काठमाडौं । अमेरिकी राजधानी वासिङटन डीसीमा भएको गोलीकाण्डको घटनाले सुरक्षा एजेन्सीलाई उच्च सतर्कतामा राखेको छ । हमलामा दुईजना घाइते भएका थिए । घाइतेमध्ये एकजनाको मृत्यु भएको छ ।
घटनामा अफगानी मूलका रहमानुल्लाह लकनवालले गोली हानेको पुष्टि भएको थियो । उनको पहिचान र पृष्ठभूमि हाल अनुसन्धानको केन्द्रमा छ ।
सबैभन्दा अचम्मको कुरा के छ भने, सीआईएका निर्देशक जोन र्याट्क्लिफले लकनवालले अफगानिस्तानमा आफ्नो संगठनअन्तर्गत सबैभन्दा गोप्य युद्ध इकाइमध्ये एकमा वर्षौंसम्म काम गरेका बताएका छन् ।
अमेरिकी सरकारी दस्ताबेजअनुसार, २९ वर्षीय लकनवाललाई यसै वर्ष राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनअन्तर्गत शरणार्थीको दर्जा दिइएको थियो । उनी सन् २०२१ अगस्टमा अमेरिकी सेना अफगानिस्तानबाट फिर्ता भएपछि सुरु पुनर्वास योजनाअन्तर्गत जो बाइडेन प्रशासनद्वारा अमेरिका लगिएका थिए ।
सीआईए निर्देशक जोनले एनबीसी न्युजसँग भने, “बाइडेन प्रशासनले आक्रमणकारीलाई २०२१ सेप्टेम्बरमा अमेरिका ल्याउनुको औचित्य कन्धाहारमा साझेदार अमेरिकी सरकार, जसमा सीआईएको सदस्यको रूपमा उनले पहिले गरेको कामको आधारमा थियो ।”
लकनवालले ‘जिरो युनिट्स’मा सेवा गरेका थिए । त्यो सीआईए समर्थित स्ट्राइक फोर्स थियो । फोर्स तालिबानसँग लड्ने गर्थ्यो । र, २०२१ को अन्तिम दिनहरूमा काबुल एयरपोर्टको रक्षा गरेको थियो ।
एसोसिएटेड प्रेसलाई दुई पूर्वकमान्डर र अफगानिस्तानमा रहेका उनका आफन्तले बताएअनुसार, लकनवालले कन्धाहारमा गार्डका रूपमा आफ्नो करियर सुरु गरे । पछि टिम लिडरस्तरमा पुगे । उनले इकाइका निम्ति जीपीएस ट्रयाकिङको जिम्मेवारी सम्हाले ।
आफन्तले उनलाई खेल मन पराउने र हँसिलो स्वभावको व्यक्ति भनेका छन् । तालिबानले काबुल कब्जा गरेपछि उनको टोलीलाई अमेरिका लगिएको थियो ।
देश पार गरेर आएर ‘लुकेर’ हमला
अमेरिकी अधिकारीका अनुसार, लकनवाल वासिङटन राज्यको बेलिंघमबाट २५ सय माइलभन्दा बढीको दूरी पार गरेर डीसी पुगेका थिए । त्यहाँ उनले सारा बेकस्ट्रोम (२० वर्ष) र स्टाफ सार्जेन्ट एन्ड्रयु वोल्फ (२४ वर्ष)माथि गोली चलाए ।
डिस्ट्रिक्ट अफ कोलम्बियाकी अमेरिकी महान्यायाधिवक्ता जिनाइन पिरोले यसलाई धोकापूर्ण हमलाका रूपमा चित्रण गरिन् । साराको मृत्यु भएको छ । एन्ड्रयुको अवस्था गम्भीर छ ।
घटनास्थलमा रहेका अरू नेसनल गार्ड सदस्यले लकनवालमाथि गोली चलाएर घाइते बनाएपछि उनलाई हिरासतमा लिएका थिए । उनी हाल अस्पतालमा गार्डको निगरानीमा छन् । उनले हत्या गर्ने उद्देश्यले सशस्त्र हमला तथा हतियारसम्बन्धी आरोपको सामना गरिरहेका छन् ।
एफबीआई निर्देशक काश पटेलले लकनवालले अफगानिस्तानमा अमेरिकी साझेदार बलसँग काम गरेको स्वीकार गरे । पत्रकार सम्मेलनमा पटेलले भने, “अमेरिका प्रवेश गर्नुअघि संदिग्धको अफगानिस्तानमा साझेदार बलहरूसँग सम्बन्ध थियो ।”