site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
एमालेमा सकस महासचिवकै ! को–को छन् आकांक्षी ?

काठमाडौं । एमालेको ११औँ महाधिवेशन सुरु हुन अब ११ दिन बाँकी छ । महाधिवेशन मिति नजिकिएसँगै आकांक्षीहरूको दौडधूप तीव्र भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली तेस्रो पटक अध्यक्ष बन्ने योजनामा छन् । उनलाई चुनौति दिन वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले उमेदवारी घोषणा गरिसकेका छन् । 

ओलीविरुद्ध पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको समर्थनमा पोखरेल उभिएका हुन् । पोखरेललाई उपाध्यक्षहरू युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, सचिवद्वय योगेश भट्टराई र गोकर्ण विष्टको साथ छ ।

पार्टीका अन्य पदाधिकारीहरू पनि समेट्ने गरी चरणबद्ध छलफल जारी छ । भण्डारी पक्षले पार्टीका उपाध्यक्ष विष्णु पौडेल, उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिव रघुवीर महासेठसहितको साथ खोजेको छ ।

उक्त पक्षले गुरुङलाई महासचिव बनाउन चाहेको छ । १५ वटै पदाधिकारीमा प्यालनगत उमेदवार बनाउने तयारीमा रहेको पोखरेल पक्षीय नेताहरू बताउँछन् । 

तर, उपाध्यक्ष पौडेल र उपमहासचिव गुरुङले आफूहरू ओलीकै पक्षमा रहेको सन्देश दिएका छन् । 

उपमहासचिव गुरुङले सोमबार प्रेस चौतारीले आयोजना गरेको कार्यक्रममा उनले अध्यक्षमा ओलीको विकल्प नरहेको जिकिर गरे । जनताको बहुदलीय जनवाद (जबज)को उत्तराधिकारी ओली भएकाले उनी नै अध्यक्ष बन्नुपर्ने बताए ।

“जनताको बहुदलीय जनवादका उत्तराधिकारीका हिसाबले पनि केपी ओली ११औँ राष्ट्रिय महाधिवेशनबाट एमालेको अध्यक्ष बन्नुपर्छ,” गुरुङले भने, “त्यसकारण मैले समर्थन गरेको हो । उहाँलाई बनाउनुपर्छ ।”

उनले परिवारको सदस्य हुँदैमा जबजको उत्तराधिकारी नहुने भन्दै भण्डारीलक्षित अभिव्यक्ति दिए । अरु कसैको ऐजेन्डा पूरा गर्न ओलीलाई हटाउन नहुने भन्ने पक्षमा गुरुङ देखिएका छन् । गुरुङले आफू महासचिव बन्ने चाहनामा रहेको प्रष्ट पारेका छन् । “महासचिव नै दाबी गरिरहेको छु नि मैले । दाबी त गर्न पाइयो नि,” उनले हाँस्दै भने । 

नेताहरूका अनुसार, ओली पक्षबाट महासचिव बन्न तीन दाबेदार छन् । हालका महासचिव शंकर पोखरेल महासचिवमा दोहोरिन चाहन्छन् । 

त्यस्तै, अर्का उपमहासचिव प्रदीप ज्ञवालीको चाहना पनि महासचिव नै हो । ओलीले महासचिव बनाउन नै जिल्ला–जिल्लाका कार्यक्रममा ज्ञवालीलाई अघि सारेको बुझाइ पनि एमाले वृत्तमा छ । 

महासचिव पोखरेल र दुई उपमहासचिवले महासचिवमा दाबी गरेपछि ओलीले कसलाई अघि बढाउलान् भन्ने अझै निश्चित भइसकेको छैन । महासचिवको टुंगो लागेपछि मात्रै अन्य पदाधिकारी तय हुने नेताहरू बताउँछन्  ।

दुवैतिर छलफलमा रहेका पौडेल–गुरुङले महाधिवेशन प्रतिनिधि छनोटको अघिल्लो दिन (मंसिर १२)गते आफूहरू ओलीसँगै रहेको सन्देश दिएका थिए । 

स्रोतका अनुसार, महासचिवमा गुरुङले दाबी गर्ने र ओली तयार नभएमा पौडेललाई बनाउनुपर्ने माग अघि सार्ने सहमति जुटेको छ । त्यही सहमतिअनुसार उनीहरूले मंसिर १३ को प्रतिनिधि छनोटमा ओलीलाई सहज हुने गरी अघिल्लो दिन सन्देश प्रवाह गरेका थिए ।

