काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले अब राजनीतिक नेतृत्वमा युवालाई ल्याउनुपर्ने बताएका छन् । शुक्रबार ईश्वर पोखरेल पक्षले काठमाडौंमा आयोजना गरेको युवा भेलालाई सम्बोधन गर्दै उनले पार्टीमा युवाको महत्व बढेको बताए ।
“यस पटक केन्द्रीय कमिटीमा २० प्रतिशत युवा ल्याउन हामी लडिरहेका छौँ,” उपाध्यक्ष पाण्डेले भने, “युवाको शक्तिद्वारा र पाकाहरूको अनुभवद्वारा यो पार्टीलाई फेरि जवान बनाएर अगाडि बढौँ । अहिलेको समयको आवश्यकता यही हो ।”
युवाको ताकत र शक्ति नभई अब पार्टी अगाडि बढ्न नसक्ने उनको भनाइ छ । अहिले धेरै ठूलो संख्यामा युवा प्रतिनिधि भएर ११औँ महाधिवेशनमा आएको उनले बताए ।
“यो कुरालाई यथार्थमा परिणत गर्न युवाको सहभागिता चाहिन्छ, बल चाहिन्छ र अनि हामी परिवर्तन गरेर छोड्छौँ,” उनले भने ।
अहिले देश र पार्टी दुवै संकटमा रहेको उपाध्यक्ष पाण्डेको भनाइ छ । पार्टीको लोकतान्त्रिक प्रक्रियालाई संस्थागत गरेर मात्रै यो लडाईंलाई जित्न सकिने उनले बताए ।