site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
पदाधिकारीलाई नै स्थायी कमिटीको मान्यता दिँदा सचिव बन्न चाहने धेरै

काठमाडौं । नेकपा (एमाले)को पार्टी कार्यालय च्यासलमा नेता कार्यकर्ताको भीडभाड बढेको छ । बिहीबार कार्यालय प्रांगणमा भेटिएका नेताहरू भन्दैथिए, ‘महाधिवेशन लाग्यो ।’ 

११औँ महाधिवेशनको सम्मुखमा एमाले छ । मंसिर २७–२९ का लागि तोकिएको महाधिवेशनका प्रतिनिधि छनोट विवाद भने टुंगिन सकेको छैन । पार्टीका नेताहरू आफ्नो आकांक्षा प्रस्तुत गरिरहेका छन् ।

नेताहरूसँग लबिङ अतिरिक्त महाधिवेशन प्रतिनिधिसँग भोट माग्न पनि केही नेताहरू खुलेरै लागेका छन् । विशेषगरी केन्द्रीय कमिटी, पोलिट्ब्युरो र स्थायी कमिटीका कतिपय नेताहरूले सचिव पदमा दाबेदारी प्रस्तुत गर्न थालेका छन् । 

एमालेको विधानमा ७ जना सचिव रहने व्यवस्था छ । पदाधिकारीलाई नै स्थायी कमिटी मान्ने व्यवस्था विधानमा गरेपछि स्थायी कमिटीमा रहेका, स्थायी कमिटीमा जान चाहेका नेताहरू सचिव लड्ने गरी लबिङमा लागेका हुन् । 

अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्षबीच प्यानलगत प्रतिस्पर्धा हुने छलफल चलिरहँदा केही नेताहरू स्वतन्त्र उमेदवारी दिने गरी तयारी गरिरहेका छन् । 

“कुनै टिममा अटिएन भने स्वतन्त्र उमेदवारी भने पनि दिइन्छ । स्थायी कमिटीमा पदाधिकारी नै रहने भएपछि कि त छाड्नुपर्यो कि उठ्नुपर्यो नि,” एक पोलिट्ब्युरो सदस्यले भने । 

हाल स्थायी कमिटीमा २२ नेता छन् । भीम आचार्य, किरण गुरुङ, लालबाबु पण्डित, खगराज अधिकारी, काशिनाथ अधिकारी, रघुजी पन्त, कृष्णगोपाल श्रेष्ठ, भानुभक्त ढकाल, शेरधन राई, यामलाल कँडेल छन् ।

त्यसैगरी अग्निप्रसाद खरेल, राजन भट्टराई, सीताकुमारी पौडेल, डा. विन्दा पाण्डे, गोरखबहादुर बोगटी, कर्णबहादुर थापा, राजेन्द्रप्रसाद गौतम छन् । त्यस्तै, थममाया थापा, शेरबहादुर तामाङ, हिक्मत कार्की, मुकुन्द न्यौपाने, लिलानाथ श्रेष्ठ छन् । डा. शिवमाया तुम्बाहाम्फे भने राजदुत छिन् ।

कोसी प्रदेशका मुख्यमन्त्री समेत रहेका भीम आचार्य उपाध्यक्ष लड्ने तयारीमा छन् । पूर्वकानुनमन्त्री समेत रहेका नेता शेरबहादुर तामाङले अध्यक्ष ओलीतर्फबाट उपमहासचिवमा दाबेदारी प्रस्तुत गरेका छन् । 

स्थायी कमिटीका सदस्यहरू किरण गुरुङ, खगराज अधिकारी, भानुभक्त ढकाल, कर्ण थापा, हिक्मत कार्कीलगायतका नेता सचिव बन्ने लबिङमा छन् । 

त्यस्तै, पोलिट्ब्युरो कमिटीका सदस्यहरू पुरुषोत्तम पौडेल, आनन्दप्रसाद पोखरेल, गोकुल बाँस्कोटा, महेश बस्नेत, ठाकुर गैरे, सूर्य थापा, केन्द्रीय सदस्य निरज आचार्य सचिव पदको आकांक्षी हुन् । 

च्यासलमा भेटिएका एक नेता भन्छन्, ‘‘सबैभन्दा बढी आकांक्षा सचिव पदको देखिन्छ । आकांक्षी व्यवस्थापन गर्न महाधिवेशनले स्थायी कमिटी ब्युताउँला ।” 

एमालेमा पदाधिकारीको संख्या घटाईँदा अन्य पदमा पनि आकांक्षीको लर्को छ । भदौ २०–२२ भएको विधान महाधिवेशनले पदाधिकारीको संख्या घटाएको थियो । अध्यक्ष, तीन उपाध्यक्ष, एक महासचिव, तीन उपमहासचिव र ७ सचिव गरी १५ सदस्य रहने व्यवस्था विधानमा गरिएको छ ।

०७८ मा भएको महाधिवेशनले अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, तीन उपमहासचिव र ७ सचिव गरी १९ सदस्यीय पदाधिकारी चुनेको थियो ।
 

प्रकाशित मिति: शुक्रबार, मंसिर १९, २०८२  ०९:२६
प्रतिक्रिया दिनुहोस्