टोकियो । जापानमा अक्टोबरमा बेरोजगारीदर लगातार तेस्रो महिना २.६ प्रतिशतमा स्थिर छ । तर बेरोजगारहरूको संख्या भने बढिरहेको बताइएको छ ।
आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयका अनुसार, रोजगारप्राप्त व्यक्तिहरूको संख्या ६८ लाख ४६ हजार पुगेको छ, जुन अघिल्लो महिनाभन्दा केही बढी हो ।
बेरोजगारको संख्या १८ लाख ५० हजार पुगेको छ, जुन अघिल्लो महिनाको भन्दा २.२ प्रतिशतले बढी हो ।
बेरोजगारमध्ये चार लाख ६० हजार जनाले अनिच्छापूर्वक जागिर गुमाएका छन् । यो अघिल्लो महिनाभन्दा ७ प्रतिशत बढी हो । त्यस्तै, नयाँ रोजगार खोज्ने व्यक्तिको ४.२ प्रतिशतले बढेर संख्या ५० हजार पुगेको छ ।
त्यसैगरी, महिला कामदारको संख्या भने ३१ लाख ५९ हजार पुगेको छ, जुन जनवरी १९५३ पछि सबैभन्दा उच्च स्तर हो ।
स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयका अनुसार, अक्टोबरमा रोजगार उपलब्धता अनुपात १.१८ रहेको छ । यसको अर्थ, प्रत्येक १०० रोजगार खोज्ने व्यक्तिका लागि ११८ जागिर उपलब्ध छन् । यो अनुपात जनवरी सन् २०२२ पछि पहिलोपटक १.२० भन्दा तल झरेको छ ।
मन्त्रालयले स्व–चेकआउट प्रणालीको प्रयोग र न्यूनतम तलबमा क्रमिक वृद्धिले यसमा केही प्रभाव पारेको जनाएको छ । रासस/सिन्ह्वा