site stats
बाह्रखरी :: Baahrakhari
कला
अमेरिका पुगेर धुर्मुसले के भने ?

काठमाडौं । हास्य कलाकार सीताराम कट्टेल (धुर्मुस)ले आफू अमेरिका पलायन नभएको बताएका छन् । छोरीको उपचारका लागि आफू र श्रीमती (कुञ्जना घिमिरे) अमेरिका आएको उनले दाबी गरेका छन् । 

तीन वर्षअगाडि अमेरिकाको ‘एक्स्ट्रा अर्डिनरी’ भिसाका लागि आबेदन दिएको र त्यसको दुई वर्षपछि उक्त भिसा पाएको उनले बताएका छन् । 

छोरीको उपचार गराउन सहज होस् भनेर ‘एक्स्ट्रा अर्डिनरी’ भिसामा आवेदन दिएको उनले प्रष्ट पारेका छन् । “हामी छोरीको ज्यान जोखिममा नपरोस् भनेर अहिले अमेरिका आउन वाध्य बन्यौँ । यो वाध्यतालाई सबैले बुझिदिनुहुनेछ भन्ने आशा गर्छु,” सीताराम आफ्नो फेसबुक पेजमा लेख्छन् । 

उनले छोरीको उपचारको प्रक्रिया सुरु भएको बताएका छन् । “यो कार्डमा आएपछि इन्सुरेन्स/मेडिकेडमार्फत कम आम्दानी भएका बाबुआमाका बच्चाका लागि निःशूल्क उपचार सुविधा हुनेरहेछ,” उनले भनेका छन् । 

छोरीको उपचारपछि नेपाल फर्किने उनले प्रष्ट पारेका छन् । छोरीको उपचारपछि नेपाल फर्किएर अब कलाकारितामै रम्न चाहेको उनले बताएका छन् । 

“रंगशालाको उल्झनबाट मुक्ति नपाउँदासम्म हामीले नेपालमा न काम गरेर खान सक्ने, न चैनसित निदाउन सक्ने अवस्था रह्यो,” उनले लेखेका छन्, “हाम्रो यति चाहना छ, रंगशालाको समस्या समाधान भएर हामीले नेपालमै कलाकारिता गरेर बाँच्नसक्ने अवस्था बनोस् ।”

प्रकाशित मिति: शुक्रबार, मंसिर २६, २०८२  १२:१६
प्रतिक्रिया दिनुहोस्