site stats
बाह्रखरी :: Baahrakhari
विदेश
'जैविक हतियार' विश्वका लागि कति ठूलो खतरा हो ?

काठमाडौं । विश्वले परम्परागत हतियार, रासायनिक ग्यास, आणविक बम र साइबर हमलालगायत युद्धका धेरै रूपहरू देखेको छ । यी भयावह हतियारहरूको श्रेणीमा अर्को नाम थपिन्छ- त्यो हो जैविक हतियार ।

प्रविधिको विकासले मानव सभ्यतालाई उन्नत बनाए पनि सूक्ष्म जीवहरूलाई युद्धको रूपमा प्रयोग गरिने सम्भावित खतरा पनि सिर्जना भएको छ ।

जैविक हतियारको प्रयोग मानव जातिको लागि यति विनाशकारी हुन सक्छ कि यसले लाखौँ मानिसहरूलाई प्रभावित गर्न सक्छ । यसको विशेष पक्ष के हो भने, यसमा कुनै विस्फोट हुनेछैन ।

जैविक हतियार के हुन् ?

जैविक हतियारहरू ती हतियारहरू हुन् जसमा ब्याक्टेरिया, भाइरस, फंगस वा जैविक टक्सिनको प्रयोग मानिस, जनावर, बोटबिरुवा वा सम्पूर्ण पारिस्थितिक प्रणालीलाई नोक्सान पुर्‍याउनका लागि गरिन्छ । यसमा एन्थ्य्राक्स, बिफर भाइरस, प्लेग, बोटुलिनम टक्सिन, भाइरल हेमोरेजिक फिभर भाइरस वा यिनको कुनै हाइब्रिड रूप पनि समावेश हुन सक्छन् ।

यसबाट हुने रोगहरू घातक हुन सक्छन्, जुन तीव्र रूपमा फैलिन्छन् र तिनलाई नियन्त्रण गर्न अत्यन्त कठिन हुन सक्छ । यसै कारणले गर्दा जैविक हतियारहरूलाई साइलेन्ट किलर भनिन्छ । हमलाको पत्ता पनि त्यतिबेला मात्र लाग्छ जब संक्रमण धेरै गुणा बढिसकेको हुन्छ ।

जैविक हतियारको इतिहास

जैविक हतियारको इतिहास हजारौँ वर्ष पुरानो छ । यसलाई पुरानो समयमा सङ्क्रमित जनावर वा शवहरूको प्रयोग दुश्मनको इलाकाहरूमा संक्रमण फैलाउनका लागि गरिन्थ्यो ।

सन् १३४६को काफाको युद्धको समयमा प्लेगले मरेका शवहरूलाई किल्लामा फालेर महामारी फैलाइएको थियो । द्वितीय विश्वयुद्धमा जापानको कुख्यात युनिट ७३१ले हजारौँ मानिसहरूमाथि जैविक हतियारको प्रयोग गरेको थियो । शीत युद्धकालमा अमेरिका र सोभियत संघ दुवैले व्यापक जैविक अनुसन्धान कार्यक्रमहरू चलाए । सन् १९७२ मा जैविक हतियार महासन्धि बन्यो, जसले जैविक हतियारहरूको विकास, भण्डारण र प्रयोगमाथि प्रतिबन्ध लगायो ।

आज कुनै पनि देशले आधिकारिक रूपमा जैविक हतियार राखेको कुरा स्वीकार गर्दैन, किनकि जैविक हतियार महासन्धिले त्यसलाई प्रतिबन्त्र लगाएको छ । तर, इतिहास, रिपोर्ट र गुप्तचर आकलनबाट केही जानकारी बाहिर आएका छन् ।

सोभियत संघ/रुसले शीतयुद्धको समयमा विश्वको सबैभन्दा ठूलो जैविक हतियार कार्यक्रम ‘बायोप्रिपेराट’ चलाएको थियो । सन् १९७९ को स्वेर्दलोभ्स्क एन्थ्य्राक्स दुर्घटना यसै कार्यक्रमसँग जोडिएको मानिन्छ ।

अमेरिकाले द्वितीय विश्वयुद्ध र त्यसपछि जैविक हतियार कार्यक्रमहरूमा जोड दियो । सन् १९६९–७० मा राष्ट्रपति निक्सनले आधिकारिक रूपमा यसलाई बन्द गरे । अहिले अमेरिकाले जैविक हतियार महासन्धिअन्तर्गत अनुमति प्राप्त रक्षा अनुसन्धान मात्र गर्छ ।

उत्तर कोरियालाई केही अन्तर्राष्ट्रिय आकलनहरूमा सक्रिय जैविक तयारी राख्ने आरोप लागेका छन्, तर आधिकारिक पुष्टि छैन । सिरियामाथि पनि रासायनिक हतियारका साथ जैविक क्षमता विकास गरेको शंका छ । चीन जैविक हतियार महासन्धिको सदस्य हो, तर पश्चिमी गुप्तचर एजेन्सीहरूले ‘डुअल–युज’ अनुसन्धानमाथि प्रश्न उठाउँदै आएका छन् ।

जैविक हतियार कति ठूलो खतरा हुन् ?

