site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
नेकपाको सन्देशसभा : जेनजीलाई फकाउने, एमालेलाई गाली

पोखरा । १६ वाम घटक मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टी एकताको सन्देश दिन सभा चलाइरहेको छ । सुदूरपश्चिमबाट सुरु भएको एकता सभा आइतबार गण्डकीमा सम्पन्न भयो ।

तीन पूर्वप्रधानमन्त्री समेटिएको नेकपाले अर्को कम्युनिस्ट घटक नेकपा (एमाले)प्रति कटाक्ष गर्न कत्ति पनि छाडेनन् । हरेक प्रदेशका एकता सभामा बोलेका नेताहरूले एमालेलाई कटाक्ष गरिरहेका छन् भने जेनजी पुस्ताको माग आफूहरूले गर्न सक्ने भन्दै फकाउन खोजिरहेका छन् ।

आइतबार गण्डकी प्रदेशस्तरीय एकतासभामा पनि सोही कुरा दोहोरियो । जहाँ पुष्पकमल दाहाल प्रचण्डले माधवकुमार नेपाल र आफू बसेर सरकार बनाएको, व्यवस्था जोगाएको दाबी गरे ।

दुईतिहाइको सरकार हेलिकोप्टर चढेर भाग्नुपरेको भन्दै एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति व्यंग्य गरे ।

नेता भीम रावलले एमालेमा ५० वर्ष संगत गरेका साथीहरूलाई सम्झिँदै नेकपाको दुईतिहाइको खरानी घसेको, ऐतिहासिक धरोहर जलाएर खरानी घसेकाले अब केको खरानी घस्न बाँकी छ भन्दै प्रश्न गरे ।

“एमाले र कांग्रेसको शक्तिशाली सरकार आएपछि हेर्ने भनेको के ? खरानी हेर्ने की, प्रधानमन्त्री भागेको हेर्ने की, शक्तिशाली धराशायी भएको हेर्ने ?” उनले प्रश्न गरे ।

१० बुँदे कार्यान्वयन गर्दा एमाले खण्डित भएको भन्दै उनले विपरीत सिद्धान्त रहेको कांग्रेससँग मध्यरातमा सम्झौता गरेर आधाआधा बाँडेर खाऔँ हामी शक्तिशाली छौँ कसैले केही गर्न सक्दैनौँ भनेर दम्भ देखाएको रावलले बताए । 

“यही ताल, यही अहंकार, दम्भ, कुशासनले मिसन–८४ बाट पतन–०८४ हुन्छ प्रतिक्षा गर्नुस् भनेको थिएँ । मैले घमण्ड त गर्नुहुँदैन भनेको भविष्यवाणी ठ्याक्कै पो मिलेछ ।” रावलले भने ।

तर, बोल्नेक्रममा चिप्लिएर उनले आउने चुनावमा एमालेले बहुमत ल्याउने बताए ।

पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले कम्युनिस्ट क्रान्तिकारीहरू एकताबद्ध नभए देश समाप्त हुने खतरा रहेको औँल्याए । उनले भने, “कम्युनिस्ट क्रान्तिकारीहरू एकता हुनुको विकल्प छैन । नभए देश समाप्त हुनसक्ने खतरा छ ।”

लामो समयसम्म शासन गर्दा पनि विगतका सरकारहरूले जनआकांक्षा पूरा नगरेकाले जेनजी आन्दोलन भएको उनको भनाइ छ । “भ्रष्टाचार व्याप्त हुँदा जनता आजित भए,” उनले भने, “यसअघिका सरकारले कृषि क्रान्ति गर्न सकेन, भूमि सुधार गर्न चासो नै दिएन । उद्योगधन्दा सञ्चालन नगर्दा जनता बेरोजगार भए अर्थात् काम पाएनन् र विदेशिन बाध्य भए । त्यसैले जेनजी आन्दोलन भयो ।”

नेकपाका सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपाली कम्युनिस्ट पार्टी जेनजीहरूको आकर्षणको केन्द्र बनेको बताए । 

“एसिडपीडित मुस्कान खातुन लगायतका जेनजीहरू एकपछि अर्को गर्दै नेकपामा प्रवेश गरिरहेको छन्,” उनले भने, “हामीले जेनजीको भावनाको सम्मान गर्नैपर्छ । तर, जेनजीको नाममा भएको कुकर्मको दोषीलाई त्यसै छाडिनु भने हुन्न, कारबाही गरिनैपर्छ ।”

