site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
विचार मिल्ने दलसँग वार्ता गर्न प्रगतिशीलमा यादवको संयोजकत्वमा टोली गठन
हृदयेश त्रिपाठी । फाइल तस्बिर ।

काठमाडौं । जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले प्रतिनिधिसभा सदस्य निर्वाचनको विकल्प नरहेको बताएका छन् ।

बाह्रखरीसित कुरा गर्दै उनले भने, “जेनजी विद्रोहले हामीजस्ता राजनीतिज्ञको आत्मबलमा ठेस पुगे पनि प्रतिनिधिसभा निर्वाचनको विकल्प छैन ।”

उनले अगाडि भने, “देशको वर्तमान अवस्था विषम र असहज रहेको सर्वविदित नै छ । संविधान घाइते छ । यस परिस्थितिमा विचार तथा उद्देश्य मिल्ने राजनीति दलहरूबीच एकताको प्रक्रियालाई अगाडि बढाउन संघीय लोकतान्त्रिक मोर्चामा सम्मिलित दलहरू तथा अन्य विचार मिल्ने दलहरूसँग अर्थपूर्ण वार्ता, संवाद गर्न हामी तयार छौँ ।” 

पार्टीका वरिष्ठ उपाध्यक्ष डा. शिवजी यादवको संयोजकत्वमा शाबिर हुसैन र नरोत्तम प्रधान सदस्य रहने गरी वार्ता समिति गठन गरिएको छ ।

फागुन २१ गतेका निम्ति तोकिएको निर्वाचिनलक्षित संघीय लोकतान्त्रिक मोर्चामा आबद्ध दलहरूले आपसी समझदारीको प्रयास गरेका छन् । मोर्चामा आबद्ध दल राष्ट्रिय जनमुक्ति पार्टीले अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) र रेशमलाल चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी, नेपालसँग एकल चुनाव चिह्नमा सहमति जनाइसकेको छ ।

तीनै पार्टीले आसन्न निर्वाचनमा जाँतो चुनाव चिह्नमा लड्ने सहमतिसहित दल दर्ता गराइसकेका छन् । 

मोर्चामा रहेका अरू दलसँग एकताका निम्ति छलफल भइरहेको राष्ट्रिय जनमुक्ति पार्टीका महासचिव केशव झाले जानकारी दिए । उनले भने, “हामी एकताका लागि छलफलमा जुटेका छौँ । नभए पनि चुनावमा गठबन्धन गरेर होमिने सबैलाई छुट छ ।”

 

प्रकाशित मिति: शुक्रबार, मंसिर १२, २०८२  १२:५३
प्रतिक्रिया दिनुहोस्