site stats
बाह्रखरी :: Baahrakhari
कला
सञ्चारमन्त्री खरेलले भने– चलचित्र विधेयक फिर्ता हुँदैन, सञ्चार मन्त्रालयमातहत नै रहन्छ
फाइल तस्बिर ।

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले चलचित्र विधेयक, २०८१ फिर्ता लिने पक्षमा सरकार नरहेको स्पष्ट पारेका छन् । 

सोमबार सिंहदरबारमा बसेको राष्ट्रियसभाअन्तर्गतको विधायन व्यवस्थापन समितिमा चलचित्र विधेयक, २०८१ माथिको छलफलका क्रममा मन्त्री खरेलले चलचित्र विधेयकलाई सरकारले फिर्ता नलिने स्पष्ट पारेका हुन् । 

उनले चलचित्र क्षेत्रसँग सम्बन्धित केही संघसंस्थाहरूले आफूलाई भेटेर चलचित्र विधेयक फिर्ता लिन आग्रह गरेको जानकारी दिए । उनले समिति बैठकमा सरोकारवालासँग बसेर उनीहरूका मागका बारेमा छलफल गर्न सरकार तयार रहेको बताए । 

यसपटक चलचित्र विधेयकलाई समयसुहाउँदो बनाएर पारित गर्न सहयोग गर्ने प्रष्ट पारे । 

मन्त्री खरेलले चलचित्र विकास बोर्डलाई स्वायत्तता प्रदान गर्ने नाममा जथाभावी हुन नदिइने बताए । चलचित्रलाई नियन्त्रण नभइ सहजीकरण र नियमनलाई अघि बढाउनुपर्ने उनको भनाइ छ । 

मन्त्री खरेलले चलचित्र क्षेत्र सञ्चार मन्त्रालयकै मातहत राख्नुपर्नेमा जोड दिए । चलचित्रकर्मीले संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय मातहतमा चलचित्रलाई राख्नुपर्ने बताउँदै आएका छन् । 

समिति सभापति तुलसा कुमारी दाहालले चलचित्र विधेयक फिर्ता लिनुपर्छ भन्ने सरोकारवालासँग छलफल गरेर विधेयकलाई अघि बढाइने जानकारी दिइन् । 

 

प्रकाशित मिति: सोमबार, मंसिर १५, २०८२  १३:४५
प्रतिक्रिया दिनुहोस्