नेपालले पुरानो पार्टीमा रहेकाहरूले आफूहरूलाई काम गर्न नदिएकोसमेत आरोप लगाए । “हिजो एकीकृत समाजवादी हुँदा मेरा खुट्टा भाँच्ने र तान्नेहरू थिए, अनि माओवादी हुँदा प्रचण्डको पार्टीमा बसेर खुट्टा तान्नेहरू पनि थिए, आज तिनीहरू भागेर गएका छन् । भाग्नेहरू, छाड्नेहरू जाउन् । हामी एकताबद्ध भएर अगाडि बढिरहन्छौँ,” उनले भने ।

पार्टी ठूलो भए पनि विधि बसाल्न भने नसकिएको उनले स्वीकारे । तर, नचाहेर नभई दिनदिनै पार्टी एकीकरण भइरहेकाले पार्टीमा विधि बसाल्न नसकिएको उनको प्रष्टोक्ति थियो । “एकता सकेर जिम्मेवारी बाँडफाँट र विधि टुंग्याउने प्रयास भइरहेको छ,” उनले भने, “तर आज टुंग्याऔँ एउटा पार्टीसँग एकता हुन्छ, फेरि अर्को दिन टुंग्याऔँ भन्यो फेरि अर्को पार्टी एकतामा आउँछ, त्यसैले पार्टीमा हालसम्म को को बोल्ने, मर्यादा कस्तो बनाउने बारेमा विधि बसाल्न सकिएको छैन ।”

नेकपा संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले नेपाली कम्युनिस्ट पार्टीको मिसन सम्पूर्ण कम्युनिस्टहरूलाई एकतामा ल्याउने बताए । 

“यति भयो, पुग्यो भन्ने होइन, हामी सबै कम्युनिस्टहरूलाई एकताबद्ध बनाउने मिसनमा छौँ । ढिलोचाँडो उहाँहरू आउनुहुन्छ भन्ने मलाई लागेको छ,” उनले भने ।

उनले आफूहरूको आँखा एमालेभित्र पनि रहेको बताए । ओलीको दम्भले देश बर्बाद हुँदै गएको उनको आरोप छ । “एमाले भित्रकाहरूसँग पनि छलफल भइरहेको छ । देशभक्त एमालेका नेता, कार्यकर्ताहरूले केपी ओलीको नक्कली, अहंकारी, दम्भी चेहरा चिन्नेछन् र ढिलोचाँडो उनीहरू हामीसँग आउँछन्,” उनले भने ।

ओलीको बोली पत्याएर केही समय झुक्किन सक्ने भएकाले एमालेसँगको एकता तत्काल हुने स्थिति नरहेको उनले बताए । “सरी भन्दै यहीँ आउने वाला छन् । अन्त जाने ठाउँ छैन । किनकी हामीले समाजवादको पक्षमा, देशको पक्षमा, समृद्दिको पक्षमा अगाडि बढ्ने निर्णय गरिसकेका छौँ,” प्रचण्डले भने ।

उनले नेपाली कम्युनिस्ट पार्टीले चलाइरहेको प्रदेश एकता सन्देशसभा आत्मआलोचना र संकल्पसभा पनि भएको प्रष्ट्याए । “हिजो हामीबाट पनि गल्ती भए होलान् । त्यसैले हामी तपाईंहरूसामु गल्तीप्रति आत्मआलोचना गर्न आएका हौँ, माफी माग्न आएको आत्मआलोचना सभा पनि हो यो । त्यस्तै, विगतका गल्ती सच्याउँछौँ भनेर संकल्प गर्न गरिएको सभा पनि हो यो।” उनले भने ।

दुईतिहाइकै दम्भका कारण देश बर्बाद भएको उनले बताए । “बंगलादेशमा पनि शेख हसिनाको दुईतिहाइ थियो तर देश छाडेर भाग्नु पर्‍यो, नेपालमा पनि कांग्रेस–एमालेको दुईतिहाइ थियो तर हेलिकोप्टर चढेर भाग्नु पर्‍यो । त्यसैले दुईतिहाइ भएर मात्रै हुँदैन रहेछ त्यो चेत खुल्नु पर्‍यो नेताहरूको,” उनले भने ।

प्रकाशित मिति: आइतबार, मंसिर १४, २०८२  २०:३७
प्रतिक्रिया दिनुहोस्