काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले महाधिवेशनको पूर्वसन्ध्यामा विभिन्न समाचारमाध्यमका सम्पादकसँग कुरा गर्दै सर्वोच्च अदालतले संसद् पुनर्स्थापना नगरेमा आफ्नो दल निर्णायक आन्दोलनमा जाने बताएका छन् ।
गत भदौ २३ र २४ गतेको आन्दोलनले जनताको लोकतन्त्र खोसिएको र यो सरकार गैरसंवैधानिक तवरले बनेकाले नेपालको संविधान र विगतमा सर्वोच्चले लिएका निर्णयका आधारमा संसद् पुनर्स्थापना हुनेमा आफू विश्वस्त रहेको बताए । तर, त्यसो हुन नसकेमा जुन बाटोबाट सरकार र संविधान खोसिएको थियो त्यही बाटोबाट फिर्ता ल्याउने दाबी गरे ।
“हैसियतबिनाको व्यक्तिबाट भएको असंवैधानिक संसद् विघटन खारेज हुनुपर्छ,” उनले जोड दिँदै भने ।
ओलीका अनुसार अहिलेको अवस्था सूर्यग्रहण लागेको वा आँधी, तुफान आएजस्तो अवस्था हो, जुन लामो जाँदैन ।
अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले आन्दोलनको समयमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई ‘किन बचाउनुपर्यो तिनीहरूलाई ?’ भनेको भिडियो आफूले प्राप्त गरेको दाबी गर्दै उनको मानवीयता कस्तो हो भन्ने प्रश्न पनि ओलीले गरे ।
एमालेको ११औं महाधिवेशनको पूर्वसन्ध्यामा आफ्नो धारणा सार्वजकि गर्ने क्रममा ओलीले एमालेको आन्दोलन हिंस्रक, गैरजिम्मेवार र अर्काको घर तथा सम्पत्ति जलाउन जाने तवरको नहुने तर निकै प्रभावशाली र जिम्मेवार आन्दोलन हुने बताए ।
जेनजी आन्दोलनले पुरानो सरकारलाई अपदस्थ गरेर नयाँ सरकार बनाएको भए तापनि त्यो सरकार नागपञ्चमीमा कुनै पण्डितले गोबर लगाएर टाँसेको नागकोभन्दा बढी हैसियत नभएको टिप्पणी ओलीको छ ।
“विभिन्न प्रकारको स्टन्टबाजी र चमत्कार देखाएर सरकारमा पुग्ने काम एमालेले गर्दैन, हामी गम्भीर ढंगले देशको निर्माण गर्ने बाटोमा छौं,” उनले प्रस्ट पारे । सुशीला कार्कीको सरकार फेद न टुप्पोको भएको र यसले नचाहिँदो ताउरमाउर देखाएको भन्दै वर्तमान सरकारको निन्दासमेत गरे ।
यो सरकारले निर्वाचित जनप्रतिनिधिलाई निलम्बित गर्ने र संसद् विघटन गर्ने म्यान्डेट कहाँबाट र कसरी पायो भन्ने प्रश्न गर्दै ओलीले भने, “जेनजी प्रतिनिधि र सरकारकाबीच हिजो भएको सम्झौता एक कलाविहीन नाटक हो ।”
“त्यो सम्झौतालाई हिजै जेनजीले नै च्यातिसकेका छन् । हामी त्यस्ता फजुल कागजलाई कुनै मान्यता दिँदैनौँ,” ओलीले स्पष्ट पारे ।
मंसिर २७, शनिबार भक्तपुरको सल्लाघारीमा उद्घाटन हुन गइरहेको महाधिवेशन एमाले सकियो भन्नेहरूका लागि गतिलो जवाफ हुने पनि उनको भनाइ थियो ।
“सबैको घर आगो लागेको, संसद् भवन, सर्वोच्च अदालत, सरकारी कार्यालय, प्रदेशका सभा भवन आदि सबै आगो लगाएको तीन महिना नपुग्दै एमालेले आफूलाई कसरी पुनर्संगठित गर्यो भन्ने विषयले सबैलाई चकित तुल्याउनेछ,” ओलीले भने ।
अहिले निर्वाचन आयोगमा दर्ता भएका १४३ दलमध्ये नेपाली कांग्रेस र नेकपा एमालेसँग बाँकी १४१ दल मिलेर प्रतिस्पर्धा गर्न आउन उनले चुनौतीसमेत दिए ।
हालै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भएको भेटघाटमा महत्त्वपूर्ण राजनीतिक संवाद भएको र त्यसको प्रतिफल जनताले चाँडै देख्ने पनि उनले बताए । “कतिपय कुराहरू सार्वजनिक हुन समय लाग्छ । तोरीको बीउ रोप्नेबित्तिकै मुना देखिन्छ । तर, बकुल्लाको बीउ रोपेको धेरै समयपछि मात्र अंकुराउँछ । हाम्रो वार्ताको प्रतिफल पनि बिस्तारै देखिनेछ ।”
आफूलाई हावा भरिएको भकुन्डोसँग तुलना गर्दै अध्यक्ष ओलीले भने, “मलाई जति बेस्सरी भुइँमा पछार्ने कोसिस गरिन्छ, म त्यति नै बलले उफ्रिन्छु ।”
उनको यो भनाई प्रधानमन्त्री सुशीला कार्की र उनीसँग मिल्न गएका एमालेकै केही नेताहरूको सन्दर्भमा थियो ।
“कार्कीजी र मेरा केही विरोधी साथीहरूको एउटै उद्देश्य छ, केपी ओलीलाई सक्काउने, जुन सम्भव छैन,” उनले भने ।
अहिलेको सरकारलाई घरभित्र पसेको उपद्रवी मुसासँग तुलना गर्दै ओलीले भने, “मुसा घरभित्र छिरेपछि थाङ्ना काट्न पनि सक्छ, सुटै काट्न पनि सक्छ । यो सरकार त्यस्तै हो । यसले केके गर्छ, के थाहा ?”