काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले वैदेशिक रोजगार व्यवसायका बेथिति नियन्त्रण गर्न मातहत निकायलाई निर्देशन दिएकी छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा उनले श्रम मन्त्रालय, परराष्ट्र मन्त्रालय, कानुन मन्त्रालय र वैदेशिक रोजगार विभागका अधिकारीहरूसँग श्रम समस्याका विषयमा छलफल गर्ने क्रममा यस्तो निर्देशन दिएकी हुन् ।
यसै सन्दर्भमा उनले कुवेतमा अलपत्र परेका महिला कामदारको छिटो उद्धार गर्न पनि ताकेता गरिन् । सरकारले नीति नियम बनाउँदा वैदेशिक रोजगार व्यवसायी र दलालको मात्र लाभ नहेरी श्रमका लागि विदेश जाने आफ्ना नागरिकको सुरक्षालाई पहिलो प्राथमिकता राख्नुपर्ने उनको भनाइ थियो ।
विदेशमा गएर दुःख पाउने, ठगिने र सरकारले उद्धार गर्नुपर्ने अवस्था आउन नदिने गरी प्रणाली स्थापित गर्न पनि उनको निर्देशन छ । "म्यानपावर (व्यवसायी) मोटाउने काम मात्र नगरौँ । म्यानपावरलाई सचेत गराउनुपर्यो । अलपत्र पार्न भएन," प्रधानमन्त्रीले भनिन् ।
उनले वैदेशिक रोजगारीमा जानुअघि सम्बन्धित मुलुकको भाषा र कामको अभिमुखीकरण तथा तालिम लिएर मात्र जाने व्यवस्था कडाका साथ लागू गर्न समेत सरकारी अधिकारीहरूको ध्यानाकर्षण गराएकी छन् । "वैदेशिक रोजगारीमा जानेले पनि पढ्नुपर्यो । तालिम लिनुपर्यो । राज्यले कर लिन्छ भने सुरक्षित आप्रवासनको पनि सुनिश्चितता गर्नुपर्यो । सबै कुरा दलाललाई छाडिदिएर हुँदैन," उनले भनिन् ।
१० हजार रुपैयाँको भौचर लिएर लाखौँ उठाउने प्रवृत्ति पनि नियन्त्रण गर्न उनले निर्देशन छ । उनले भनिन्, "दलालले आफ्नो फाइदाका लागि उक्साउँछन् । गाउँदेखि सोझा मान्छेलाई लिएर आउँछन् । यता ठूलाबडाका म्यानपावर कम्पनी छन् । सबै मिलेर जनताको सोझोपनको फाइदा उठाएका छन् । यो अवस्था अन्त्य गर्न राज्यले नै काम गर्नुपर्छ ।"