काठमाडौं । पाकिस्तानले चीनको अरुणाचल प्रदेशमाथिको दाबीलाई खुलेर समर्थन गरेको छ । पाकिस्तानी विदेश मन्त्रालयका प्रवक्ता ताहिर अन्द्राबीले डिसेम्बर ५ तारिखमा आयोजित पत्रकार सम्मेलनमा भने, “चीनको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डतासँग जोडिएका हरेक मुद्दामा पाकिस्तानको निरन्तर र पूर्ण समर्थन चीनको साथमा छ ।”
अरुणाचल प्रदेशबारे चिनियाँ विदेश मन्त्रालयले दिएका बक्तव्यहरूसँग सम्बन्धित प्रश्नको जवाफमा अन्द्राबीले यस्तो बताएका हुन् ।
चीनले नोभेम्बर २५ मा अरुणाचल प्रदेशलाई आफ्नो हिस्सा बताएको थियो । चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता माओ निङले जाङनान (अरुणाचल प्रदेश) चीनको हिस्सा रहेको भनेकी थिइन् ।
उनले चीनले अरुणाचल प्रदेशलाई कहिल्यै भारतको हिस्सा नमानेको बताइन् । यो प्रसंग भारतीय महिला पेमा वाङजोम थांगडोकसँग शांघाई एयरपोर्टमा गरिएको दुर्व्यवहारको आरोपसम्बन्धी प्रश्नमा आएको थियो । चीनले पेमासँग दुर्व्यवहार भएको आरोपलाई पनि अस्वीकार गरेको थियो ।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले अरुणाचल प्रदेश भारतको अभिन्न र अविभाज्य हिस्सा भएको बताएका छन् । चीनले जतिसुकै इन्कार गरे पनि सत्य नबदलिने उनको भनाइ छ ।
चीनले अरुणाचल प्रदेशलाई कहिल्यै भारतको राज्यको रूपमा मान्यता दिएको छैन । उसले अरुणाचललाई ‘दक्षिणी तिब्बत’को हिस्सा बताउँदै आएको छ ।
भारतले उसको तिब्बती इलाकामा कब्जा गरेर त्यसलाई अरुणाचल प्रदेश बनाएको चीनको आरोप छ । चीनले अरुणाचलका इलाकाहरूको नाम किन परिवर्तन गर्छ भन्ने अनुमान त्यहाँका एक शोधकर्ताको भनाइबाट लगाउन सकिन्छ ।
“जुन–जुन ठाउँको नाम बदलिएको छ, ती ठाउँहरू धेरै सय वर्षदेखि चीनको स्वामित्वमा थिए । चीनले यी ठाउँहरूको नाम बदल्नु पूर्णरूपमा जायज छ । पुरानो समयमा जाङनान (चीनमा अरुणाचललाई दिइएको नाम)का इलाकाहरूको नाम केन्द्रीय वा स्थानीय सरकारहरूले नै राख्ने गर्थे,” सन् २०१५ मा चाइनिज एकेडेमी अफ सोसियल साइन्सका शोधकर्ता झाङ योङपानले ग्लोबल टाइम्सलाई भनेका थिए, “ यसबाहेक, इलाकाका जातीय समुदायहरू जस्तै तिब्बती, लाहोबा, मोन्बाले पनि आफ्नो अनुसार ठाउँहरूको नाम परिवर्तन गरिरहन्थे ।”
झाङले अरुणाचलका इलाकाहरूको नाम परिवर्तन गर्ने अधिकार केवल चीनलाई हुनुपर्ने बताएका थिए ।
चीनले भन्यो– अरुणाचलकी महिलाको पासपोर्ट ‘अवैध’
चीनले अरुणाचलमा जन्मिएकी महिलाको पासपोर्टलाई ‘अवैध’ बताएको थियो । चिनियाँ अधिकारीहरूले राज्य चीनको हिस्सा भएको र उनले चिनियाँ पासपोर्टका लागि आवेदन दिनुपर्ने भनेका थिए ।
नोभेम्बर २१ मा बेलायतमा बस्ने भारतीय मूलकी महिला पेमा वाङजोम थांगडोक लन्डनबाट जापान जाँदै गर्दा शांघाई पुडोङ एयरपोर्टमा उनको तीन घण्टाको ट्रान्जिट थियो ।
शांघाई एयरपोर्टमा चिनियाँ अध्यागमन अधिकारीहरूले उनलाई घण्टौंसम्म रोकेका थिए । पेमाले अध्यागमन काउन्टरका अधिकारीहरूले उनको पासपोर्टलाई ‘इनभ्यालिड’ (अवैध) बताएको र अरुणाचल प्रदेश चीनको हिस्सा भएको बताएको आरोप लगाइन् ।
उनीसँग १८ घण्टासम्म सोधपुछ गरियोे । पेमाले प्रधानमन्त्री मोदी र अन्य वरिष्ठ अधिकारीहरूलाई यस सम्बन्धमा उजुरी पत्र लेखिन् । उनले यो व्यवहारलाई भारतको सार्वभौमसत्ता र अरुणाचल प्रदेशका नागरिकहरूको अपमान बताएकी छन् । यसपछि भारतले चीनसमक्ष घटनाको कडा विरोध दर्ता गराएको थियो ।
अरुणाचल प्रदेशलाई चीन किन यति महत्वपूर्ण मान्छ ?
