिप्राप्त विदेशी विद्यार्थीलाई अमेरिका राख्न मद्दत गर्ने बताएका छन् ।
गोल्ड कार्डवाहक नागरिक बन्न सक्छन् ?
अमेरिकी वाणिज्यसचिव हावर्ड लुटनिकका अनुसार, गोल्ड कार्ड प्राप्तकर्ता नागरिकताको मार्गमा हुन्छन् । उनका अनुसार छानबिन पास गरेपछि पाँच वर्षपछि गोल्ड कार्ड पाउनेहरू नागरिकता आवेदनका लागि योग्य हुन्छन् । ग्रिन कार्डवाहक पनि सामान्यतया पाँच वर्षपछि नागरिकताका लागि आवेदन दिन सक्छन् । र, कामदार नागरिक बनेपछि कम्पनीले नयाँ कर्मचारीलाई गोल्ड कार्ड स्थानान्तरण गर्न पाउनेछन् ।
कार्यक्रमले अमेरिकालाई कति राजस्व दिन सक्छ ?
ट्रम्पले यसबारे कुनै जानकारी दिएका छैनन् । तर ‘इकोनोमिक इनोभेसन ग्रुप’का लेटियेरीका अनुसार, कार्यक्रमले वार्षिक अर्बौं डलर राजस्व संकलन सक्छ । वार्षिक १० हजार गोल्ड कार्ड जारी भएको खण्डमा १० वर्षमा एक खर्ब डलरसम्म राजस्व उठ्न सक्छ ।
ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ‘ट्रुथ’मा लेखेका छन्, “ट्रम्प गोल्ड कार्ड आइसक्यो । अब योग्य र जाँचिएका मानिसले सिधै अमेरिकी नागरिकता पाउन सक्छन् । अर्थात् यदि कुनै व्यक्तिले आवश्यक सर्त पूरा गर्छ भने, यो गोल्ड कार्डले अमेरिकामा बस्ने र भविष्यमा नागरिकता लिने अवसर दिन्छ ।”
यस घोषणासँगै अमेरिकाले विश्वभरका प्रतिभा र ठूला लगानीकर्तालाई आकर्षित गर्ने यो नयाँ मोडल पूर्ण रूपमा सक्रिय गरेको छ । ट्रम्पको यो पहलले विदेशी प्रतिभालाई लामो समयसम्म राख्न चाहने कम्पनीका लागि पनि राहत ल्याएको छ ।
अहिलेसम्म वेबसाइटमा आवेदनको कुनै डेडलाइन उल्लेख गरिएको छैन । आवेदन भने खुलिएको छ । तर, यो वर्षभरि खुला हुनेछ वा वा सीमित समयका लागि मात्र हो भन्ने स्पष्ट छैन ।