काठमाडौं । भारतको बिहार राज्यमा स्तनपान गराइरहेका महिलाको दूधमा युरेनियम पाइएको छ । केही महिलाको दूधमा युरेनियम भेटिएको थियो । उनीहरूका सन्तानको रगतमा पनि युरेनियमको उपस्थित थियो ।
स्तनपान गराउने महिलाको दूधमा युरेनियमको उपस्थितिले मानव स्वास्थ्यमा प्रदूषणको घातक प्रभावबारेको बहसलाई तीव्र बनाएको छ । यो जानकारी सार्वजनिक गर्ने अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स), दिल्लीले पटनाको महावीर क्यान्सर संस्थान र वैशालीको नेसनल इन्स्टिच्युट अफ फार्मास्युटिकल एजुकेसन एन्ड रिसर्च (नाइपर)सहित अरू पाँच संस्थासँग मिलेर यो अनुसन्धान गरेको थियो ।
यो शोधसँग सम्बन्धित रिपोर्ट प्रतिष्ठित साइन्स जर्नल ‘नेचर’मा प्रकाशित छ । परीक्षण गरिएका महिलाको दूधको नमुनामा युरेनियमको मात्रा प्रतिलिटर ५.५ माइक्रोग्रामभन्दा कम रहेको पाइएको छ । त्यो विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)द्वारा पिउने पानीका निम्ति निर्धारित सुरक्षा मापदण्डभन्दा कम हो । मापदण्डअनुसार, युरेनियमको अधिकतम मात्रा प्रतिलिटर ३० माइक्रोग्रामसम्म हुनसक्छ ।
महावीर क्यान्सर संस्थानका अनुसन्धान विभागका प्रमुख अशोक कुमार घोषका अनुसार, विश्वमा पहिलोपटक आमाको दूधमा युरेनियमबारे अनुसन्धान गरिएको हो । भूमिगत पानीमा युरेनियमको प्रदूषण ठूलो चिन्ताको विषय भएको उनको भनाइ छ ।
१७ देखि ३५ वर्षका महिलामाथि अनुसन्धान
सन् २०२१ देखि सन् २०२४ का बीचमा भोजपुर, कटिहार, नालन्दा, खगडिया, समस्तीपुर र बेगूसरायमा स्तनपान गराइरहेका १७ देखि ३५ वर्ष उमेर समूहका ४० महिलामा यो अध्ययन गरिएको थियो । हरेक नमुनामा युरेनियमको मात्रा पाइएको थियो । अर्थात्, शतप्रतिशत नमुना प्रदूषित थिए । यद्यपि, विभिन्न नमुनामा युरेनियमको मात्रा फरक–फरक थियो ।
नवजात शिशुहरूको रगतमा पनि युरेनियम
ती महिलाका ३५ नवजात शिशुको रगतको नमुना पनि परीक्षण गरिएको थियो । र, ८७.५ प्रतिशत शिशुको रगतमा समेत युरेनियमको मात्रा भेटियो । उनीहरूको रगतमा युरेनियमको औसत मात्रा प्रतिलिटर चार माइक्रोग्राम थियो । ती बालबालिकामा शारीरिक वा मानसिक, उपचारको आवश्यकता पर्ने कुनै क्लिनिकल लक्षण भने देखिएन ।
सम्भावित स्वास्थ्य जोखिम र चिन्ता
डा. अशोक कुमार घोषका अनुसार, नवजात शिशुले युरेनियमयुक्त दूधको सेवन गर्दा दुई प्रकारका समस्या निम्तन सक्छ । गैरकार्सिनोजेनिक पदार्थबाट मिर्गौला र स्नायुसम्बन्धी रोग देखिन सक्छ । साथै, शारीरिक विकास र आईक्यू प्रभावित हुनसक्छ । यस्तै, कार्सिनोजेनिक पदार्थबाट क्यान्सरको जोखिम बढ्न सक्छ ।
शिशुरोग विशेषज्ञ डा. राहुल कुमार भन्छन्, ‘‘यसले सबैभन्दा बढी खतरा ती बालबालिकालाई छ, जसका अंगहरू अहिले विकसित हुँदै छन् । उनीहरूको शरीरले भारी धातुहरूलाई छिटो सोस्छ र कम वजन भएका कारण थोरै मात्रा पनि धेरै गुणा हानिकारक हुनसक्छ ।’’
चिन्ताको विषय बन्दै भूमिगत पानी
बिहारमा पहिलेदेखि नै फलाम, फ्लोराइड र आर्सेनिकको मानकभन्दा बढी मात्रा मानिसका निम्ति समस्या बनेको छ । खासगरी बक्सरदेखि भागलपुरसम्म गंगा नदीको किनारका सहरहरू र अरू धेरै इलाकाको भूमिगत पानीमा यी तत्त्व पहिलेदेखि नै छन् ।
दुई वर्षअघि बिहारका ११ जिल्लामा पानीमा युरेनियमको मात्रा प्रतिलिटर ५० माइक्रोग्रामभन्दा बढी पाइएको थियो । तिनै इलाकाका महिलाबाट सिधै नमुना लिएर दूधको परीक्षण गरिएको हो ।
बिहारमा पिउने पानीमा आर्सेनिक मात्र जभएर फुड चेन खास गरी चामल, गहुँ र आलुमा समेत यो उपस्थित रहेको एक अर्को शोधमा पाइएको छ ।
आर्सेनिकजस्तै युरेनियम पनि खानेकुरा वा भूमिगत पानीको माध्यमबाट आमाको शरीरसम्म पुगेको हुन सक्ने सम्भावना व्यक्त गरिएको छ ।