उता, पोखरेल पक्ष पनि अलमलमा देखिएको छ । महाधिवेशन प्रतिनिधिको जोडघटाउमा उनीहरू लागेका छन् । प्रतिनिधिहरू कति पक्षमा आए भन्ने निक्र्यौल भएपछि मात्रै टिम बनाउने तयारी भएको एक नेताले जानकारी दिए ।

पोखरेलको पक्षबाट उपाध्यक्ष सुरेन्द्र पाण्डे महासचिवको उमेदवार बन्न सक्ने नेताहरू बताउँछन् । सचिवद्वय भट्टराई र विष्ट पनि महासचिवकै आकांक्षामा छन् । ओली पक्षबाट महासचिवको उमेदवार निर्क्योल नहुँदा अन्य विकल्पबारे उनीहरू छलफलमा छन् । 

“अध्यक्ष ओलीलाई महासचिव टुंग्याउन सहज छैन् । त्यताबाट आकांक्षी यता आउनुहुन्छ कि भन्नेमा नै छौं,” संस्थापन इतर नेता भन्छन् ।  एमालेमा हाल पदाधिकारीको संख्या घटाइएको छ । भदौ २०–२२ भएको विधान महाधिवेशनले पदाधिकारीको संख्या घटाएको थियो । 

पदाधिकारीको संख्या १५ बनाएको थियो । अध्यक्ष, तीन उपाध्यक्ष, एक महासचिव, तीन उपमहासचिव र ७ सचिव गरी विधानमा व्यवस्था गरिएको छ । 

०७८ मा अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, तीन उपमहासचिव र ७ सचिव गरी १९ सदस्यीय पदाधिकारीको व्यवस्था थियो । तर, विधान महाधिवेशनले वरिष्ठ उपाध्यक्षको पद हटाउँदै उपाध्यक्षको संख्या घटाएको थियो । 

पदाधिकारीको संख्या घट्नु, स्थायी कमिटी नरहनु र केन्द्रीय समितिको आकार घट्नुले आकांक्षीहरूको व्यवस्थापन गर्न सहज भने देखिँदैन । 

विधान महाधिवेशनले केन्द्रीय समिति २५१ सदस्य रहने व्यवस्था गरेको छ । विगतमा स्थायी कमिटी गठन गरिन्थ्यो । हाल पदाधिकारी नै स्थायी कमिटीमा रहने व्यवस्था छ । पोलिट्ब्युरोमा केन्द्रीय कमिटीको एक तिहाई सदस्य रहनेछन् । 

ओलीले नेताहरूलाई निवास गुन्डुमा बोलाउँदै व्यवस्थान गर्ने गरी फकाउन थालेका छन् । कमिटीको आकार बढाउन अध्यक्ष ओलीलाई आग्रह गरिएको एक नेताले बताए ।

“आकांक्षी धेरै हुँदा व्यवस्थापनमा सहज छैन । पदाधिकारीको संख्या बढाउन, स्थायी कमिटी छुट्टै बनाउने, केन्द्रीय समितिको आकार महाधिवेशनबाट बढाउनुपर्छ भन्ने कुरा उठिरहेको छ । त्यो बढाउन सम्बन्धित ठाउँमा लबिङ भइसकेको छ,” अध्यक्ष ओली निकट एक नेताले भने । 

महाधिवेशनको लोगो सार्वजनिक गर्न मंसिर १४ गते आयोजित कार्यक्रममा ओलीले विधान महाधिवेनमा एउटा व्यवस्था पारित हुने र महाधिवेशनमा पुग्दा फेरबदल हुने गरेको बताएका थिए ।

त्यसैले महाधिवेशन छुट्टाछुट्टै गर्ने कि नगर्ने भन्ने सोच्ने बेला आएको भनाइ ओलीको थियो । “छुट्टै गर्ने कि नगर्ने भनी आगामी दिनमा सोच्नुपर्ने हो कि ?,” ओलीले भने ।

एमालेको महाधिवेशन मंसिर २७–२९ गते हुँदैछ । उद्घाटन सत्र भक्तपुरको सल्लाघारीमा हुनेछ भने बन्द सत्र काठमाडौंको भृकुटीमण्डपमा तय भएको छ । 
 

 

प्रकाशित मिति: मंगलबार, मंसिर १६, २०८२  १६:०७
प्रतिक्रिया दिनुहोस्