site stats
बाह्रखरी :: Baahrakhari
विदेश
युक्रेन–अमेरिका वार्ता ‘फलदायी’, थप काम गर्नुपर्छ : रुबियो
मार्को रुबियो (बायाँ) र रुस्तम उमेरोभ फ्लोरिडामा । तस्बिर : रोयटर्स ।

काठमाडौं । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले रुस–युक्रेन युद्ध अन्त्य गर्ने सम्झौताका निम्ति गरिएका वार्ता फलदायी रहे पनि अझै धेरै काम गर्न बाँकी रहेको बताएका छन् ।

अमेरिकाको फ्लोरिडामा गरिएको उक्त वार्तामा राष्ट्रिय सुरक्षा परिषद्का सचिव रुस्तम उमेरोभको नेतृत्वमा रहेको युक्रेनी प्रतिनिधिमण्डल उपस्थित थियो । उमेरोभ युक्रेनका नयाँ प्रमुख वार्ताकार हुन् ।

उक्त बैठकमा राष्ट्रपति डोनाल्ड ट्रम्पका दूत स्टिभ विट्कोफ र ट्रम्पका ज्वाइँ जेरेड कुश्नर पनि उपस्थित थिए । विट्कोफ अर्को हप्ता मस्कोमा वार्ताका निम्ति जाने कार्यक्रम छ ।

उमेरोभलाई युक्रेनी राष्ट्रपतिका शीर्ष वार्ताकार एन्ड्री येर्माकको स्थानमा ल्याइएको हो । आफ्नो निवासमा भ्रष्टाचारविरोधी छापा मारिएपछि येर्माकले पदबाट राजीनामा दिएका थिए ।

आइतबारको उक्त बैठक दुई हप्ताको गहन कूटनीतिक गतिविधिको पछिल्लो कदम हो । यो वार्ता २८ बुँदे अमेरिकी शान्ति योजनाको चुहावटबाट सुरु भएको थियो । त्यसले युक्रेन र उसका युरोपेली सहयोगीलाई चकित पारेको थियो । 

आइतबारको वार्ता सुरु हुँदा उमेरोभले भने, “हामी युक्रेनको भविष्य, युक्रेनको सुरक्षा, युक्रेनमाथि आक्रामकताको पुनरावृत्ति नहोस्, युक्रेनको समृद्धि र युक्रेनको पुनर्निर्माण कसरी गर्ने भन्ने बारेमा छलफल गरिरहेका छौँ ।”

उनले अगाडि भने, “अमेरिकाले हामीलाई सुनिरहेको छ । अमेरिकाले हामीलाई समर्थन गरिरहेको छ । अमेरिका हाम्रो साथमा काम गरिरहेको छ ।”

पछि उनले वार्तालाई फलदायी र सफल भनी वर्णन गरे । रुबियोले भने यसलाई धेरै फलदायी र उपयोगी बताए ।

आइतबार एयर फोर्स वानमा पत्रकारसँग कुरा गर्दै ट्रम्पले वार्ता राम्ररी चलिरहेको र द्वन्द्व अन्त्य गर्न सम्झौता हुने सम्भावना रहेको बताए ।

प्रकाशित मिति: सोमबार, मंसिर १५, २०८२  ११:१४
प्रतिक्रिया दिनुहोस्