site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
गोकुल बास्कोटा भन्छन्– गुट उपगुटमा म लाग्दै आएको हो
गोकुल बास्कोटा । फाइल तस्बिर ।

काठमाडौं । नेकपा (एमाले)का नेता गोकुल बास्कोटाले पार्टीको ११औँ महाधिवेशनमा आफू सचिव पदको आकांक्षी रहेको बताएका छन् । महाधिवेशनका निम्ति आफूले छुट्टै खालको तयारी गरेको उनले बताए ।

“गुट उपगुट आज देखिएको हैन, जुन दिनदेखि कम्युनिस्ट पार्टी बन्यो त्यही बखत यो गुट उपगुट सुरु भएको हो,” उनले बाह्रखरीसित भने, “हामी यो गुट उपगुटमा अभ्यस्त भइसकेका छौँ । यो भनिरहने, सुनिरहने, व्यहोरिरहने र भोगिरहने कुरा हो ।” 

पार्टीमा सबैमाथि गुटबन्दीको आरोप लागिरहेको उनले बताए । उनले भने, “गुट उपगुटमा म पनि लाग्दै आएको हो । अहिले महाधिवेशनमा म पदाधिकारी तहमा उठ्ने हो । गुटबन्दीको अन्त्य नै व्यक्तिगत स्वतन्त्रता हो । कार्यकर्ताको फैसला शिरोपर गरेर हिँड्ने हो ।”

‘जेनजी’ आन्दोलनको मर्मअनुरूप पार्टीमा पनि उक्त पुस्तालाई उचित स्थान दिइनुपर्नेमा उनले जोड दिए । पदाधिकारी तहमै जेनजीलाई स्थान दिनुपर्ने उनले बताए ।

“आफूभन्दा सिनियर, जुनियर, समकालीन र विभिन्न थरीका प्रतिनिधि आउनुभएको छ, उहाँहरूको फैसला मानेर जाने हो नि,” उनले भने, “मेरो सैद्धान्तिक मत के हो भने दुवै टिमले कम्पिटिसन गरौँ । तर, पदाधिकारीमा प्यानलबन्दी नगरौँ भन्ने मेरो आग्रह हो । 

नेतृत्वले सबैलाई मिलाएर लैजान सके गुटबन्दी त्यसै अन्त्य हुने उनले टिप्पणी गरे । नेतृत्वले ‘मेरा/तेरा’ नभनी अगाडि बढ्दा सहमति र सहकार्यबाटै यो विषयको अन्त्य हुने उनले बताए ।

उनले भने, “एउटाले गुट बनायो भने अर्कोले त्यसै बनाइहाल्छ । एउटाले मलाई राखेन भने अर्कोको साथ त लिन म खोलिहाल्छु नि !”  

उनले प्यानलबाजी बन्द गरेर मध्यविन्दु खोजेर अगाडि बढ्न नेतृत्वलाई आग्रह समेत गरे । 

जेनजी प्रदर्शनका क्रममा भदौ २३ गतेको घटनाको जिम्मा तत्कालीन सरकारले लिनुपर्ने उनले बताए । “एमाले अध्यक्ष केपी शर्मा ओली सरकारमा हुँदैखेरि २३ गतेको घटना भएको हो,” बास्कोटाले भने, “उहाँले आफूले गोली नचलाए पनि सरकारमा रहेका नाताले नैतिक रूपमै जिम्मा लिन्छु भन्नुपर्थ्यो ।”

 

 

 

प्रकाशित मिति: शुक्रबार, मंसिर २६, २०८२  १४:१४
प्रतिक्रिया दिनुहोस्