site stats
बाह्रखरी :: Baahrakhari
कला
‘रमिताको पिरती’ र ‘आ बाट आमा’को गीत सार्वजनिक, ‘झरिपछिको इन्द्रेणी’को गीतलाई १० लाख भ्युज

काठमाडौं । चलचित्र ‘रमिताको पिरती’को रोमान्टिक गीत ‘तिमी भए काफी’ सार्वजनिक गरिएको छ । समीर श्रेष्ठको स्वर रहेको गीतमा सास्वतको संगीत छ । 

भिडियोमा चलचित्रका मुख्य कलाकार आना शर्मा र नवनायक तथा गायक समीर श्रेष्ठ फिचर्ड छन् । भिडियो थाइल्यान्डको रमणीय लोकेसनमा खिचिएको छ ।  

माघको २३ गतेबाट रिलिजमा आउन लागेको चलचित्र ‘रमिताको पिरती’लाई सुदिप्ताले निर्देशन गरेका छन् । चलचित्रमा आना शर्मा, धिरज मगर, समीर श्रेष्ठ, विनय श्रेष्ठ, गौमाया गुरुङ, पशुपति राई, थिन्ले लामोलगायत कलाकारको अभिनय छ ।

यसैबीच, चन्द्र पन्त निर्देशित ‘आ बाट आमा’को ‘सृष्टिकै पहिलो नाम’ पनि सार्वजनिक भएको छ । गीतमा शब्दरचना तथा संगीत बाबुल गिरीको छ । गायन रवि ओडको छ ।

गीतको भिडियोमा विपना थापा, पल शाह, प्रदीप रावत, सिम्रन पन्त, उषा उप्रेती, साइग्रेस पोखरेल, गजित विष्टलगायत छन् । 

चलचित्रमा निर्देशक पन्तकै कथा तथा पटकथा रहेको छ ।  विपना थापा, पल शाह, प्रदीप रावत, उषा उप्रेती, सिम्रन पन्त, साइग्रेस पोखरेल, गजित विष्टलगायतको मुख्य भूमिका छ । 

यो चलचित्र माघ १६ गतेबाट प्रदर्शनमा आउनेछ । 

यसैबीच, चलचित्र ‘झरिपछिको इन्द्रेणी’को गीतले २४ घण्टामा दश लाख भ्युज पाएको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको युट्युब च्यानलबाट आइतबार साँझ सार्वजनिक गरिएको गीत ‘आम नेपाली बुवा’बोलको गीतमा बालेनको र्‍याप छ । ओएसटी भनिएको र्‍यापको कोरसमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको कविता ‘कुन मन्दिरमा जान्छौ यात्री’ समावेश छ । 

‘आम नेपाली बुवा’मा र्‍यापसँगै शब्दरचना पनि बालेनको छ । कोरस गायन दीक्षा उप्रेतीको छ । 

अर्जुन घिमिरे ‘पाँडे’को निर्देशन रहेको ‘झरिपछिको इन्द्रेणी’ पुस ४ गतेबाट प्रदर्शनमा आउँदै छ । 

चलचित्रमा गणेश उप्रेती, रमेश उप्रेती, प्रकाश घिमिरे, दीपाश्री निरौला, प्रियाना आचार्य, बिमोचन दवाडी, जेसिका पोखरेललगायत कलाकारको अभिनय छ ।

 

प्रकाशित मिति: मंगलबार, पुस १, २०८२  ११:१४
प्रतिक्रिया दिनुहोस्