site stats
बाह्रखरी :: Baahrakhari
विदेश
ह्वाट्सएपमा एआई जोड्ने विषयमा मेटाविरुद्ध ‘एन्टिट्रस्ट’ अनुसन्धान सुरु

काठमाडौं । युरोपियन युनियन (ईयू)द्वारा फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएपको मूल कम्पनी मेटाविरुद्ध नयाँ ‘एन्टिट्रस्ट’ (एकाधिकार विरोधी) अनुसन्धान सुरु गरेको छ ।

यो अनुसन्धान ह्वाट्सएपमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई)का सुविधाहरू सुरु गर्ने वा जोड्ने विषयसँग सम्बन्धित छ । युरोपेली आयोगले बिहीबार, डिसेम्बर ४ मा यो जानकारी दिएको हो ।

यो कदमले ठूला प्राविधिक कम्पनीहरूको जेनेरेटिभ एआईमाथिको बढ्दो निगरानी र अनुसन्धानलाई दर्शाउने बताइएको छ ।

युरोपेली नियामकहरूको यो पछिल्लो कारबाहीलाई बिग टेकलाई सहयोग गर्ने र यसको बढ्दो प्रभावलाई सीमित गर्ने बीचमा सन्तुलन कायम गर्ने प्रयासको रूपमा हेरिएको छ ।

युरोपेली आयोगले मेटाले एआई प्रदायकहरूलाई ह्वाट्सएपको पहुँच दिन अपनाएको नयाँ नीतिमाथि अनुसन्धान सुरु गरेको हो । मेटाले यसै वर्षको सुरुमा आफ्नो ‘मेटा एआई’ प्रणालीलाई ह्वाट्सएप मेसेजिङ सेवामा समावेश गरेको थियो ।

ह्वाट्सएपको प्रतिक्रिया
यो पछिल्लो कारबाहीमा ह्वाट्सएपका एक प्रवक्ताले यी आरोपहरू निराधार भएको बताएका छन् । उनले यस प्रकारको प्रयोगको लागि नबनाइएकोले उनीहरूको प्लेटफर्ममा च्याटबोटहरूको वृद्धिले प्रणालीमा दबाब दिने बताए ।
च्याटबोट र भर्चुअल सहायकको रूपमा रहेको मेटा एआईलाई मार्च २०२५ देखि युरोपेली बजारहरूमा ह्वाट्सएपको इन्टरफेसमा जोडिएको छ ।

इटालीको एन्टिट्रस्ट एजेन्सीले पनि यस वर्षको जुलाईमा समानान्तर अनुसन्धान सुरु गरेको थियो । इटालीले मेटाले ह्वाट्सएपमा एआई जोडेर बजारमा आफ्नो बलियो उपस्थितिको फाइदा उठाएको आरोप लगाएको थियो ।

नोभेम्बरमा यो अनुसन्धानलाई थप अगाडि बढाइएको थियो । यसमा मेटाले प्रतिस्पर्धी एआई च्याटबोटहरूलाई मेसेजिङ प्लेटफर्ममा आउनबाट रोकेर बजारमा आफ्नो बलियो पकडको दुरुपयोग गरेको हो वा होइन भन्ने हेरिएको थियो । रोयटर्सबाट ।

प्रकाशित मिति: शुक्रबार, मंसिर १९, २०८२  ०८:००
प्रतिक्रिया दिनुहोस्