विराटनगर । आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति नेपाली कांग्रेसमा मोरङका दुई क्षेत्रबाट उमेदवारका आकांक्षीका नाम सिफारिस गरिएको छ ।
मोरङ निर्वाचन क्षेत्र नम्बर–१ बाट डिगबहादुर लिम्बू, खड्ग फागो र दिव्या बस्नेतको नाम सिफारिस गरिएको छ । लिम्बू कांग्रेस मोरङका सभापति हुन् ।
फागो कांग्रेस कोसी प्रदेश समितिका सहमहामन्त्री हुन् । बस्नेत कांग्रेस महासमिति सदस्य हुन् । दुई पुरुष र एक महिला अनिवार्य सिफारिस गर्नुपर्ने विधानमा व्यवस्था छ ।
समानुपातिकतर्फ सीता कार्की र इन्दु चौधरीको नाम सिफारिस गरिएको छ । राष्ट्रियसभातर्फ ललित अधिकारीको सिफारिस गरिएको छ ।
मोरङ–१ बाट यसअघि लिम्बू प्रतिनिधिसभा सदस्य थिए । उनी जिल्ला समितिमा दोस्रो कार्यकालका निम्ति सभापतिको जिम्मेवारीमा छन् ।
मोरङ निर्वाचन क्षेत्र–३ बाट सर्वसम्मत रूपमा एकजनाको मात्र नाम सिफारिस गरिएको छ । उक्त क्षेत्रबाट डा. सुनील शर्माको एकल नाम प्रतिनिधिसभाको प्रत्यक्ष निर्वाचनका निम्ति सर्वसम्मत सिफारिस गरिएको हो ।
त्यहाँ ८२ प्रतिनिधिले एकल प्रस्ताव गरेका थिए । दोस्रो नाम नै प्रस्ताव नभएको क्षेत्रीय समितिले जनाएको छ ।
त्यहाँबाट समानुपातिकतर्फ गणेश कार्की र वसन्त भट्टराई (खुला), सूयर्माराज राई (आदिवासी जनजाति), अत्ताबुल मन्सुरी (मुस्लिम), पम्फा धिमाल (महिला) र रेखबहादुर तामाङ (आदिवासी जनजाति) गरी पाँचजनाको नाम सिफारिस गरिएको क्षेत्रीय सभापति गणेश खड्काले जानकारी दिए ।
राष्ट्रियसभातर्फ लोकप्रसाद संग्रौला, केशव निरौला, योगेन्द्रप्रसाद दाहाल र कमला अधिकारीको नाम सिफारिस गरिएको उनले बताए ।
अरू क्षेत्रका सम्भावित र आकांक्षी उमेदवारको नाम क्षेत्रीय समितिबाट क्रमशः सिफारिस भइरहेको जिल्ला सचिव मोदराज घिमिरेले जानकारी दिए ।
प्रदेश प्रतिनिधिको समेत रोहबरमा बैठक बसी क्षेत्रीय समितिहरूले नाम सिफारिस गरेको घिमिरेले बताए ।