काठमाडौं । युक्रेन र अमेरिकाका वरिष्ठ वार्ताकारहरूले संयुक्त रूपमा रुसलाई दीर्घकालीन शान्तिका लागि गम्भीर प्रतिबद्धता देखाउन आग्रह गरेका छन् । यो हप्ताको सुरुमा मस्कोमा भएको वार्ताले कुनै ठोस प्रगति हासिल गर्न नसकेपछि उनीहरूले यस्तो आग्रह गरेका हुन् ।
अमेरिकी विशेषदूत स्टिभ विट्कोफ र युक्रेनको राष्ट्रिय सुरक्षा परिषद्का सचिव रुस्तेम उमेरोभले फ्लोरिडामा दुई दिनसम्म रचनात्मक छलफलहरू गरेको एक विज्ञप्तिमा उल्लेख गरिएको छ ।
युद्ध अन्त्य गर्न तनाव कम गर्ने र हिंसा रोक्नका लागि कदम चाल्न रुसको तत्परतामा निर्भर रहेको विज्ञप्तिमा भनिएको छ ।
यसैबीच युक्रेनी अधिकारीहरूका अनुसार, रातभर रुसले युक्रेनविरुद्ध ६५३ वटा ड्रोन र ५१ वटा क्षेप्यास्त्र प्रहार गरेको थियो, जसमध्ये अधिकांश खसालिएका थिए । एउटा आक्रमणले किभ बाहिर रहेको फास्टिभ सहरको रेलमार्ग केन्द्रमा प्रहार गरेको थियो, जसले डिपो र रेलका रोलिङ स्टकमा क्षति पुर्याएको छ ।
युक्रेनको ऊर्जा मन्त्रालयले रुसी आक्रमणले आठ क्षेत्रका ऊर्जा सुविधाहरूमा प्रहार गरेको र त्यसका कारण बिजुली कटौती भएको जनाएको छ । मस्कोले हालका हप्ताहरूमा युक्रेनको ऊर्जा क्षेत्र र पूर्वाधारमाथि आक्रमण तीव्र पारेको छ ।
युक्रेनका विदेशमन्त्री एन्ड्री सिबिहाले भने, “रुसले कुनै पनि शान्ति प्रयासलाई बेवास्ता गरिरहेको र त्यसको सट्टा महत्त्वपूर्ण नागरिक पूर्वाधारहरूमा प्रहार गरिरहेको छ ।”
फ्लोरिडा वार्तामा विट्कोफ र उमेरोभले सम्भव हुने सुरक्षा प्रबन्धसम्बन्धी ढाँचामा सहमति जनाएको र स्थायी शान्ति कायम राख्न आवश्यक प्रतिरोध क्षमताहरूबारे छलफल गरेको उनीहरूको विज्ञप्तिमा उल्लेख भए पनि यसको विस्तृत विवरण दिइएको छैन ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँ जारेड कुश्नर पनि उपस्थित रहेको यो वार्ता शनिबार तेस्रो दिन पनि जारी रहने बताइएको छ ।
फ्लोरिडा वार्तामा युक्रेनको टोलीलाई यस हप्ताको सुरुमै ट्रम्पका सबैभन्दा वरिष्ठ विदेशी दूत र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच भएको भेटघाटबारे जानकारी गराइएको थियो ।