site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कुलमानले भने- वैकल्पिक शक्तिहरू एकै ठाउँमा उभिऔँ

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्न सके मात्र मुलुकलाई समृद्धिको दिशामा अगाडि बढाउन सकिने बताएका छन् ।

बुधबार (मंसिर १७) उज्यालो नेपाल पार्टीको घोषणासभालाई सम्बोधन गर्दै घिसिङले मुलुकको समृद्धिको प्रमुख आधार नै भ्रष्टाचार नियन्त्रण भएको बताए । आगामी २१ फागुनपछि कस्तो सरकार बन्छ ? प्रश्न र चासो आम नागरिकमा रहेको उल्लेख गर्दै नयाँ विकल्पको रूपमा उज्यालो नेपाल पार्टीको स्थापना भएको दाबी गरे ।

परिवर्तनको नेतृत्व नयाँ पुस्ताका सक्षम व्यक्ति, संस्था र संगठित जनसमुदायले गर्न आवश्यक रहेको घिसिङको भनाइ छ । आम नागरिकको इच्छा र आकांक्षाका आधारमा वैकल्पिक शक्तिहरू एकताबद्ध भएर अघि बढ्नुपर्नेमा उनले जोड दिए । घिसिङले वैकल्पिक राजनीतिक शक्ति एक ठाउँमा नआएसम्म परिणाममुखी परिवर्तन सम्भव नहुने बताए । बिग्रिएको बेला गाली गर्ने तर अवसर आउँदा पछि हट्ने प्रवृत्तिले मुलुकको विकास सम्भव नरहेको उनको भनाइ छ ।

यस्तो छ घिसिङको भनाइ :

२१ फागुनपछि कस्तो सरकार आउँछ भन्ने धेरै नागरिकको चासो छ । त्यही कारण उज्यालो पार्टी जन्मेको हो । अब परिवर्तनको नेतृत्व नयाँ विकल्प दिनसक्ने व्यक्तित्वहरू, संस्थाहरू र पार्टीहरूले गर्नुपर्छ । यसको लागि आम जनसमुदायको इच्छा, आकंक्षाका आधारमा आपसमा एकताबद्ध भएर लाग्नुपर्छ भन्ने मेरो बुझाइ छ । अब सबै नयाँ र वैकल्पिक साथीहरू एक ठाउँमा आएर जस्तोसुकै परिस्थितिमा पनि एक ठाउँमा आएर परिवर्तनलाई परिणाममा बदल्नुर्छ । यो परिणाम दिनको लागि नयाँ र युवाको नेतृत्व आउनुपर्छ ।

बिग्रिएको बेला सबैले गाली गर्ने तर जुन बेला अवसर आउँछ त्यो बेला भाग्ने हो भने फेरि पनि परिवर्तन आउँदैन । यो परिवर्तनको लागि देशभित्र तथा देशबाहिर रहेका सम्पूर्ण नेपाली जनताले योगदान गर्नुपर्छ । एक/दुई जनाको योगदानले हुँदैन सबैले एकमत भएर लाग्नुपर्छ । मुलुकको विकास र समृद्धिका लागि सबै एकजुट भएर लागौँ भन्ने मेरो आह्वान हो ।

अहिले एकताका लागि केही साथिहरू लागिरहनुभएको छ । अब नेपाल समृद्ध हुन धेरै समय लाग्दैन । नेपालको समृद्धिको आधार भनेको सुशासन हो । भ्रष्टाचारमुक्त देश बन्नु नै नेपालको समृद्धिको प्रमुख आधार हो । 'जेनजी'ले उठाएका मागहरूको सम्बोधन गर्न सबैभन्दा पहिले भ्रष्टाचारमुक्त मुलुक बनाउनुपर्छ । भ्रष्टाचारमुक्त देश बनाउन सक्यौँ भने मात्र हामी समृद्धितर्फ अगाडि बढ्छौँ । अब राजनीतिमा पनि सही व्यक्तिहरू आउनुपर्‍यो । बाहिर बसेर गाली गरिरहने तर राजनीतिमा आउन नचाहाने प्रवृत्तिले देश परिवर्तन हुँदैन । न्युज एजेन्सी नेपाल

 

प्रकाशित मिति: बुधबार, मंसिर १७, २०८२  १७:२५
प्रतिक्रिया दिनुहोस्