site stats
बाह्रखरी :: Baahrakhari
विदेश
किशोरकिशोरीमा ध्यान विकेन्द्रीकृतको समस्या भयावह, अध्ययन भन्छ– सामाजिक सञ्जाल जिम्मेवार

काठमाडौं । ‘डिजिटल क्रान्ति’ योजनाविहीन प्रयोग बनिसकेको र यसको सिकार सबैभन्दा बढी किशोरकिशोरी रहेका देखिएको छ । 

विश्वभरि ‘अटेन्सन डेफिसिट हाइपर एक्टिभिटी डिसअर्डर’ (एडीएचडी)को समस्या बढ्दै जाँदा, डिजिटल उपकरणको बढ्दो प्रयोगले यसमा भूमिका खेलेको त छैन भन्ने प्रश्न उठ्न थालेको छ । 

यसको कारण पत्ता लगाउन अनुसन्धानकर्ताले १० देखि १४ वर्ष उमेर समूहका आठ हजारभन्दा बढी किशोरकिशोरीको अध्ययन गरेका छन् । अनुसन्धानकर्ताले उनीहरूलाई आफ्ना डिजिटल बानीबारे सोधेका थिए । ती बानीलाई गेमिङ, टीभी/भिडियो र सामाजिक सञ्जाल गरी तीन श्रेणीमा विभाजन गरेका थिए ।

सामाजिक सञ्जालमा टिकटक, इन्स्टाग्राम, स्न्याप च्याट, एक्स, मेसेन्जर र फेसबुकजस्ता एप समावेश गरिएको थियो । त्यसपछि उनीहरूले एडीएचडीका दुई मुख्य लक्षण, असावधानी र अति सक्रियतामा दीर्घकालीन परिवर्तनसँग यी प्रयोगको सम्बन्ध छ कि छैन भन्ने विश्लेषण गरेका थिए ।

अध्ययनबाट उनीको मुख्य निष्कर्ष थियो– सामाजिक सञ्जालको प्रयोग असावधानीको क्रमिक वृद्धिसँग जोडिएको थियो, गेमिङ वा भिडियो हेर्नुसँग त्यस्तो सम्बन्ध देखिएन । किशोरकिशोरीको एडीएचडीको आनुवंशिक जोखिम तथा उनीहरूका परिवारको आयलाई पनि ध्यानमा राख्दासमेत यी प्रवृत्ति यथावत् रहे ।

अनुसन्धानकर्ताले असावधानीले किशोरकिशोरीलाई बढी सामाजिक सञ्जाल प्रयोग गर्न प्रेरित गर्छ कि गर्दैन भनेर पनि परीक्षण गरेका थिए । तर, त्यस्तो केही देखिएन । 

डिजिटल मिडियाले ध्यानमा कसरी असर गर्छ भन्ने प्रक्रिया अझै स्पष्ट छैन । तर, अन्य स्क्रिन गतिविधिको नकारात्मक प्रभाव नदेखिएकाले स्क्रिनको सामान्य नकारात्मक असर वा सबै डिजिटल मिडियाले ‘डोपामिन हिट’ उत्पन्न गरी त्यसले किशोरकिशोरीको ध्यान बिगार्छ भन्ने धारणालाई उनीहरूले अस्वीकार गरेका छन् ।

उनीहरूका अनुसार सामाजिक सञ्जालले निरन्तर विचलन सिर्जना गर्छ । यस्तो विचलनले ध्यान केन्द्रित गर्न बाधा पुर्‍याउँछ । 

अर्कातर्फ, गेमिङ सीमित समयमा हुने हुनाले एकैपटकमा एउटा काम निरन्तर ध्यान केन्द्रित गर्नुपर्ने हुन्छ ।

