काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले भ्रष्टचारविरुद्धको कारबाही नरोकिने बताएकी छन् ।
'जेनजी' आन्दोलनको मर्मअनुसार सरकारले काम गरिरहेको र निर्वाचनको तयारीसँगै भ्रष्टाचारविरुद्धको कारबाही पनि सँगसँगै अघि बढिरहेको उनको भनाइ छ ।
नवगठित प्रगतिशील लोकतान्त्रिक पार्टीका अध्यक्ष सुदन किराँती नेतृत्वको प्रतिनिधिमण्डलसँग बुधबार (मंसिर १७) सिंहदरबारमा भएको भेटका क्रममा प्रधानमन्त्री कार्कीले यस्तो बताएकी हुन् । "हामी काम गर्न नै आएको होँ । जे सकेको गरिरहेका छौँ । युवाले बलिदानी दिएर गरेको विद्रोहको मर्मअनुरुप जसरी पनि हामीले काम गर्नुछ । यो वा त्यो बहाना गरेर पन्छिने छुट छैन । हामी रोकिँदैनौँ ।"
निर्वाचनको तयारी र सुशासनको जग बसाल्ने काम सरकारले सँगसँगै गरिरहेको कार्कीको भनाइ छ । भ्रष्टाचारका विषयमा छानबिन गर्न राज्यका स्थापित संरचनाहरू नै धेरै रहेको अवस्थामा थप अर्को आयोग नबनाइएको कार्कीले बताएकी उनको सचिवालयले जनाएको छ ।
"हामीकहाँ अख्तियार दुरुपयोग अनुसन्धान आयोग छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग छ । केन्द्रीय अनुन्धान ब्युरो छ । विगतमा ती निकायलाई प्रभावकारी रुपमा काम गर्न नदिइएको हुन सक्छ । दलीय प्रभाव परेको हुन सक्छ," कार्कीले भनिन्, "हामी कुनै प्रकारको दबाब दिँदैनौँ । ती निकायले पूर्ण स्वतन्त्रताका साथ काम गरुन् । प्रभावकारी ढंगले चल्न सकुन् । समानान्तररुपमा धेरै संरचना बनाएर मात्र पनि नतिजा आउने होइन । मूल कुरा काम गर्ने वातावरण दिनु अहिलेको आवश्यकता हो ।"
अहिले अख्तियारले पनि आफ्नो रफ्तार बढाइरहेको उनले बताइन् । "तपाईंहरूले समाचारमा पढिरहनुभएकै होला । केही ठूला भ्रष्टाचारका विषय र प्रभावशाली व्यक्ति जोडिएका काण्डमा सम्बन्धित निकायहरूले कदम चालेका छन्," उनले भनिन् ।
सबै क्षेत्रको अति दलीयकरण हुँदा पनि मुलुकले प्रगति गर्न नसकेको टिप्पणी पनि उनले गरिन् । "यहाँ किसानका नाममा पनि राजनीति भयो । किसानले मल पाउँदैनन् तर किसानको नेता देश-विदेश घुमिरहेको हुन्छ । मन्त्री-सांसद बनिरहेको हुन्छ । कार्यकर्ता अघिपछि लगाइरहेको हुन्छ । सहुलितको मल, बिउ, ऋणसमेत उसैले एकलौटी गरिरहेको हुन्छ," उनले भनिन्, "अरु व्यवसाय गर्नेहरूका नाममा पनि राजनीति भयो । आफ्नो पेसा-व्यवसाय गर्न छाडेर नेतागिरी गर्दै हिँड्ने प्रवृत्ति नै बनेको रहेछ । भ्रष्टाचारको जड यहाँ पनि छ । यस्तो वातावरणमा कसरी देशले उन्नति गर्छ ?"
यस्तो अवस्था अन्त्यका लागि नै युवाले आवाज उठाएको बताउँदै प्रधानमन्त्री कार्कीले आउँदो चुनावमा युवालाई नै संसदमा पठाएर परिवर्तन संस्थागत गर्नुपर्ने बताइन् ।
नेता किराँतीसहित प्रतिनिधिमण्डलका अन्य सदस्यले 'जेनजी'का आवाज सम्बोधन चाँडो हुनुपर्ने माग गरेका थिए । आन्दोलनकारी 'जेनजी'माथि एकातिर प्रहरीले धरपडक गरिरहेको र अर्कोतिर केही दलले घोषित रूपमै गुण्डा परिचालन गरेको भन्दै सरकारको ध्यानाकर्षण गराएका थिए । यदि कुनै दलले घोषित रुपमै गुण्डागर्दी गर्न संगठन खोलेर अघि बढ्छ भने 'जेनजी'ले पनि प्रतिकार गर्नुपर्ने अवस्था आउन सक्छ भनी उनीहरूले चेतावनी दिएका जनाइएको छ ।