काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अडिट समितिले काम सुरु गरेको छ । उमेदवार छनोट रूपरेखाअन्तर्गत रहेर केन्द्रीय कोषाध्यक्ष लिमा अधिकारीको नेतृत्वमा सात सदस्यीय अडिट समिति गठन भएको अधिकारीले बताइन् ।
उनले बाह्रखरीसित भनिन्, "उक्त समितिले सोमबारबाटै काम सुरु गरिसकेको छ । प्राइमरी इलेक्सन गर्ने एउटा छुट्टै कमिटी छ । त्यसको पनि सब-कमिटीहरू छ । उहाँहरूको कामलाई पनि समितिले अडिट गर्ने हो । कसैले पनि पार्टीको साधारण सदस्यले पनि प्राइमरी निष्पक्ष भयो भनेर विश्वास बढाउनका लागि पनि समिति गठन गरेर काम अघि बढाइएको हो ।"
रास्वपाले चुनावलक्षित आन्तरिक प्राथमिक अडिटका लागि उक्त समिति गठन गरेको पनि उनले बताइन् । रास्वपाले भनेको छ, "डिजिटल ढाँचामा ‘फाउल–प्ले’ कसैले पनि गर्नु हुँदैन भन्ने कुरामा पार्टी स्पष्ट छ । यही परिवेशमा उम्मेदवार छनोट रूपरेखाले प्रारम्भिक निर्वाचनको सम्पूर्ण पक्षहरूलाई तथ्यपरक रूपमा मूल्यांकन गर्न अडिट समिति गठन गर्ने कुरालाई बाध्यकारी बनाएको छ ।"
प्रारम्भिक निर्वाचन राष्ट्रिय स्वतन्त्र पार्टीको सबैभन्दा प्रमुख आधारस्तम्भ मध्ये एक रहेको र यसको वैधता पारदर्शितामा भर पर्ने भन्दै उक्त समिति गठन गरेको रास्वपाले जनाएको छ ।