site stats
बाह्रखरी :: Baahrakhari
कला
‘झरीपछिको इन्द्रेणी’को ट्रेलरमा समेटियो जेनजी आन्दोलन र नेताको भागाभाग

काठमाडौं । चलचित्र ‘झरीपछिको इन्द्रेणी’को ट्रेलर सार्वजनिक भएको छ । आइतबार एक कार्यक्रम गर्दै निर्माणपक्षले चलचित्रको ट्रेलर सार्वजनिक गरेको हो । 

चलचित्रको कथा सार बोल्ने ट्रेलरमा अभिभावकले सन्तानलाई दिने दबाब, छोराछोरीको विदेश मोह, अविश्वास, प्रतिशोध छ । 

चलचित्रमा भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन पनि समेटिएको छ । भ्रष्टाचार र कुशासनविरुद्ध भएको आन्दोलन र त्यसपछि भएको नेताको भागाभागलाई सिनेमाले समेटेको ट्रेलरले देखाएको छ ।

चलचित्र ‘झरीपछिको इन्द्रेणी’लाई हास्य कलाकार अर्जुन घिमिरे (पाँडे)को निर्देशन गरेका छन् । पुस ४ गतेबाट प्रदर्शनमा आउने यो चलचित्रबाट अभिनेता गणेश उप्रेती लामो समयपछि कमव्याक गर्दै छन् । 

‘झरीपछिको इन्द्रेणी’मा गणेशसहित रमेश उप्रेती, प्रकाश घिमिरे, दीपाश्री निरौला, सरिता गिरी, देशभक्त खनाल, निर्मल शर्मा, अर्जुन घिमिरे (पाँडे), प्रियना आचार्य (मुन्नी), अंशु महर्जनलगायत कलाकारको अभिनय रहनेछ । 

चलचित्रको एउटा गीतमा मोडल अञ्जली अधिकारी र कोरियोग्राफर प्रदीप लामा पनि विशेष भूमिकामा देखिनेछन् ।

निर्देशक घिमिरे स्वयंको कथा रहेको चलचित्रको पटकथा र संवाद गणेश कार्की र विशाल घिमिरेले लेखेका छन् । चलचित्रलाई बुद्ध थापाले खिचेका छन् ।

 

 

प्रकाशित मिति: आइतबार, मंसिर २१, २०८२  १४:४३
प्रतिक्रिया दिनुहोस्