site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कुलमान र बालेन भेटमा के भएको थियो कुराकानी ?

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)सँग भेट गरेका छन् । उज्यालो नेपाल पार्टीका संरक्षक घिसिङ र बालेनबीच शनिबार (मंसिर १३) भेट भएको हो ।

आइतबार (मंसिर १४) सामाजिक सञ्जाल फेसबुकमा घिसिङले बालेनसँगको भेटको तस्बिर सार्वजनिक गरे । पोस्टमा उनले देश बनाउने अभियानमा आफूहरू सँगै रहेको उल्लेख गरेका छन् । “देश बनाउने अभियानमा हामी सँगै छौँ,” घिसिङले लेखेका छन् ।

घिसिङनिकट स्रोतका अनुसार, भेटमा बालेनले उनलाई साथ दिनेबारे छलफल भएको थियो । “मन्त्रीज्यूले सार्वजनिक गरेको पोस्टले नै धेरै कुरा बोलिसकेको छ । उहाँहरूबीच शनिबार भएको भेटमा एकजुट भएर अगाडि बढ्ने भन्ने विषयमा कुराकानी भएको छ,” स्रोतले बाह्रखरीसित भन्यो ।

मेयर बालेनले आफ्नो संलग्नतामा कुनै पार्टी दर्ता गराएका छैनन् । उनीनिकट स्रोतका अनुसार, ‘राम्रा मान्छे’लाई आउँदो चुनावमा सघाउनेबारे दुईजनाबीच कुराकानी भएको थियो ।

“मेयरले कुनै पार्टी खोल्नुभएको छैन । अहिलेसम्म कुनै पार्टीमा सामेल पनि भइसक्नुभएको छैन,” स्रोतले भन्यो, “तर, आउँदो चुनावमा राम्रा मान्छेहरूलाई सहयोग गर्ने कुरा छ ।”

 

प्रकाशित मिति: सोमबार, मंसिर १५, २०८२  १२:२३
प्रतिक्रिया दिनुहोस्