site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
नेपाल जलवायु परिवर्तनले सिर्जना गरेका जोखिमको अग्रपंक्तिमा : प्रचण्ड
प्रचण्ड । फाइल तस्बिर ।

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पर्वत (हिमशृंखला)लाई प्रकृतिको अमूल्य धरोहर मानेर तिनको संरक्षण गर्न आवश्यक रहेको बताएका छन् । २३औँ विश्व पर्वत (माउन्टेन) दिवसका अवसरमा उनले यसले जल, वन, जैविक विविधता र लाखौँ मानिसको जीविकोपार्जनलाई आधार प्रदान गर्ने भन्दै संरक्षण गरिनुपर्नेमा जोड दिएका हुन् ।

उनले भनेका छन्, “जलवायु परिवर्तनका कारण हिमशृंखलाहरू तीव्र गतिमा पग्लिरहेका छन्, पहाड–पर्वतहरूको पारिस्थितिक प्रणाली असन्तुलित बन्दै गएको छ । यसको प्रत्यक्ष असर नेपालजस्ता अल्पविकसित राष्ट्रहरूमा बाढी, खडेरी, माटो क्षयीकरण र खाद्य असुरक्षाको रूपमा देखा परेको छ ।”

८० प्रतिशतभन्दा बढी भूभाग पर्वतीय र हिमालयको काखमा अवस्थित नेपाल जलवायु परिवर्तनले सिर्जना गरेका जोखिमको अग्रपंक्तिमा रहेको उनले उल्लेख गरे ।

“हिमनदी पग्लनु, नदीहरूको जलप्रवाहमा आएको अस्थिरता र करोडौँ मानिसहरूको जीवनमा पैदा भएको जोखिम आजको यथार्थ हो । अल्पविकसित राष्ट्रहरूले भोगिरहेको यो पीडा विकसित देशहरूको उच्च कार्बन उत्सर्जनको प्रत्यक्ष परिणाम हो, जुन जलवायु न्यायको प्रश्नसँग गाँसिएको छ,” उनले भनेका छन् ।

उनले अगाडि भनेका छन्, “जलवायु न्यायका लागि नेपालजस्ता राष्ट्रहरूको आवाजलाई अन्तर्राष्ट्रिय समुदायसम्म पुर्‍याउने दिशामा महत्त्वपूर्ण कदम साबित भएका छन् । तर, काम अझै पूरा भएको छैन ।”

पर्वत संरक्षण, जलवायु अनुकूलन र न्यूनीकरणका निम्ति आवश्यक कोष सुनिश्चित गराउन नेपालले निरन्तर अन्तर्राष्ट्रिय समुदायमा अपिल गर्दै आएको उनले उल्लेख गरे ।

प्रचण्डले अल्पविकसित राष्ट्रहरूको चासोलाई प्राथमिकतामा राखिनुपर्नेमा जोड दिए ।

प्रकाशित मिति: बिहीबार, मंसिर २५, २०८२  १२:२६
प्रतिक्रिया दिनुहोस्