काठमाडौं । नेकपा (एमाले)का स्थायी कमिटी सदस्य एवं पूर्वमन्त्री कर्णबहादुर थापाले कुनै एक व्यक्तिको आंकाक्षामा पार्टी समाप्त गर्न नहुने बताएका छन् । एमालेको ११औँ महाधिवेशन सुरु हुने अघिल्लो दिन शुक्रबार (मंसिर २६) ईश्वर पोखरेल समूहले काठमाडौंमा आयोजना गरेको युवा भेलामा उनले यस्तो बताएका हुन् ।
“हाम्रो शान्तिको लोटा फुटाउन खोजियो भने उदण्डहरूको घैँटो फुट्न सक्छ । यो कुरा हेक्का राख्न जरुरी छ । बलपूर्वक विचारमाथि कसैले विजय प्राप्त गर्न खोज्छ भने हामी त्यो कुरा स्वीकार गर्दैनौँ,” थापाले भने ।
आफूहरूले एमालेभित्र अनेक कालखण्डमा विभिन्न भूमिका महसुस गरेको र देखेको उनले बताए । आफूहरूले एमालेमा परिवर्तन चाहेको उनको भनाइ थियो ।
“जनताको बहुदलीय जनवादको भावनाअनुसार यो पार्टी चलोस् भन्ने चाहेका छौँ,” उनले भने, “पार्टीभित्र आधिकारिक र अनाधिकारिक भन्ने हक कसैलाई छैन ।”