site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
एमालेमा अहिले ओलीको विकल्प खोज्ने बेला होइन : अर्याल

काठमाडौं । नेकपा (एमाले)का सचिव एवं ११औँ महाधिवेशन प्रचार समितिका संयोजक पद्मा अर्यालले पार्टीको नेतृत्वमा केपी शर्मा ओलीको विकल्प नरहेको बताएकी छन् । ११औँ महाधिवेशन प्रचार समितिको आज पार्टी कार्यालय च्यासलमा बसेको बैठकलाई सम्बोधन गर्दै सचिव अर्यालले यस्तो बताएकी हुन् । 

“यो विषम् परिस्थितिबाट पार्टीलाई जोगाउन फेरि पनि  उहाँ (केपी शर्मा ओली)को विकल्प छैन,” उनले भनिन्, “यो अहिलेको आवश्यकता हो ।  अहिले  एमालेमा केपी ओलीको विकल्प केपी ओली नै हो ।” 

महाधिवेशन नजिकिँदै गर्दा पार्टीको नेतृत्वको विषयमा बहस  भइरहदाँ ओलीको विकल्प ओली नै रहेको अर्यालले प्रष्ट पारिन् । उनले पार्टीको महाधिवेशनले अध्यक्ष केपी शर्मा ओलीलाई नै पुनः अनुमोदित गर्ने समेत उल्लेख गरिन् । 

मुलुकको वर्तमान संकटपूर्ण राजनीतिक परिस्थितिलाई मध्यनजर गर्दै पार्टीभित्र सुदृढ एकताको आवश्यकतासमेत रहेको सचिव अर्यालको भनाइ छ । 

उनले बलियो पार्टी संरचना, संगठन तथा कार्यकर्ताहरूलाई अझ उन्नत  एकता र आन्तरिक समन्वयलाई मजबुत बनाउन आग्रह गरिन् । 

पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनबाट अध्यक्ष ओलीको नेतृत्वमा राष्ट्रलाई सही ढंगले दिशा निर्देश गर्ने अर्यालको दाबी छ ।

 

प्रकाशित मिति: शनिबार, मंसिर १३, २०८२  ११:४८
प्रतिक्रिया दिनुहोस्