काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जेनजी र सरकारबीच भएको सम्झौता कलाविहीन भद्दा नाटक भएको टिप्पणी गरेका छन् ।
बिहीबार (मंसिर २५) काठमाडौंमा सम्पादकहरूसँगको संवादमा ओलीले वर्तमान सरकारले प्रणाली र व्यवस्थाबारे कुनै पनि प्रकारको सम्झौता गर्न नमिल्ने बताए । कुनै पनि प्रणाली र व्यवस्थाका बारेमा सम्झौता गर्ने म्यान्डेट यो सरकारले कहाँबाट पायो ? भन्दै उनले प्रश्न गरे ।
सरकार र जेनजीबीच भएको सम्झौता सोही ठाउँमा च्यातेर अस्वीकार भएको भन्दै ओलीले धेरै टिप्पणी गर्न आवश्यक नहुने तर्क गरे । उनले संसद पुनर्स्थापनाको विकल्प नभएको पनि बताए । वर्तमान सरकारले निर्वाचन गराउन नसक्ने जिकिर गर्दै संसद पुनर्स्थापना नै अन्तिम विकल्प भएको उनको भनाइ छ ।
यस्तो छ ओलीको भनाइ :
हिजो एउटा कलाविहीन नाटक भयो । त्यसमा धेरै भन्नुपर्छ र ? यो सरकारले कुनै पनि प्रणाली र व्यवस्थाका बारेमा सम्झौता गर्ने म्यान्डेट कहाँबाट पायो ? गोबर टाँसेको सरकारले कलाविहीन नाटक गर्यो नि । त्यहीँ अस्वीकार भयो नि । त्यहीँ च्यातिदियो नि । त्यसकारण त्यो कलाविहीन भद्दा नाटक हो । न्युज एजेन्सी नेपाल