संख्यात्मक रूपमा हेर्दा सामाजिक सञ्जालको असर धेरै ठूलो छैन । यसले सामान्य ध्यान भएको व्यक्तिलाई सीधै एडीएचडीको श्रेणीमा पुर्‍याउने खालको प्रभाव देखाएन । तर, यस्तो असावधानी सबैमा बढ्दै गयो भने धेरै मानिसले निदानको सीमा पार गर्न सक्छन् भन्ने निष्कर्ष निकालिएको छ ।

सैद्धान्तिक रूपमा, सबै किशोरकिशोरीमा सामाजिक सञ्जालको प्रयोग दैनिक एक घण्टा बढेमा एडीएचडी समस्या करिब ३० प्रतिशतले बढ्न सक्ने देखिन्छ । यद्यपि, निदान धेरै कारकमा निर्भर हुन्छ । तर, व्यक्तिगतस्तरमा सानो देखिने असरले पनि समग्र किशोरकिशोरीमा ठूलो प्रभाव पार्न सक्ने देखाउँछ ।

धेरै तथ्यांकले पछिल्लो एक वा दुई दशकमा सामाजिक सञ्जालको प्रयोग दैनिक कम्तीमा एक घण्टा बढेको देखाउँछन् । दुई दशकअघि सामाजिक सञ्जाल मुस्किलले अस्तित्वमा थियो । अहिले भने किशोरकिशोरीहरू दैनिक करिब पाँच घण्टा सामाजिक सञ्जालमै बिताउँछन् ।

सन् २०१५ मा ‘निरन्तर अनलाइन’ रहेको दाबी गर्ने किशोरकिशोरीको २४ प्रतिशत थिए । सन् २०२३ मा पुग्दा बढेर ४६ प्रतिशत पुगेको छ । सामाजिक सञ्जालको प्रयोग शून्यबाट बढेर दैनिक करिब पाँच घण्टासम्म पुग्दा यसले विगत १५ वर्षमा एडीएचडी निदानमा भएको वृद्धिको व्याख्या गर्न सक्छ ।

केहीले एडीएचडी भएका व्यक्तिहरूको संख्या बढ्नुको कारण बढ्दो जागरुकता र घट्दो सामाजिक ‘कलंक’लाई मान्छन् । यो आंशिक रूपमा सही हुन सक्छ । तर, यसले असावधानीमा भएको वास्तविक वृद्धिलाई अस्वीकार गर्दैन ।

त्यस्तै, केही अध्ययनले असावधानीका लक्षण नबढेको दाबी गरेका छन् । तर, ती अध्ययन प्रायः स्मार्टफोन प्रयोग गर्न अझै साना उमेरका किशोरकिशोरीमा वा स्क्रोलिङ संस्कृति व्यापक बन्नुअघि गरिएको समयावधिमा आधारित छन् ।

सामाजिक सञ्जालले असावधानी बढाउँछ र यसको प्रयोग पनि तीव्र गतिमा फैलिएको छ । अमेरिकामा धेरै सामाजिक प्लेटफर्ममा खाता खोल्न कम्तीमा १३ वर्षको हुनुपर्ने नियम छ । तर, यस्ता खालका प्रतिबन्ध छल्न सजिलो छ ।

यस मामिलामा अस्ट्रेलिया सबैभन्दा अगाडि देखिन्छ । बुधबार (१० डिसेम्बर, २०२५) देखि मिडिया कम्पनीले प्रयोगकर्ता १६ वर्ष वा सोभन्दा माथिका छन् भन्ने सुनिश्चित गर्नुपर्नेछ । अन्यथा, नियम उल्लंघन नगर्ने कम्पनीले ठूलो जरिवाना तिर्नुपर्नेछ । 

अब हेर्न बाँकी छ, यो कानुनले कस्तो प्रभाव पार्छ ? सम्भवतः विश्वका अन्य देशले पनि अस्ट्रेलियाको बाटो पछ्याउनुपर्ने अवस्था आउन सक्छ ।
 

 

 

प्रकाशित मिति: मंगलबार, मंसिर २३, २०८२  १६:५५
प्रतिक्रिया दिनुहोस्