काठमाडों । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वामपन्थी तथा देशभक्त शक्तिहरूबीच बृहत् एकता अपरिहार्य भएको बताएका छन् ।
शुक्रबार धनगढीमा आयोजित सन्देशसभामा देश गम्भीर राजनीतिक मोडमा पुगेको बताउँदै आगामी चुनाव देशको निकासको मुख्य मार्ग भएको बताए । उनले सबैलाई निर्वाचन प्रक्रियामा गम्भीरतापूर्वक जुट्न अपिल गरे ।
सभालाई सम्बोधन गर्दै प्रचण्डले सुदूरपश्चिम प्रदेशसँग आफ्नो विशेष भावनात्मक र राजनीतिक सम्बन्ध रहेको उल्लेख गरे । गणतन्त्र स्थापनापश्चात सबैभन्दा धेरै संवाद, भ्रमण र विकास पहल सुदूरपश्चिममै गरिएको उनको भनाइ थियो ।
प्रचण्डले भने “सुदूरपश्चिममा जनयुद्ध र जनआन्दोलनमा अपार बलिदान भएको छ । त्यही बलिदानको कदर गर्दै हामीले पछिल्ला वर्षहरूमा यो क्षेत्रलाई निरन्तर प्राथमिकतामा राख्यौँ ।”
प्रचण्डले हालै गठन भएको नेपाली कम्युनिस्ट पार्टी १५ वटा कम्युनिस्ट घटकहरूको ऐतिहासिक एकताको परिणाम भएको उल्लेख गर्दै यसले देशभर नयाँ ऊर्जा पैदा गरेको उल्लेख गरे । “अब कोही माओवादी, कोही समाजवादी, कोही केन्द्रीय भन्नुपर्ने आवश्यकता छैन । सबै नेपाली कम्युनिस्ट । यही भावनाअनुसार पार्टीको नाम राखिएको हो,” उनले भने ।
देशव्यापी चर्चामा रहेको जेनजी आन्दोलनबारे बोल्दै प्रचण्डले भदौ २३ र २४ गतेका घटनालाई ‘नरसंहार’का रूपमा चित्रित गरे । युवापुस्ताका मागहरू जायज रहेको पुनः दोहोर्याउँदै उनले सरकारको बल प्रयोग गलत भएको उनको भनाइ थियो ।
देश केही महिनाअघिको राजनीतिक संकटका कारण अत्यन्त गम्भीर मोडमा पुगेको बताउँदै भदौ २६ गते राति ‘गणतन्त्र खारेज हुनसक्ने’ सम्मको चर्चा चलेको स्मरण गरे । त्यो रात राष्ट्रपति कार्यालयबाट आकस्मिक बोलावट आएपछि आफू र माधवकुमार नेपालले शीतल निवास पुगेर संविधान र प्रणालीलाई जोगाउन सक्रिय भूमिका खेलेको उल्लेख गरे ।
आगामी निर्वाचन नै देशलाई स्थिरता दिने मार्ग भएको स्पष्ट गर्दै प्रचण्डले विगतमा संसद् विघटनमा संलग्नहरूले अहिले पुनर्स्थापनाका कुरा उठाउनु बेमौसमको बतास जस्तै भएको टिप्पणी गरे ।
एमाले अध्यक्ष केपी शर्मा ओलीतर्फ इंगित गर्दै उनले भने, “देशलाई उल्टो बाटोमा लैजाने दम्भ र अहंकारी प्रवृत्तिलाई जनता आफैँले सबक सिकाउने बेला आएको छ ।”