जैविक हतियारको सबैभन्दा ठूलो खतरा यो हो कि हमलाको पत्ता धेरै ढिलो लाग्छ । सङ्क्रमित व्यक्तिले धेरै अन्य मानिसहरूलाई सङ्क्रमित गर्न सक्छ, जसले गर्दा केही दिनमै महामारी फैलिन सक्छ । एउटा सानो प्रयोगशाला सेटअपमा पनि खतरनाक भाइरस तयार गर्न सम्भव छ ।

सङ्क्रमण एकपटक हावा वा पानीमा फैलिएपछि, यसले मित्र र दुश्मनबीच फरक गर्दैन । यो सम्पूर्ण क्षेत्र, यहाँसम्म कि विश्वव्यापी महामारीमा परिवर्तन हुन सक्छ । सबैभन्दा ठूलो चिन्ता के हो भने कतै यो आतङ्ककारीहरूको हातमा नपरोस् । २००१ मा अमेरिकामा भएको एन्थ्य्राक्स हमला यसको उदाहरण हो ।

विश्व कति सुरक्षित छ ?

आज १८० भन्दा बढी देश जैविक हतियार महासन्धिका सदस्य छन्, तर जैविक हतियार महासन्धिको एउटा ठूलो कमजोरी के  हो भने यसमा सख्त निरीक्षण प्रणाली छैन । उल्लंघन साबित गर्न गाह्रो हुन्छ र धेरै जैविक प्रयोगशालाहरू ‘डुअल–यूज’ (चिकित्सा अनुसन्धान र युद्ध दुवैमा काम लाग्ने) हुन्छन् । स्पष्ट के छ भने यस्तो अवस्थामा यी घातक हतियारहरूबाट विश्वलाई पूर्ण रूपमा सुरक्षित भन्न सकिँदैन ।

जैविक हतियार सन्धि लागु भएको ५०औँ वार्षिकोत्सव मनाउनका लागि भारतले नयाँ दिल्लीमा “जैविक हतियार सन्धिको ५० वर्षः ग्लोबल साउथका लागि जैविक सुरक्षा सुदृढीकरण शीर्षकको एक अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गर्‍यो । भातको सुषमा स्वराज भवन, नयाँ दिल्लीमा आयोजित कार्यक्रम जैविक हतियार निःशस्त्रीकरण र अप्रसारप्रति आफ्नो मजबुत प्रतिबद्धता अनुरूप, मनाएको कार्यक्रमा विभिन्न देशका वैज्ञानिक विशेषज्ञहरू, नीति निर्माताहरू र कूटनीतिज्ञहरू तथा अन्तर्राष्ट्रिय र क्षेत्रीय संगठनका प्रतिनिधिहरूसँगको छलफल गरिएको छ । कार्यक्रममा बोल्दै भारतका विदेशमन्त्री एस जयशङ्करले विश्वलाई यही खतराप्रति चेतावनी दिएका छन् ।

‘जैविक आतङ्कवाद चिन्ताको विषय’

विदेशमन्त्री एस जयशङ्करले गैर–सरकारी तत्त्वहरूद्वारा जैविक हतियारको दुरुपयोग अब टाढाको कुरा नरहेको र यस्तो चुनौतीसँग जुध्नका लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक रहेको बताए ।

उनले अगाडि भने, “जैविक आतंकवाद एउटा गम्भीर चिन्ताको विषय हो, जसका लागि अन्तर्राष्ट्रिय समुदाय पूर्ण रूपमा तयार रहनुपर्छ । यद्यपि, जैविक हतियार महासन्धिमा अझै पनि आधारभूत संस्थागत संरचनाको कमी छ ।”

जयशङ्करले यसमा कुनै अनुपालन प्रणाली नभएको र कुनै स्थायी प्राविधिक संस्था र नयाँ वैज्ञानिक घटनाक्रमहरूमाथि नजर राख्ने कुनै संयन्त्र पनि नभएको भन्दै विश्वास सुदृढ गर्नका लागि यी कमीकमजोरीहरूलाई हटाउन आवश्यक रहेको बताए ।

जैविक हतियारबाट बच्न सम्भव छ?

जैविक हतियारबाट बच्ने पहिलो कदम विश्वव्यापी निगरानी प्रणालीलाई मजबुत गर्नु हो । देशहरूको स्वास्थ्य संयन्त्रलाई थप सशक्त बनाउनुपर्छ ताकि कुनै पनि संदिग्ध प्रकोपको तत्काल पत्ता लाग्न सकोस् ।

विश्वका प्रमुख प्रयोगशालाहरूमा पारदर्शी अनुसन्धान र अन्तर्राष्ट्रिय निरीक्षण आवश्यक छ । सिन्थेटिक बायोलोजी प्रयोगहरूका लागि सख्त नियमहरू आवश्यक छ ताकि दुरुपयोग नहोस् । हालै कोरोना महामारीले साबित गर्‍यो कि भाइरसले सीमा मान्दैनन्, त्यसैले देशहरूले मिलेर काम गर्नुपर्छ ।

 

 

प्रकाशित मिति: मंगलबार, मंसिर १६, २०८२  १९:४७
प्रतिक्रिया दिनुहोस्