अरुणाचल प्रदेश उत्तर–पूर्वी क्षेत्रको सबैभन्दा ठूलो राज्य हो । उत्तर र उत्तर–पश्चिममा तिब्बत, पश्चिममा भुटान र पूर्वमा म्यानमारसँग यसको सीमा जोडिएको छ । अरुणाचल प्रदेशलाई उत्तर–पूर्वी क्षेत्रको सुरक्षा कवच भनिन्छ ।
चीनको दाबी त पूरै अरुणाचलमा छ । तर, उसको मुख्य चासो तवाङ जिल्लामा छ । तवाङ अरुणाचलको उत्तर–पश्चिममा पर्छ, जहाँ भुटान र तिब्बतको सीमाहरू छन् ।
मेमा चीनले अरुणाचलका २७ ठाउँको नाम बदलेको थियो
चीनले यसै वर्ष मे महिनामा अरुणाचलका २७ ठाउँको नाम परिवर्तन गरेको छ । यसमा १५ पहाड, पाँच सहर, चार पहाडी दर्रा, दुई नदी र एउटा ताल समावेश छन् ।
चीनले यो सूची आफ्नो सरकारी वेबसाइट ग्लोबल टाइम्समा पनि जारी गरेको थियो । यी ठाउँहरूको नाम म्यान्डेरिनमा राखिएका छन् । विगत आठ वर्षमा चीनले अरुणाचलका ९० भन्दा बढी ठाउँको नाम परिवर्तन गरेको दाबी गरिएको छ ।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता जैसवालले चीनको नाम परिवर्तन गर्ने कार्यलाई मूर्खतापूर्ण भएको बताएका थिए । उनले भनेका थिए, “यसले कुनै फरक पर्दैन । अरुणाचल भारतको अटुट हिस्सा हो ।”
चीन अरुणाचलमा आफ्नो दाबी प्रस्तुत गर्ने प्रयासमा यसका सहर, गाउँ, नदी आदिको नाम परिवर्तन गर्दै आएको छ । यसका लागि उसले चिनियाँ, तिब्बती र पिनयिन नामहरू दिन्छ ।
सन् २०२३ मा भारतले अरुणाचलमा एउटा बैठक आयोजना गरेको थियो, त्यसबेला पनि चीनले यस क्षेत्रका केही नामहरू बदल्ने घोषणा गरेको थियो । यसअघि २०१७ मा दलाई लामा जब अरुणाचल आएका थिए, त्यसबेला पनि नाम परिवर्तन गर्ने कार्य गरिएको थियो ।
चीनले अरुणाचल प्रदेशलाई आफ्नो हिस्सा भन्दै ३० ठाउँको नाम परिवर्तन गरेको थियो । चीनको सिभिल अफेअर्स मिनिस्ट्रीले यसको जानकारी दिएको थियो ।
हङकङ मिडिया हाउस साउथ चाइना मर्निङ पोस्टका अनुसार, यसमध्ये ११ आवासीय इलाका, १२ पर्वत, चार नदी, एक पोखरी र एउटा पहाडहरूबाट निस्कने बाटो थिए । यी नामहरूलाई चिनियाँ, तिब्बती र रोमनमा जारी गरिएको थियो ।
चीनले अप्रिल २०२३ मा आफ्नो नक्सामा अरुणाचल प्रदेशका ११ ठाउँको नाम बदलेको थियो । यसअघि २०२१ मा चीनले १५ ठाउँको र २०१७ मा ६ ठाउँको नाम बदलेको थियो ।
के साँच्चै नाम बदलिन्छन् त ?
वास्तवमा, यसका लागि निश्चित नियम र प्रक्रिया छ । यदि, कुनै देशले कुनै ठाउँको नाम बदल्नु छ भने उसले संयुक्त राष्ट्रसंघ ग्लोबल जियोग्राफिक इन्फर्मेसन म्यानेजमेन्टलाई पहिले नै जानकारी दिनुपर्छ । यसपछि, संयुक्त राष्ट्रका जियोग्राफिक विशेषज्ञहरूले त्यस इलाकाको भ्रमण गर्छन् ।
यस अवधिमा प्रस्तावित नामको जाँच गरिन्छ । स्थानीय मानिसहरूसँग कुराकानी गरिन्छ । तथ्य सही भएमा मात्र नाम बदल्न स्वीकृति दिइन्छ र यसलाई रेकर्डमा समावेश गरिन्छ । द वायरबाट ।